
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र रिहा भएका छन्। सर्वोच्च अदालतले जमानीमा छाड्न आदेश दिएपछि मिश्र शुक्रबार रिहा भएका हुन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चका उपरजिष्ट्रार एवं सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।
पाण्डेका अनुसार मिश्रलाई कानुन व्यवसायीको रोहवरमा थुनामुक्त गर्न आदेश भएको हो।
मिश्रकी पत्नी सारिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन्। उनको रिटमाथि सुनुवाई गर्दै यसअघि सर्वोच्चले मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्नका साथै स–शरीर उपस्थित गराउन आदेश दिएको थियो।
मिश्र चैत १५ गते पक्राउ परेका थिए। राजसंस्था पुनः स्थापना संघर्ष समितिले काठमाडौँको तीनकुनेमा आयोजना गरेको कार्यक्रमलाई हिंसात्मक बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
रिहा भएपछि सर्वोच्च अदालत परिसरमा पत्रकारहरूसँग कुरा गर्दै मिश्रले आफूबाट राज्यविरूद्धको कसुर, आपराधकि उपद्रव र संगठित अपराध नभएको दाबी गरे।
उनले आफू राजनीतिक मान्छे रहेको बताउँदै उनले राजनीतिक रूपमै राजसंस्था पुनः स्थापनाका लागि काम गरिरहेको जिकिर गरे।