
काठमाडौँ- परस्त्रीसँग गोप्य सम्बन्ध राख्ने पुरुषलाई ‘जार’ भनिन्छ। इतिहासमा जंगबहादुर राणाको शासनकालमा यस्तो सम्बन्ध राख्ने ‘जार’ लाई पूर्वपतिले सजायस्वरूप शिरसमेत काट्न पाउने व्यवस्था थियो। यद्यपि समय, सोच र कानुनी संरचनामा आएको परिवर्तनले अहिले नेपालमा यस्तो नियम लागू छैन।
फिल्म ‘जार’ ले यसै ऐतिहासिक सन्दर्भ भावभूमिमा राख्दै त्यतिबेलाका सामाजिक मूल्य, अनुशासन र प्रेमभित्रको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
फिल्म साहित्यकार इन्द्रबहादुर राईको कथासंग्रह ‘विपना कतिपय’ अन्तर्गतको कथा ‘जार : भएकै एक कथा’ मा आधारित छ। निर्देशक फूर्वाछिरिङ लामाले सोही कथालाई पर्दामा उतार्ने साहसिक प्रयास गरेका छन्।
कथाको सुरुवात घले परिवार र जयवीर थापा मगरबीच लामो समयपछि भएको भेटघाटबाट हुन्छ। यसै भेटघाटका माध्यमबाट उनीहरूका सन्तानबीचको प्रेम, मितेरी साइनो र सामाजिक नियम–बन्धनको गाथा प्रस्तुत गरिएको छ। मुख्य पात्रहरू हुन् – शिवमान घलेका छोरा रुद्रमान, जयवीरकी छोरी ठूली र ठूलीका पति हर्षजित। तीनैको वरिपरि कथा घुमेको छ।
रुद्रमान र ठूलीको सानैदेखि प्रेम थियो। तर ठूलीकी बहिनी र रुद्रमानकी बहिनीबीच परिवारले मितिनी साइनो लगाइदिएपछि उनीहरूबीच दाजुबहिनीको सम्बन्ध मानिन्छ। सामाजिक रीतिअनुसार उनीहरूको प्रेम निषेधित हुन्छ। अन्ततः ठूलीको हर्षजितसँग विवाह हुन्छ। तर, रुद्रमानले ठूलीलाई आफ्नो बनाउन खोज्दा तत्कालीन ‘जार’ सम्बन्धको कानुनी दण्डको साक्षात्कार गर्नुपर्छ। यही त्रास र संघर्षकै बीचमा कथा सम्पन्न हुन्छ।
फिल्ममा पनि यिनै घटनाक्रमलाई कथाअनुसार सुस्त तर गहिरो प्रभावसाथ प्रस्तुत गरिएको छ। कथामा उल्लेख गरिएझैँ फिल्मले सुरुमै दर्शकलाई ‘जार’ को अर्थ, सामाजिक दृष्टिकोण र त्यसबेलाको कानुनी व्यवस्था बुझाउने प्रयत्न गर्छ। त्यसपछि घले परिवारको इतिहास र मितेरी संस्कारका प्रसंग पर्दामा सजीव हुन्छन्।
अभिनेता सौगात मल्लले रुद्रमानको भूमिकामा अभिनय गरेका छन्। गीताञ्जली थापा ठूलीका रूपमा र अनुपविक्रम शाही हर्षजित बनेका छन्। तिनै पात्रको अभिनय, हाउभाउ र भित्री मनोदशाको प्रस्तुति प्रशंसनीय छ।
साहित्यिक कृति पर्दामा उतार्न सजिलो छैन। निर्देशक लामाले मूल कथा र पात्रप्रति न्याय गरेका छन्। कथा बोकेको समय अहिलेभन्दा दुई दशकअघि भएकाले फिल्मको लय शान्त छ। संवादभन्दा दृश्यमा महत्त्व दिइएका कारण फिल्म सुस्त भए पनि सन्देशमूलक छ। पात्रहरूको मनोभावना दृश्यमार्फत बुझाउने यत्न गरिएको छ।
फिल्ममा हराउँदै गएको ‘मितिनी लगाउने’ प्रचलनलाई पुनर्जीवित गरिएको छ। पहिलेपहिले समाजमा अभिभावकले मितेरी साइनो जोडिदिन्थे- जसले वैवाहिक सम्बन्ध, सम्बोधन र व्यवहारमा विशेष नियमहरू बाध्यकारी बनाउँथ्यो। फिल्ममा मितिनी लगाउने संस्कारलाई सिक्का, पछ्यौरा र उपहार आदिसहित देखाइएको छ। यसै संस्कारले प्रेममा अवरोध ल्याउँछ र कथालाई द्वन्द्वतर्फ लैजान्छ।
ठूली र रुद्रमानले समाजको परम्परावादी नियमको विरोधमा उभिएर प्रेममा विजय हासिल गर्न खोज्नु नै फिल्मको उत्कर्ष हो। यही प्रेम र विद्रोहको अन्तिम टकरावले कथालाई जीवन्त बनाएको छ।
इतिहासमा ‘जार’ लाई मृत्युदण्ड दिइन्थ्यो। आज त्यो केवल कथा बनिसकेको छ। फिल्ममा यस्तो कानुनी दण्ड प्रत्यक्ष नदेखिए पनि त्यसको साया उपस्थित छ। जस्तै, रुद्रमान ठूलीलाई लिन आएपछि भाग्नुपरेका दृश्यहरू, लखेटिएको छाया, अनि समाजको विरोध सबै पीडाको परोक्ष चित्र हुन्।
कथामा उल्लेख भएअनुसार राईले ‘जार’ लाई काट्न सात दिन सात रात लागेको लेखेका छन् तर फिल्ममा त्यसबारे स्पष्ट रूपमा देखाइएको छैन। फिल्मको अर्को आकर्षक पक्ष बाघसँगको लडाइँ हो। त्यो दृश्य काल्पनिक नलाग्ने गरी प्रस्तुत गरिएको छ। रुद्रमानले प्रेमीकै निम्ति बाघसँग भिडेर विजय प्राप्त गर्नु कथाको प्रतीकात्मक उचाइ हो।
फिल्मका दृश्यहरू- जस्तै बार्दली शैलीको माटोको घर, ओडार, दाउरा राखिएको गोठ, बाहिरी भर्याङ, हरियाली गाउँ, कुखुरा, बाख्राको आवाज आदिले पुरानो समयको ग्रामीण परिवेश सजीव बनाएको छ। इलाम, तेह्रथुम र सिक्किमका दृश्य मौलिक लाग्छन्।
फिल्ममा तीनै मुख्य कलाकारले समय सान्दर्भिक अभिनय गरेका छन्। ठूली र रुद्रमानको प्रेम, हर्षजितको सहनशीलता र स्वीकारोक्तिले नेपाली समाजको कठोर र परिवर्तनशील अनुहारलाई उजागर गर्छ। निर्देशक लामाको दृश्यप्रधान शैली, संयमित संवाद र कलात्मक सम्पादनले फिल्म आकर्षक बनेको छ।
राईको मूल कृतिमा धेरै संवाद छन् तर फिल्ममा दृश्यमार्फत सन्देश दिन खोजिएको छ। जस्तो कि, हर्षजितले अन्त्यमा बोलेको गम्भीर संवादलाई फिल्ममा केवल आँखाबाट आँसु झारेको देखाएर प्रस्तुत गरिएको छ। यसले केही दर्शकलाई अलिनो लाग्न सक्छ। यस्तै कथाको अध्यायगत विभाजन ‘अध्याय एक’, ‘अध्याय दुई’फिल्ममा हुबहु देखाइनु अनावश्यक लाग्न सक्छ।
फिल्मको गीत पनि पूर्वेली भाकामा आधारित छन्। गीत दृश्यमा देखिँदैन तर शब्दमार्फत पृष्ठभूमिमा बजिरहन्छ। यसले कथाको भावानुभूतिको प्रवाह जीवन्त बनाउँछ।
‘जार’ हेर्दा दर्शकले कथा पढिरहेजस्तो अनुभव गर्न सक्छन्। नयाँ पुस्तालाई पुस्तकतर्फ आकृष्ट गराउने यस्तो फिल्म विरलै बन्ने गर्छन्। राईको साहित्यिक कृतिलाई दृश्यमा ढाल्ने निर्देशन पक्षमा लामाले जोखिम उठाएका छन् र त्यो जोखिम सफल देखिन्छ। प्रविधिको सन्तुलित र कलात्मक प्रयोगले तत्कालीन समय, प्रेम, परम्परा र विद्रोहको सन्देश प्रभावशाली ढंगले दर्शकसम्म पुर्याएको छ।