नेसपा नयाँ शक्तिको पदाधिकारी बैठकले गर्‍यो ६ निर्णय

हिमाल प्रेस ३१ वैशाख २०८२ १०:५७
60
SHARES
नेसपा नयाँ शक्तिको पदाधिकारी बैठकले गर्‍यो ६ निर्णय

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पदाधिकारी बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय तीनकुने, काठमाडौँमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले वैकल्पिक राजनीतिलाई अघि बढाउने र संगठन सुदृढीकरणमा केन्द्रित विभिन्न निर्णयहरू गरेको छ।

बैठकको सुरुमा सहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपश्चात् पदाधिकारीहरूद्वारा आफ्नो जिम्मेवारी, कार्यक्षेत्र र संगठनात्मक गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

बैठकले अध्यक्ष भट्टराईको हालै सम्पन्न भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित, द्विपक्षीय सम्बन्ध तथा लोकतान्त्रिक सुदृढीकरणमा योगदान पुर्‍याएको निष्कर्ष निकालेको छ। भ्रमणको क्रममा भट्टराईले भारतीय शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि तथा सञ्चारकर्मीहरूसँग संवाद गरेका थिए।

बैठकले संगठन विस्तार र वैकल्पिक राजनीतिको एजेन्डा लिएर अघि बढाइएको ‘प्रशंसा अभियान’ (प्रशिक्षण, संगठन विस्तार र सामाजिक परिचालन) लाई निरन्तरता दिने निर्णय पनि गरेको छ।

यसैबीच, पार्टी स्थापना दिवस २०८२ जेठ ३० गते काठमाडौँमा भव्य रूपमा मनाइने भएको छ। स्थापना दिवसको सन्दर्भमा देशभर वृक्षारोपण, सरसफाइ, रक्तदान, स्वास्थ्य शिविरजस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

यसबाहेक, वैचारिक रूपले नजिकका वैकल्पिक र अग्रगामी शक्तिहरूसँग सहकार्य विस्तार गर्ने उद्देश्यले राजनीतिक संवाद समिति गठन गरिएको छ। उक्त समितिको संयोजक उपाध्यक्ष दुर्गा सोब रहेकी छन् भने भने सदस्यहरूमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जी.एस. गुरुङ रहेका छन्।

बैठकको समापनमा अध्यक्ष डा.भट्टराईले मुलुक अब ढिलोचाँडो वैकल्पिक राजनीतिमा उन्मुख हुने विश्वास व्यक्त गर्दै नयाँ विचार र दृष्टिकोणसहित जनसमुदायमा पुग्न पार्टी पंक्तिलाई आह्वान गरेका थिए।

प्रकाशित: ३१ वैशाख २०८२ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast