
आमाको महिमा अपार गरिमा वात्सल्य संसार हो।
आमाको गरिमा हजार अणिमा सौन्दर्य धन्सार हो।
आमा यो जगमा अपूर्व ममता सन्तानमा छर्दछिन्।
आमा यो घरमा बसेर क्षमता, माया, दया भर्दछिन् ।१।
आमा दिव्य छटा र सृष्टिभरिकै सौन्दर्यकी शारदा।
आमा भव्य सदा र दृष्टिभरिमै कौमार्यकी आदर।
आमाको म बयान गर्न सकुँला यस्तो कुनै शब्द खै?
आमाको म बखान गर्न सकुँला यस्तो कुनै लब्ध खै? ।२।
आमा बालसखा खुसी मनभरी पोल्टाभरी राख्दिने।
आमा नै वयमा सखी बनीकन मायालु भाका दिने।
आमाको जसरी कता र कसरी कसले दया पो दिने?
आमाका मनमा र भावहरूमा कसले सदा बोल्दिने? ।३।
आमा त्यो धन हो करोड मनमा आभा र शोभा दिने।
आमा त्यो पन हो सजाई तनमा छाया र प्रभा दिने।
आमाको मनका अनेक सपना साकार जो पार्दछ।
आमाको तनका प्रभाव बलियो पारेर जो हाँस्दछ।४।
आमा नै जगमा अपार धनकी खानी कुबेरै सरी।
आमा नै घरमा करोड मनकी रानी मनैकी धनी।
आमा नै सबमा सदा नयनमा आँखा र छातीभरि।
आमा नै मनमा र यो हृदयमा छाया र मायाभरि।५।