यमाल–फर्मिनको गोलमा बार्सिलोनालाई ला लिगा उपाधि

हिमाल प्रेस २ जेठ २०८२ ९:४०
26
SHARES
यमाल–फर्मिनको गोलमा बार्सिलोनालाई ला लिगा उपाधि

काठमाडौँ- स्पेनिस फुटबलमा बार्सिलोनाले अर्को ऐतिहासिक सफलता हात पार्दै २८ औंपटक ला लिगा उपाधि जितेको छ। बिहीबार राति छिमेकी प्रतिद्वन्द्वी एस्पान्योलविरुद्ध २-० को जित निकाल्दै बार्साले सिजनको तेस्रो ट्रफी सुनिश्चित गरेको हो। यो उपाधि जर्मन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा क्लबले जितेको पहिलो ला लिगा उपाधि हो। यसअघि बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कप पनि जितिसकेको छ।

खेलको ५३ औं मिनेटमा १७ वर्षीय लामिन यमालले ड्यानी ओल्मोको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८० औं मिनेटमा यमालमाथि फाउल गर्दा एस्पान्योलका डिफेन्डर लुइस कार्बेरा रातो कार्डको सजायमा परे। संख्यात्मक फाइदाको उपयोग गर्दै इन्जुरी समयमा यमालकै पासमा फर्मिन लोपेजले दोस्रो गोल थप्दै खेललाई बार्साको पक्षमा पक्का गरे।

बार्सिलोनाको यो जितसँगै लिगको २ खेल बाँकी रहँदा उसले दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अंकको अन्तर बनाएको छ जसले गर्दा उपाधि पहिले नै पक्का भएको हो। सिजनभरि प्रभावशाली प्रदर्शन गर्दै आएको बार्साले दुईवटा ‘एल क्लासिको’ जितेर रियललाई दुवै फाइनलमा हराउँदै सुपर कप र कोपा डेल रे पनि जितेको थियो।

बार्सिलोनाले अब आइतबार हुने भिल्लारियलविरुद्धको खेलपछि आधिकारिक रूपमा ला लिगा ट्रफी प्राप्त गर्नेछ।

प्रकाशित: २ जेठ २०८२ ९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast