युवा संघमा रहला त महेश बस्नेतको दबदबा?

किरण पौडेल ४ जेठ २०८२ १०:४७
72
SHARES
युवा संघमा रहला त महेश बस्नेतको दबदबा? एमाले नेता महेश बस्नेत।

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको महाधिवेशन जेठ ९ देखि ११ सम्म पोखरामा हुँदै छ। नेतृत्व चयन प्रक्रियामा झन्डै डेढ दशकदेखि निर्णायक रूपमा क्रियाशील नेता महेश बस्नेत अहिले पनि सशक्त र निर्णायक देखिएका छन्। साथै एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल गुटबीचको शक्ति सन्तुलन र गुटगत समीकरणले महाधिवेशनलाई प्रभावित पार्नेछ।

बस्नेत युवा संघमा डेढ दशकदेखि  निर्णायक रहँदै आएका छन्। संघलाई चलायमान र गतिशील बनाउन महेशको जति हात छ, नेतृत्व चयनमा त्यति नै हस्तक्षेप रहँदै आएको संघका नेताहरू बताउँछन्।

बस्नेत युवा संघका अध्यक्ष हुँदै पार्टीको युवा संघ हेर्ने इन्चार्जको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्रका रूपमा लिने गरिन्छ। यद्यपि २०५४ सालको स्थानीय तहको चुनावमा तत्कालीन गुन्डु गाविसमा अध्यक्ष निर्वाचित भएका उनी त्यति बेला सबैभन्दा कम उमेर (२२ वर्ष) मा गाविस अध्यक्ष बनेका थिए। युथफोर्सको अध्यक्ष र उद्योगमन्त्रीसमेत भइसकेका बस्नेत पार्टीमा तल्लो तहदेखि नै नेतृत्व गर्दै सक्रिय भएका नेता हुन्।

युवा संघमा भने बस्नेतको वर्चस्व २०६६ सालदेखि रहँदै आएको छ। २०६६ साल पुसमा अध्यक्षमा चुनिएका बस्नेत २०६९ सालमा सोही पदमा दोहोरिएका थिए। दोस्रो पटक अर्का दाबेदार झपट रावललाई उपाध्यक्षमा मिलाएर बस्नेत अध्यक्ष बनेका थिए।

युवा संघका पूर्वनेता हस्त शाहीका अनुसार झपटसँग महेशले एकएक वर्ष चलाउने ‘मौखिक सम्झौता’ गरेका थिए। २०७१ सालमा महेशले उमेर हदका कारण संगठन छाड्दा आफू निकट उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाए।

महेशले निरुलाई नेतृत्व छाड्दा केही पदाधिकारी असन्तुष्ट भएका थिए। तर महेशका विरुद्ध कसैको केही लागेन। २०७२ सालमा महेशले नै राजीव पहारीलाई अध्यक्ष बनाए। २०७५ सालमा रमेश पौडेल निर्वाचित भए। त्यति नै बेला माओवादीसँग एमाले एकता भएर नेकपा बन्यो। माओवादीबाट आएका रामप्रसाद सापकोटा ‘दीपशिखा’ संयोजक र रमेश सहसंयोजक बने।

२०७७ सालमा एमाले-माओवादी दुवै पूर्ववत् अवस्थामा फर्किएपछि तीन महिनाका लागि बचनसिंहलाई अध्यक्ष बनाइयो। त्यसपछि पनि युवा संघमा बस्नेतको दबदबा कायम रह्यो। २०७८ सालमा अध्यक्षमा किरण पौडेल बने। पौडेल बिदा भएर संगठन छाड्दासमेत महेशले आफू निकटस्थ क्षितिज थेवेलाई अध्यक्ष बनाएका थिए। यसअघिको महाधिवेशनमा निर्वाचनका लागि दुई प्यानल बनेको थियो। तर महेशले दुवै समूहलाई उम्मेदवारी फिर्ता गर्न लगाएर आफू निकट क्षितिजलाई अध्यक्ष बनाएका थिए।

संघमा बस्नेतकै बोलवाला रहेकाले नेतृत्व लिन चाहने अधिकांशले महेशलाई भेटिसकेका छन्। उनीहरूले आफूलाई अध्यक्ष बनाउन लबिइङ गर्नसमेत महेशसामु हारगुहार गरेका छन्। नेताहरूका अनुसार महेशले आफू कुनै पदमा नरहेकाले पहलसम्म मगर्ने बताउने गरेका छन्।

युवा संघमा यसपल्ट ओली-पोखरेलकै दबदबा चल्ने अनुमान छ। पछिल्लो ताका महेश पनि ओली निकटस्थ देखिरहेका छन्। यसले गर्दा ओली-पोखरेलसँग मिलेर एकपल्ट नेतृत्व हत्याउने महेशको दाउ रहेको नेताहरूको दाबी छ। कतिपय नेताहरू महेश इतरबाट नेतृत्व चयन हुनुपर्ने माग राखिरहेका छन्।

एमाले नेता एवं जनसंगठन प्रमुख भानुभक्त ढकाल भने कसैले युवासंघको नेतृत्व चयनमा कसैले हस्तक्षेप नगर्ने बताउँछन्। उनी आफ्नै प्रतिनिधिले नेतृत्व चुन्न पाउने अधिकार कुण्ठित नगर्ने सुनाउँछन्। युवा संघको महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुने सचिव निरोज पौडेलले जानकारी दिए।

युवा संघको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा पुग्ने प्रतिस्पर्धा तीव्र बनिरहेको छ। युवा संघको महाधिवेशन आगामी जेठ ९-११ मा पोखरामा हुँदैछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

महाधिवेशन संघारमै पुगेका बेला युवा संघको अध्यक्ष को बन्ला भन्ने चासो एमाले वृत्तमा छ। यसपटक एमालेमा विगतभन्दा फरक किसिमको परिवेश छ। यसअघिका महाधिवेशनमा जस्तो जम्बो पदाधिकारी र केन्द्रीय समिति अब बन्ने छैन। पार्टीले नै नौ सदस्यीय पदाधिकारी र १५१ सदस्य केन्द्रीय कमिटी बनाउन निर्देशन दिएको छ।

यसले गर्दा पनि कम सिटमा बढीले आकांक्षा राख्नुपर्ने बाध्यता छ। अर्कातिर एमालेमा हालसम्म महाधिवेशन सम्पन्न जनवर्गीय संगठनमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको छैन। पार्टीका २२ जनवर्गीय संगठनमध्ये १० वटाको महाधिवेशन सकिएको छ। कतिपय संगठनमा स्वतस्र्फुत सर्वसम्मति त कतिपयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक्षेपबाट नेतृत्व चयन भएको छ।

भ्रातृ संगठनका महाधिवेशन हेर्दा युवा संघमा चुनाव हुने सम्भावना कम छ। यसले गर्दा नेतृत्वको आकांक्षी प्रतिनिधिमुखीभन्दा पनि नेतामुखी बनिरहेका छन्। नेताको निकटस्थ बनेमा मात्र नेतृत्व हत्याउन सकिने बुझाइ आकांक्षीहरूमा देखिन्छ।

यद्यपि, उनीहरूले चुनावकै माग पनि गरिरहेका छन्। युवा संघमा चुनावमा नेतृत्व चयन हुनु अहिलेको अवस्थामा अनौठो मान्नुपर्छ। किनभने २०७१ सालयता युवा संघमा चुनाव भएको छैन।

महाधिवेशनबाट अध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन हुनेछ। जसमा अध्यक्ष एकजना, उपाध्यक्षमा एकजना महिलासहित दुईजना, महासचिव एकजना, उपमहासचिव एकजना र सचिवहरुलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला, संगठन र आर्थिक जिम्मेवारी हेर्ने गरी कोषाध्यक्षको व्यवस्था गर्ने) नौजना पदाधिकारी रहने व्यवस्था छ।

जम्बो साविक पदाधिकारीबाट नौजना छनोट गर्नु नै युवा संघमा सकस हुनेछ। पदाधिकारीका केही आकांक्षी उमेर हद (४० वर्ष) लागेर बाहिरिनेछन्। तर पनि यसपटक नेतृत्व चयन प्रक्रिया विगतमा भन्दा कडा हुने नेताहरूको बुझाइ छ।

एमालेभित्रका युवाको नेतृत्व लिने पद भएकाले पनि सबैभन्दा अध्यक्ष पद चर्चामा छ। वर्तमान उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी, प्रकाश गौतम अध्यक्षका दाबेदार हुन्। यसैगरी महासचिव सुमन पुरी पनि यसपटक दाबेदार हुन्।

चुनाव नहुने संकेत बुझेपछि आकांक्षीहरू आफू अनुकूल पार्टी नेताको घरदैलोमा व्यस्त छन्। निकट नेताहरूका अनुसार आगामी कार्यकालका लागि सबैभन्दा बढी दाबेदार उपाध्यक्ष महाराज गुरुङ र महासचिव सुमन पुरी हुन्। उनीहरू दुवै केन्द्रीय नेताहरूका निकट भएको भन्दै युवा संघमा प्रचार गरिँदै छ। महाराज एमालेका नेता पार्वत गुरुङका नातेदार पर्छन्। यद्यपि, उनी लामो समयदेखि उनी युवा संघमा कार्यरत छन्।

पुरी अघिल्लो महाधिवेशनमा उपाध्यक्ष थिए। नेतृत्वको आकांक्षी भए पनि सर्वसम्मत गर्न दबाब दिएपछि उनी महासचिव बन्न राजी भएका थिए। उनी एमाले नेता एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीका नातेदार हुन्।

लुम्बिनीमा लीला एमाले उपाध्यक्ष विष्णु पौडेल निकटस्थ मानिने भएकाले पुरीलाई पनि पौडेलसँग जोडेर हेरिन्छ।

अध्यक्षका लागि कृष्णहरि केसी र प्रकाश गौतमको पनि प्रचार पनि भइरहेकै छ। केसी कुनै बेलाका माधवकुमार नेपाल निकटस्थ हुन्। भीम रावललगायतका नेताहरूले विभाजनमा नजाँदा उनी एमालेमै रहे। गौतम आफैँ योग्य प्रत्यासी रहेको युवा संघका नेताहरू बताउँछन्। हालसम्म उनलाई केन्द्रीय नेताको समर्थन भएको बुझिएको छैन। काभ्रेका नेता भएकाले गौतमलाई गोकुल बास्कोटासँग जोडिन्छ।

हालसम्मको स्थिति हेर्दा उपाध्यक्षबाट महाराज र सुमनकै दबदबा देखिन्छ। महाराजलाई नेतृत्वमा पु¥याउन पूर्वअध्यक्ष एवं हालका इन्चार्ज राजीव पहारी लागेका छन्। महाराज र राजीव दुवै गण्डकी प्रदेशका हुन्। महाधिवेशन पनि गण्डकीमै हुँदै छ।

वर्तमान अध्यक्ष क्षितिज थेवे महाराजप्रति लचिलो बनेको नेताहरू सुनाउँछन्। युवा संघका पूर्वअध्यक्ष एवं एमाले नेता महेश बस्नेतसमेत महाराजप्रति सकारात्मक रहेको स्रोतको दाबी छ।

पुरीलाई एमाले उपाध्यक्ष एवं विष्णु पौडेलको साथ रहेको बुझाइ छ। कतिपयले लुम्बिनीको आफ्नो निर्वाचन क्षेत्र हेरेर एमाले महासचिव शंकर पोखरेलसमेत पुरीप्रति सकारात्मक रहेको बताउँछन्।

आफ्नो क्षेत्रमा नेतृत्व पुर्‍याउन शंकरले पहल गर्न सक्ने सम्भावना छ। यसअघि पनि शंकर पार्टीभित्रकै विभिन्न कारणले प्रतिनिधिसभा हार व्यहोरेकाले युवा संघमा नेतृत्व लिने दाउमा पुगेका उनी निकट नेताहरू बताउँछन्।

युवा संघका नेताहरू एक नेतासँग मात्र निकट छैनन्। कतिपय नेताहरू आन्तरिक किचलो बनाएर पुरानै नेतृत्व दोहोर्‍याउने प्रयत्नमा समेत छन्।

अध्यक्ष क्षितिज थेवे नै अध्यक्षमा दोहोरिने सम्भावना पनि उत्तिकै छ। किनकि, आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेकाले पार्टी अध्यक्ष ओलीलाई पनि उनले प्रभावित पारेका छन्।

जनजाति क्लस्टरबाट नेतृत्व चयन गर्दा आलोचनाबाट मुक्त हुन सकिने अध्यक्ष ओली निकट नेताहरू बताउँछन्। सयसो गरेमा पहिचानवादी–जातिवादीको काउन्टरमा उभिन सहज हुने नेताहरूको दाबी छ। क्षितिजले भने नदोहोरिने र नयाँलाई जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गरिसकेका छन्। ताप्लेजुङका बासिन्दा क्षितिज नेतृत्वमा आए कोशी प्रदेशभर दबदबा कायम गर्न सकिने ओलीको बुझाइ रहेको उनी निकट नेताहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast