
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रही देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।