
काठमाडौँ– नेपाली कांग्रेसका सांसदहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन्।
संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेके भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन्।
साथै उनीहरुले गभर्नरलगायतका विभिन्न नियुक्ति विनाकारण अड्काएर राखेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकमा सांसदहरूले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न भइरहेको ढिलाइप्रति गम्भीरताका साथ कुरा राखेको बताए। उनले प्राविधिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको जवाफ नेतृत्वले दिएको उल्लेख गरे।
‘गभर्नर एमालेले दिन नचाहेको भन्ने कुरा विल्कुलै होइन, प्राविधिक समस्या परेर ढिलाइ हुन गएको हो,’ उनले भने,‘अब समस्या छैन, चाँडै गभर्नर नियुक्त हुन्छ।’
संयुक्त सरकारमा कांग्रेसको पोजिनबारे सांसदहरूले जिज्ञासा राखेको उनले जानकारी दिए।
प्रमुख सचेतक घिमिरेले सरकार परिवर्तन हुने हल्ला निराधार रहेको प्रस्ट पारे। उनले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा नरहेको जिकिर गरे।
‘सरकार परिवर्तनको विषयमा कुनै पनि सोच र योजना कांग्रेसले राखेको छैन,’ उनले भने,‘माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना र एजेन्डा विल्कुलै छैन।’
प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसंग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे।
बैठकमा सांसदहरुले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए। बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रुपमा सन्तुलित वितरण लगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक घिमिरेले जानकारी दिए।
त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन कि भन्ने चिन्ता सांसदहरुको रहेको बताए। उहाले कतिपय नियुक्तिमा भइरहेको ढिलाईका विषयमा पनि सांसदहरुले चासो व्यक्त गरेको जानकारी दिए।
महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुन्जायस नरहेको जिकिर गरे।