ताप्लेजुङमा याक संरक्षण र प्रवर्द्धनतर्फ स्थानीय सरकार

हिमाल प्रेस १ जेठ २०८२ १३:४५
24
SHARES
ताप्लेजुङमा याक संरक्षण र प्रवर्द्धनतर्फ स्थानीय सरकार

ताप्लेजुङ- दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन्।

पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यहाँका स्थानीय तहले याक संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका हुन्।

सिरिजङ्घा गाउँपालिकाले हालै याक संरक्षणप्रति जनचासो बढाउने उद्देश्यले ‘चौँरी प्रदर्शन कार्यक्रम’ आयोजना गरेको थियो। जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त प्रदर्शनीमा उत्साहजनक याकपालक कृषकहरूको सहभागिता थियो।

गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा याकको शरीरको बनावट, सिङको आकार, पुच्छरको बनोट, चालचलन, स्वभावलगायत आधारमा मूल्याङ्कन गरी उत्कृष्ट याक छनोट गरिएको थियो।

प्रतियोगितामा विजयी घोषित याकका पालकलाई २८ हजार ५८८ नगदसहित प्रमाणपत्र प्रदान गरिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ। सहभागी कृषकलाई प्रोत्साहनस्वरूप आठ हजार ५८६ का दरले पुरस्कार वितरण गरिएको थियो।

याक प्रवर्द्धन गर्नका लागि फक्ताङलुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा याकपालक कृषकलाई ७५ प्रतिशत अनुदानमा याक वितरण गर्ने कार्यक्रम अघि सारेको छ। गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार यो योजना प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सञ्चालन हुनेछ।

याक प्रवर्द्धनमा मिक्वाखोला गाउँपालिका पनि अग्रसर हुँदै आएको छ। पालिकाले चालु आर्थिक वर्षमा याक संरक्षण तथा प्रवर्द्धनका लागि २५ लाख बराबरको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले यस योजनाले याकपालक कृषकलाई आवश्यक प्राविधिक सहयोग, तालिम र पूर्वाधार विस्तारमा सहयोग पुर्‍याउने बताए।

यसैगरी मैवाखोला गाउँपालिकाले पनि याक प्रवर्द्धनमा चासो देखाउँदै पाँच लाख बराबरको कार्यक्रम सम्पन्न गरिसकेको छ। पालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भने, ‘हामीले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै याकपालनलाई संरक्षण र आयआर्जनको भरपर्दो माध्यम बनाउन खोजिरहेका छौँ।’

याक ताप्लेजुङको उच्च हिमाली क्षेत्रको पारिस्थितिक, सांस्कृतिक र आर्थिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ। हिउँदयाममा चौँरीलाई उच्च हिमाली चरनभूमिमा चराइन्छ। याकबाट मासु, दूध, घ्यू, ऊनलगायतका उत्पादन प्राप्त हुन्छन्।

प्रकाशित: १ जेठ २०८२ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast