
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दाबी गरेका छन्। उनले दक्षिण एसियामा बढ्दो सैन्य तनावका बीच संघर्षविराम गराउन आफ्नो प्रशासनको हस्तक्षेपलाई जस दिँदै भने, ‘हामीले एक आणविक युद्ध रोकेका छौँ। युद्ध नरोकेको भए लाखौँ मानिस मारिन्थे।’
अमेरिकाले भारत र पाकिस्तानबीच संघर्षविरामको मध्यस्थता मात्र गरेन वरु एक आणविक युद्धलाई पनि टारेको उनको भनाइ थियो। उनले युद्ध नरोके दुवै देशसँग व्यापार बन्द गर्ने चेतावनी पनि दिएका थिए।
उनले परिस्थितिको गम्भीरतालाई बुझेर र लडाइँ अन्त्य गर्न ‘बुद्धिमत्ता’ र ‘धैर्य’ देखाएकोमा भारत र पाकिस्तानको नेतृत्वको प्रशंसा गरे। पश्चिम एसियामा साउदी अरब, यूएई र कतार प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘हामी तपाईंहरूसँग धेरै व्यापार गर्न गइरहेका छौँ, यसलाई रोक्छौँ। तपाईंहरूले युद्ध रोक्नुभयो भने हामी व्यापार गर्छौँ। तपाईंहरूले युद्ध रोक्नुभएन भने हामी कुनै व्यापार गर्ने छैनौँ।’
उनले पाकिस्तान र भारतसँग धेरै व्यापार गर्न लागेको पनि बताए। ट्रम्पले भने, ‘हामी अहिले भारतसँग कुराकानी गरिरहेका छौँ। चाँडै पाकिस्तानसँग कुराकानी गर्नेछौँ।’
उनले परमाणु युद्धको सम्भावना भने बाँकी नै रहेको बताए। ट्रम्पले भने, ‘हामीले एक परमाणु युद्ध रोकेका छौँ। यसैकारण मलाई यसमा धेरै गर्व छ। म उपराष्ट्रपति भेन्स र परराष्ट्रमन्त्री रुबियोलाई उनीहरूको काम र प्रयासका लागि धन्यवाद दिन्छु।’
भारत-पाकिस्तानबीचको तनावलाई लिएर ट्रम्पले मे १० मा तीन दिनदेखि चलिरहेको युद्धमा तत्काल पूर्ण संघर्षविरामका लागि सहमत भएको बताएका थिए। उक्त सहमति अमेरिकाको मध्यस्थतामा बनेको ट्रम्पको भनाइ थियो।
ट्रम्पको ‘परमाणु युद्ध’ सम्बन्धी यस्तो अभिव्यक्तिको एक घण्टा पनि नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशले ‘परमाणु ब्ल्याकमेल’ नसहने चेतावनी दिए। राष्ट्रका नाममा सोमबार सम्बोधनका क्रममा मोदीले पाकिस्तानलाई चेतावनी दिँदै भने, ‘परमाणु ब्ल्याकमेलको आडमा फस्टाइरहेका आतंकवादी अखडामा भारतले निर्णायक प्रहार गर्नेछ। भारतीय सुरक्षा संयन्त्र सतर्क अवस्थामा छन्।’
मोदीले ‘अपरेसन सिन्दूर’ आतंकवादविरुद्ध भारतको नयाँ नीति रहेको स्पष्ट पारे। उनले भने, ‘अपरेसन सिन्दूरले आतंकवादविरुद्धको लडाइँमा नयाँ रेखा कोरेको छ।’ अपरेसन सिन्दूर भारतले सञ्चालन गरेको एक सैन्य कारबाही हो, जसको उद्देश्य पाकिस्तान र पाकिस्तान प्रशासित कस्मिर (पीओके) मा रहेका आतंकवादी केन्द्रलाई नष्ट गर्नु थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार भारत र पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स (डीजीएमओ) बीच सोमबार साँझ ५ बजे हटलाइनमा कुराकानी भएको थियो। कुराकानीमा दुवै पक्षले एक गोली पनि नचलाउने र एकअर्काविरुद्ध कुनै आक्रामक वा शत्रुतापूर्ण कारबाही नगर्ने सहमति भएको छ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दुवै पक्ष (भारत र पाकिस्तान) ले सीमा क्षेत्रमा सैनिकको संख्या घटाउने सहमति भएको छ। वार्ताअघि भारतका डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घईले भारतीय सेनाले आतंकवादी अखडाहरूलाई निसाना बनाएको बताएका थिए। उनले भने, ‘नागरिकमाथि उनीहरूको निसाना थिएन तर पाकिस्तानी सेनाले आतंकवादीहरूको समर्थन गर्दै जवाफी आक्रमण गरेको थियो। त्यसपछि भारतले पाकिस्तानी सेनालाई कडा जवाफ दिएको थियो।’
भारतीय वायु रक्षा प्रणालीले पाकिस्तानका सबै आक्रमण असफल बनाएको दाबी उनको थियो। ‘मे ९ र १० को रातमा पाकिस्तानतर्फबाट हाम्रो वायुरक्षा र वायुसेनाको महत्त्वपूर्ण केन्द्रलाई निसाना बनाएर हवाई आक्रमण गरिएका थिए तर हाम्रो पहिलेदेखि तयार बहु-स्तरीय वायु रक्षा प्रणालीको सामुन्ने पाकिस्तानका सबै प्रयास असफल भए।’