परिवारका पाँच सदस्य शृंखलाबद्ध चोरीमा, लाखौँको सुनचाँदीसहित पक्राउ

विजय नेपाल २ जेठ २०८२ १२:०२
62
SHARES
परिवारका पाँच सदस्य शृंखलाबद्ध चोरीमा, लाखौँको सुनचाँदीसहित पक्राउ

पोखरा- पोखरामा शृंखलाबद्ध चोरीका घटनामा संलग्न गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। सुनका गरगहना १२ तोला ८ लाल तथा चाँदीका २४ तोला गरगहनासहित विभिन्न सामान चोरीको आरोपमा प्रहरीले चोरीका नाइके सुवास विकसमेत पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीमा शुक्रबार पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पक्राउ पर्नेहरू सबै पारिवारिक नातेदार रहेको बताए। उनका अनुसार उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।  पक्राउ पर्नेमा चोरीका मुख्य नाइके तनहुँको शुक्लागण्डकी नगरपालिका वडा १०, साँखेका २६ वर्षीय कटुप्पा भन्ने सुवास विक छन्।

ढुंंगा, गिट्टी, बालुवाको ठेक्कापट्टा गर्ने उनी विगतमा पनि चोरी कसुरमा कास्की जिल्ला अदालतबाट उनलाई पाँच वर्ष कैद र साढे तीन लाख जरिबाना भएको थियो। २०७९ सालमा कारागारबाट छुटेपछि तीन महिना कतार गएर फर्किएका थिए। उनलाई गत २९ वैशाखमा पोखराको बूढीबजारबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका अर्का व्यक्ति हुन्- तनहुँ साँखेकै २३ वर्षीय विमल विक। ड्राइभिङ पेसामा आबद्ध उनी सुवासका ठूलोबुबाका छोरा हुन्।

सुवास विकका मामा नाताका ५३ वर्षीय दुर्गाबहादुर थापा पनि पक्राउ परेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका-९ काल्खुका दुर्गाबहादुर पोखराको रामबजारमा स्याङजा कोल्माकोट सुनचाँदी पसल चलाउँछन्। उनीमाथि पनि २०५७ र २०६४ सालमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट सार्वजनिक मुद्दामा अनुसन्धान भएको थियो। त्यस्तै, २०८० सालमा वडा प्रहरी कार्यालय वालिङबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भएको थियो।

तनहुँको शुक्लागण्डकी ११, दुर्गेका २२ वर्षीय गणेश सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुर्गाबहादुरको सुनचाँदी पसलका कालीगढ उनी सुवासका फुपूका छोरा पर्छन्। सुवासका फुपूका अर्का छोरा स्याङ्जा पुतलीबजार ९, काल्खुका ३३ वर्षीय सुरेश विक पनि चोरी गिरोहका अर्का सदस्य हुन्। उनी पनि दुर्गाबहादुरको सुनचाँदी पसलमा कालीगढ छन्।

पोखरामा यसरी एकपछि अर्को चोरीका घटना बढ्न थालेपछि प्रहरी कार्यालयमा उजुरीको चाङ लागिसकेको थियो। पोखराका विभिन्न ९ स्थानका १२ वटा घरमा तथा तनहुँमा ३ चोरीका घटनाको उजुरी रहेको प्रहरीले जनायो।

प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान प्रक्रिया थालेकोमा संगठित रूपमा चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको जनायो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले घरमा कोही नभएको अवस्थामा ताला फोडी चोर्ने गरेको, विशेषगरी सुनचाँदीका गरगहना र नगदमा मात्र फोकस गर्ने गरेको, चोरिसकेका गरगहना आफ्नै नातेदार सुनचाँदी पसल सञ्चालक दुर्गाबहादुरलाई दिने गरेको खुलेको छ।

सुवासले चोरी गर्न ग २२ प ४९८९ नम्बरको एनएस पल्सर मोटरसाइकल प्रयोग गर्ने गरेका थिए। साथै, ग २१ प ६७५३ नम्बरको स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ। मोटरसाइकल भने सुवासले आफ्नो दाइ नाताका नरबहादुर विकबाट प्राप्त गरेका थिए।

नरबहादुर पनि हाल हतिहतियार तथा खरखजाना मुद्दामा कारागारमा सजाय भोगिरहेका छन्। विमल विकले चोरी गर्न जाँदाआउँदा मोटरसाइकलमा ल्याउने पुर्‍याउने काम गर्थे। उनीहरूको साथबाट प्रहरीले सुनचाँदीका तिलहरी, चन्द्र पोते, मोती माला, सिक्री, औँठी, चन्द्रमा, गेडी पोते, मंगलसूत्र, नौगेडी, फूली, टप, पञ्चरत्ने बाला बरामद गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast