
काठमाडौँ– बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले अमेरिकी पासपोर्ट प्राप्त गरेको बताइएको छ।
उनले वासिङ्टन डिसीमा अमेरिकी नागरिकताको सपथ लिएको र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गरेको ‘बंगलादेश प्रतिदिन’ अखबारले जनाएको छ।
‘सजीब वाजेद जोयले वासिङ्टन डिसीस्थित अमेरिकी नागरिकता केन्द्रमा अमेरिकी नागरिकताको शपथ लिनुभयो र शनिबार आफ्नो नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभयो। प्रमाणपत्र प्राप्त गरेपछि उहाँले पासपोर्टका लागि पनि आवेदन दिनुभयो,’ दैनिक ‘बंलादेश प्रतिदिन’ ले भनेको छ, ‘विभिन्न देशका कुल २२ व्यक्तिले सपथग्रहण समारोहमा भाग लिएका थिए। तीमध्ये जोयसहित तीन जना बंगलादेशी मूलका थिए। उहाँले आफूसँगै एकजना वकिल ल्याउनुभयो। तीन बंगलादेशीमध्ये जोय दोस्रो हुनुहुन्थ्यो जसले सपथ लिनुभएको थियो।’
अवामी लिगका नेता एवं पूर्वसूचनाराज्यमन्त्री मुहम्मद अली अराफातले पनि जोयले अमेरिकाको नागरिकता लिएको पुष्टि गरेका छन्।
उनले भने, ‘सजीब वाजेद जोयको बंगलादेशी पासपोर्ट, जुन उहाँ यात्रा गर्न प्रयोग गर्नुहुन्थ्यो, युनुसको अवैध सरकारले अवैध रूपमा रद्द गरेको थियो। यस परिस्थितिमा उहाँले अमेरिकी पासपोर्ट लिनुपर्यो।’
अराफातका अनुसार ग्रिन कार्डले व्यक्तिलाई अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन र सजीब वाजेद जोयलाई अमेरिका बाहिर यात्रा गर्न पासपोर्ट चाहिएको थियो।
‘ग्रिन कार्डले अमेरिका बाहिर यात्रा गर्न अनुमति दिँदैन। जोयलाई अमेरिका बाहिर यात्रा गर्न वा आफ्नी आमालाई भेट्न पासपोर्ट चाहिन्छ। हालको अवस्थामा उहाँले अमेरिकी पासपोर्ट लिनुपर्ने थियो,’ उनले भने।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना गत वर्ष अगस्तमा विद्यार्थी नेतृत्वको विद्रोहमा सत्ताबाट बाहिरिएकी थिइन्। हसिनाले भारतमा शरण लिइन् र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।
यसअघि मे १० मा बंगलादेशको अन्तरिम सरकारले देशको सबैभन्दा पुरानो राजनीतिक दल अवामी लिगलाई प्रतिबन्ध लगाएको थियो। राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न यो निर्णय गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।–रासस