गभर्नर नियुक्ति : निष्पक्ष र क्षमतावान किन खोज्न चाहँदैन सरकार?

हिमाल प्रेस ३१ वैशाख २०८२ २२:२४
22
SHARES
गभर्नर नियुक्ति : निष्पक्ष र क्षमतावान किन खोज्न चाहँदैन सरकार?

काठमाडौँ- अमेरिकाका लागि पूर्वराजदूत प्राध्यापक श्रीधर खत्री नेपालीहरू विश्वको कुनाकुनामा रहेर आफूलाई विज्ञको रूपमा स्थापित गरिसकेका र त्यस्ता नेपालीलाई नेपाल भित्र्याएर विकास कार्यमा लगाउन सुझाव दिएका छन्।

सैन्य एवं कूटनीतिक परिवारमा जन्मिएर राजनीतिशास्त्रमा पनि विश्व कूटनीति र भूराजनीतिलाई मुख्य पाटो बनाएर अध्ययन अनुसन्धानमात्र होइन अध्यापनसमेत गराइरहँदा खत्री अमेरिकाका राजदूत भए।

तर, राजनीतिक दाउपेचका कारण उनी फर्कनु पर्‍यो। खत्री अमेरिकामा रहँदा अमेरिकीमात्र होइन नेपाली समुदाय पनि हौसिएका थिए।

अध्ययन अनुसन्धानमा लागेर चर्चित स्थानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका गैरआवासीय नेपालीहरूमा नेपालको सेवा गर्न पाइएला भन्ने आश जागेको थियो। तर, खत्री फर्किएपछि यी सबै कार्य अलपत्र छ। अहिले मुलुकमा गभर्नर जस्तो महत्वपूर्ण पदमा नियुक्ति गर्न हानथाप चलिरहेको छ। राजनीतिक दाउपेच र भागबण्डाको राजनीति उत्कर्षमा छ।

राष्ट्र बैंक दुई महिनादेखि नेतृत्वविहीन रहँदा पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन। यसका लागि विदेशमा रहेर यही क्षेत्रमा काम गरिरहेकालाई नेपाल बोलाएर जिम्मेवारी दिन सकिन्छ। तर, विदेशबाट आएकाले जिम्मेवारी नै बहन गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गरिएको छ। यस्ता खाले गतिविधिले विदेशमा रहेर काम गरिरहेकालाई मुलुकप्रति उत्साह कम निराशा बढी पैदा गरिरहेको हुन्छ।

लोकसेवामा नेपालभित्रका प्रतिस्पर्धीहरूको ज्ञानको दायर बढी हुन्छ कि विश्वव्यापी प्रतिस्पर्धा गरेर विश्व बैंक, राष्ट्रसंघ, एसियाली विकास बैंक वा अन्य ठूला निकायमा काम गरिसकेका विज्ञहरूको ज्ञान धेरै होला? यसतर्फ सरकारको माथिल्लो निकायले ध्यान दिन जरूरी हुन्छ।

यहाँ एउटा पनि राम्रो ‘रिसर्च आर्टिकल’ राम्रा थिंक ट्यांकबाट बाहिर ल्याउन नसकेका प्राध्यापक छन् भने अमेरिकामा मात्रै ६ सय बढी नेपाली प्रतिष्ठित विश्वविद्यालयमा अध्यापन गराउने र अध्ययन अनुसन्धानमा होमिएर विभागीय नेतृत्व गरिरहेका छन्। उनीहरू यहाँका प्राध्यापकभन्दा कैयौँ गुणा माथि छन्। यहाँ पनि केही राम्रा नभएका होइनन्, तर नराम्राको ओझेलमा परेका छन्।

प्रतिस्पर्धाविना नै सेवा प्रवेश गरेका, हप्तामा दुई घण्टी पढाउने, आफूभन्दा अब्बल विद्यार्थी देखे रिस गर्ने, थेसिस नगराउने कार्यहरू यहाँका विश्वविद्यालयमा भइरहेका हुन्छन्। यही कारण युवाहरू विदेशका विश्वविद्यालयमा अध्ययन गर्न जाने क्रम बढिरहेको छ। नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा हुने राजनीति त चरम छ।

अर्थविज्ञ एवं राष्ट्रिय आयोजना आयोगका पूर्वसदस्य प्राध्यापक डा.सुरेन्द्र लाभ उपयुक्त पदका लागि उपयुक्त व्यक्ति विदेशबाट पनि ल्याउन सकिने र देशमै पनि त्यस्ता व्यक्ति रहेको बताउँछन्। हरेक क्षेत्रमा मौलाउँदै गएको राजनीतिका कारण निष्पक्ष र क्षमतावान व्यक्तिको खोजी नेतृत्वले गर्न नचाहेको उनको भनाइ छ।

‘विदेशमा रहेका नेपाली महत्वपूर्ण जिम्मेवारीमा सफलताका साथ आफ्नो क्षमता प्रदर्शन गरिरहेको धेरै उदाहरणहरू छन्, नेपालमा पनि त्यस्ता व्यक्तिहरूको अभाव छैन,’ लाभ भन्छन्,‘तर, त्यस्ता व्यक्तिहरूको खोजी नै हुँदैन। दलीय आधारमा व्यक्ति रोज्ने र जिम्मेवारी दिने अभ्यास हाम्रोमा विगतदेखि रहँदै आएको छ।’

सरकारले आफूलाई चाहिने आवश्यक जनशक्तिको आकलनसमेत गर्न सकिरहेको छैन। अर्थ, पूर्वाधार, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा आवश्यक पर्न सक्ने जनशक्तिको यकिन गर्न नसक्दा चाहिएको बेला सरकारी निकायहरूमा विज्ञ पाउन कठिनाइको सामना गर्न परिरहेको छ। यसका साथै यहाँका विश्वविद्यालयहरूले पनि देशका लागि चाहिने दक्ष र क्षमतावान जनशक्ति उत्पादन गर्न चुकिरहेका छन्। यही कारण अहिले विज्ञ व्यक्ति राष्ट्र बैंकको गभर्नर नियुक्त हुने स्थानमा देखा परेका छैनन्।

नेपालका विश्वविद्यालयहरू दक्ष जनशक्ति उत्पादन गर्न नसकिरहेको प्राध्यापक लाभ स्वीकार गर्छन्।

‘विश्वविद्यालयहरू दक्ष जनशक्ति उत्पादन गर्न कतै न कतै चुकिरहेका छन्। शिक्षाको क्षेत्र धेरै फराकिलो भइसकेको छ, त्योअनुसारको डेलिभरी यहाँ हुन सकिरहेको छैन,’ गभर्नर नियुक्तिको उदाहरण दिँदै उनी भन्छन्,‘विदेशमा रहेका क्षमतावान नेपालीलाई बोलाउन सकिन्छ। तर, यहाँ पनि नभएका होइनन्। खोजी गर्ने काम भएको छैन। पहिले त दलको हुनुपर्‍यो, त्यसपछि दलको व्यक्ति विशेषको। अनि कसरी हुन्छ?’

गभर्नर भन्ने पद चानचुने नरहेको बताउँदै उनले यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थव्यवस्था बुझेको व्यक्ति चाहिएको उल्लेख गरे। गभर्नर जस्तो पदमा दक्ष, क्षमतावान र नेतृत्व गर्नसक्ने व्यक्ति नियुक्त गर्नुपर्ने उनको भनाइ छ।

गभर्नर नियुक्तिमा प्रतिस्पर्धा गराएर वा कार्ययोजना मागेर राम्रा योजना ल्याउनेलाई पनि छान्न सकिन्छ। केही दिनअघि डा.अंगराज तिमिल्सिनाको नाम पनि यो पदका लागि चर्चामा आएको थियो। सरकारले उनलाई बोलाएको भए राम्रो हुने जानकारहरूको भनाइ छ।

जसरी पछिल्लो समय सरकारले डा.स्वर्णीम वाग्ले, डा.विश्व पौडेललाई नेपालमै बोलाएर जिम्मेवारी दिएर यहीँ राख्यो त्यस्तै अरू क्षमतावान र विज्ञहरूलाई बोलाउने ढिला गर्नु हुँदैन। पूर्वअर्थमन्त्रीहरू रामशरण महत, महेश आचार्यहरू जरूरी भएरै विदेशबाट यहाँ बोलाइएका हुन्। यो मुलुकको हितकै लागि हुनेछ।

पूर्वराजदूत डा.दिनेश भट्टराई भन्छन्,‘बाहिर रहेर काम गरेका विज्ञ युवाहरूलाई नेपाल भित्र्याएर असरल्ला स्थानमा काम गराउन सके हामी छिट्टै माथि उक्लिने छौँ।’
पहिला पनि राजा महेन्द्रले राम्रा अध्ययन गरेकाहरूलाई छानीछानी नेपाल ल्याउने वा नेपाली नपाए परमार्शदाताका रूपमा विदेशी बोलाएर विकासको रेखाचित्र अघि बढाएका थिए। अहिले पनि गभर्नरमा तिमल्सिनाजस्ता व्यक्तिलाई नेपाल ल्याउनसके राम्रै हुनेछ।

अहिलेको विवादित बनेको गभर्नरमा पनि उनको नाम चल्नु ठीकै हो। त्यहाँ नभए अन्यत्र भए पनि त्यस्तै स्थानमा उनको क्षमतालाई मुलुकले उपयोग गर्न सक्नुपर्छ।

उनी राष्ट्र बैंकको गभर्नर पाए जिम्मेवारी सम्हाल्न पक्कै नेपाल आउँछन् होला। उनले त्यहाँ पाइरहेको पारिश्रमिक लोभलाग्दो हुनसक्ने भए पनि नेपालप्रतिको माया झनै प्रगाढ हुनुपर्छ। अहिले पनि उनी विश्वका ६० मुलुक हेर्ने गरी राष्ट्रसंघीय विकास कार्यक्रमका सल्लाहकार हुन्।

उनी एक प्रख्यात नेपाली विकास विज्ञ तथा सुशासन विशेषज्ञ हुन्। जसले हाल संयुक्त राष्ट्रसंघ विकास कार्यक्रममा भ्रष्टाचारविरूद्धको वैश्विक कार्यक्रम सल्लाहकारको रूपमा काम गरिरहेका छन्।

शीर्ष तहमा रहेर त्यहाँको प्रमुख परियोजनाको समन्वय र मार्गदर्शन गर्दै आएका छन्। जसअन्तर्गत ४० भन्दा बढी देशहरूमा सुशासन र भ्रष्टाचार न्यूनीकरणका लागि नीति तथा कार्यक्रमगत सहयोग प्रदान गरेका छन्।

डा.तिमिल्सिनाको कार्यक्षेत्रमा सरकारी संस्थाहरू, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवा तथा महिला सञ्जालहरू सशक्त बनाउने र भ्रष्टाचारविरूद्धको लडाइँमा उनीहरूको क्षमतावृद्धि गर्न सहयोग पुर्‍याउने समावेश छ।

उनले दातृ निकायहरूसँगको सहकार्यमार्फत् वैश्विक स्तरमा भ्रष्टाचारविरुद्धको चेतना अभिवृद्धि, अनुसन्धान, विश्लेषण तथा साझेदारी समन्वयमा समेत महत्वपूर्ण भूमिका निर्वाह मात्र गरेका छैनन् नेपालमा पनि लगातार लेख लेखेर समेत नेपालीलाई जानकारी दिने गर्दै आएका छन्।

नेपालको सन्दर्भमा, डा. तिमिल्सिनाले संघीय शासन प्रणाली, राजनीतिक पार्टीहरूको कार्यप्रणाली, निर्वाचन प्रणालीमा हुने खर्च, र नागरिक समाजको भूमिकाबारे गहिरो विश्लेषण गर्ने र सुझाउने काम गर्छन्।

डा. तिमिल्सिनाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सुशासन, भ्रष्टाचार न्यूनीकरण, र विकाससम्बन्धी विषयहरूमा आफ्नो विचार पनि राख्दै आएका छन्। उनको सामाजिक सञ्जालमा पनि सक्रिय उपस्थिति रहेको छ, जहाँ उनले विकास, सुशासन, र भ्रष्टाचारविरुद्धका विषयहरूमा आफ्ना विचारहरू साझा गर्छन्।

प्रकाशित: ३१ वैशाख २०८२ २२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast