
काठमाडौँ- प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ ले पहिलो साता ५ करोड ७५ लाख कमाएको छ। निर्माण कम्पनी आर्टमाण्डुले शुक्रबार फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्मले सुरुवातदेखि नै दर्शकको मन जितिरहेको छ। आजदेखि फिल्म दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले देशभर करिब २ सय सो पाएको निर्माण टिमले जनाएको छ। यो सातादेखि कलाकारहरु मोफेसल भ्रमणमा छन्।
निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीदेखि पोखरा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म हुनेछ। भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन्।
फिल्ममा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ। फिल्ममा समावेश ‘चाइनेजो जिन्दगानीमा’, ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ बोलको गीत चर्चित छ।