
काठमाडौँ- पहिलो महाधिवेशन सम्पन्न भएको तीन महिना बितिसक्दा नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) सुस्त देखिएको छ। माघ (२७-२९) अन्तिम साता काठमाडौँमा सम्पन्न पहिलो महाधिवेशनपछि कार्यकर्ताको अपेक्षाअनुसार गतिशील बन्न नसकेको नेताहरूले नै स्वीकार गरेका हुन्। महाधिवेशनको उत्साह तल्लो तहसम्म पुग्न नसकेको गुनासो पार्टीभित्रै सुनिन थालेको छ।
संघीय परिषद् सदस्य तथा पार्टी खेलकुद महासंघका अध्यक्ष विष्णुराज खड्काले भने,‘महाधिवेशनपछि पार्टी अगाडि बढेजस्तो लाग्दैन। गहकिलो भएजस्तो लाग्दैन। अब केन्द्रीयस्तरमा केही राम्रो काम पनि भएका छन् तर त्यो काम तल्लो तहमा नपुगेको कारण जनतामा वैकल्पिक शक्तिले फड्को मार्ने अवस्था देखिन्न।’
महाधिवेशनमा पराजित कार्यकर्तालाई जिम्मेवारी नदिइनुले पनि आन्तरिक ऊर्जा कमजोर बनाएको तर्क उनको छ। ‘जिम्मेवारी वितरण गर्दा समावेशी र निष्पक्ष हुन सकेको भए पार्टी अझ सशक्त हुन्थ्यो,’ उनले भने।
महाधिवेशनले पारित गरेका तत्कालीन कार्ययोजनाअनुसार पार्टीले तीन महिनाको विशेष अभियान सञ्चालन गरिरहेको छ जसको मुख्य उद्देश्य संगठन विस्तार, वैचारिक प्रशिक्षण, जनसम्पर्क विस्तार, आर्थिक संयोजन र कार्यगत एकता सुदृढ गर्नु रहेको केन्द्रीय महासचिव सोनामसिंह स्याङ्ताङ बताउँछन्।
तीव्र गतिमा अगाडि बढ्न खोजिएको यो अभियानमा संरचनागत कमजोरी देखिएका छन्। केन्द्रीय अनुशासन आयोगका प्रमुख मोती रिजाल पनि राजनीति, राजनीतिक दल, सत्ता सञ्चालन गरिरहेको दुई ठूला दलप्रतिसमेत निराशा भइरहेका बेला त्यसको प्रभाव नेसपा नयाँ शक्तिमा पनि परेको बताउँछ्न्। सत्ता सञ्चालकले मुलुकलाई निकास दिन नसकेको अवस्थामा वैकल्पिक पार्टी, यसका एजेन्डा समाजमा बुझाउन चुनौती भइरहेको रिजालको भनाइ छ।
‘राष्ट्रिय राजनीतिमा गत्यावरोध भइरहेको छ। एक नम्बर, दुई नम्बर पार्टी मिलेर सत्ता चलाउँदा पनि देशलाई निकास दिन नसकेको अवस्था छ,’ उनले भने, ‘महाधिवेशन गरेर यहाँसम्म आउँदा नेसपा नयाँ शक्ति पनि यही समाजको प्रतिबिम्ब पार्टी भएको हुनाले समाजलाई वैकल्पिक राजनीतिबारे बुझाउन धेरै जटिल भएको सत्य हो। तर हाम्रो पार्टी देख्दा सानो देखिनसक्छ, यसले आफ्नै गति, रफ्तार, बहस आफ्नै किसिमको आन्तरिक तयारी गरेर अगाडि बढेको अनुभूति हुन्छ।’
नेताहरू सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको बताउँछन्। उनीहरूका अनुसार तल्लो तहसम्म पार्टीको वैचारिक उपस्थिति देखिन थालेको छ। तर स्थानीय तहमा महाधिवेशनको सन्देश र रणनीति पूरै नपुगेको गुनासो बढेको छ। महाधिवेशनमा पराजित पक्षलाई जिम्मेवारी नदिई एकपक्षीय ढंगले संगठन विस्तार गरिएको आरोप नेतृत्वमाथि लाग्न थालेको छ। यसबाट संगठनको आन्तरिक गतिशीलता घटाएको नेताहरू बताउँछन्।
महाधिवेशनले पार्टीलाई सैद्धान्तिक र संरचनागत रूपमा नयाँ उचाइमा पुर्याउने दाबी गरिएको थियो। तर संघीय परिषद्का एक सदस्य भन्छन्, ‘महाधिवेशनपछि पार्टी अगाडि बढेजस्तो लाग्दैन, गहकिलो भएजस्तो लाग्दैन।’ ती नेताको भनाइमा वैकल्पिक शक्ति भनिए पनि व्यवहारमा त्यो स्पष्ट छैन। वैकल्पिक शक्ति भनेर जो जसले दाबी गरेका छन् उनीहरू वैकल्पिक पनि होइनन्।
विभागीय संरचना अझै पूर्ण रूपमा निर्माण भइसकेको छैन। ‘२५ वटा विभाग बनिसकेका छन् तर सबै विभागमा प्रमुख पूर्ण रूपमा नियुक्त भइसकेका छैनन्,’ केन्द्रीय लेखा आयोग प्रमुख डा.जनक शाहले स्पष्ट पारे। पार्टीको विधानले तोकेका १५ वटा विभागमा मात्रै प्रमुख छैन् भने थप गरिएका विभागमा रिक्त छन्। पार्टीको कानुन तथा न्याय विभाग, सांस्कृतिक विभाग, कृषि तथा भूमि विभाग स्वास्थ्य तथा जनसंख्या विभाग,शिक्षा, विज्ञान तथा प्रविधि विभाग, युवा तथा खेलकुद विभाग, उत्पादन तथा स्वरोजगार विभाग, जलस्रोत तथा ऊर्जा विभाग, वन तथा वातावरण विभाग, श्रम तथा रोजगार विभाग विभाग दाधिकारीविहीन छन्।
पार्टी प्रवक्ता कृष्ण शर्मा भने वैचारिक स्पष्टता, सांगठनिक पुनर्संरचना र जनस्तरमा वैकल्पिक राजनीतिक धारको खोजीलाई नयाँ गतिमा अघि बढाएको दाबी गर्छन्। पहिलो महाधिवेशनपछि अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ पार्टीका कार्यकर्तामाझ छलफलको मुख्य विषय बनिरहेको उनले बताए।
शर्माले भने, ‘नयाँ शक्तिले प्रतिवेदनमाथि राजधानीमा अन्तरक्रिया गर्दै अन्य पार्टीका नेताको धारणा लिइसकेको छ। नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।’ नेसपा नयाँ शक्तिको मुख्य एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हो। पार्टीको विज्ञ परिषद्ले गत चैत २३ गते अन्य पार्टीका नेताहरूलाई समेत बोलाएर राष्ट्रपतीय प्रणालीसम्बन्धी अन्तरक्रिया गरेको थियो।
प्रतिवेदनको प्रभावमाथि प्रतिक्रिया दिँदै शर्माले भने,‘हाम्रो प्रतिवेदनमाथि नेपाली कांग्रेसदेखि स्वतन्त्र पार्टीसम्मका नेताहरू सकारात्मक देखिए, यसले हामीमा उत्साह थपिएको छ। भाव सम्प्रेषण, संगठन विस्तार र अभियानात्मक कार्यक्रममार्फत पार्टीलाई नयाँ ढंगले परिचालन गर्दैछौँ।’
शर्माले प्रदेशस्तरीय अधिवेशन जेठ मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको बताए। स्थानीय भेला भइरहेका छन् भने वैचारिक तथा सामाजिक अभियानमार्फत जनसम्पर्क विस्तारको प्रयास भइरहेको छ।
पार्टी एकताको पहल जारी
पार्टीको आन्तरिक जीवनलाई गति दिने क्रममा यसले अन्य वैकल्पिक शक्तिसँग संवाद र सहकार्यको पहल पनि गरिरहेको छ। विगतमा हतारमा गरिएको पार्टी एकताबाट पछुताएको नयाँ शक्ति अब सुझबुझ र विवेकपूर्ण ढंगले मात्र पार्टी एकताको पक्षमा छ। नयाँ शक्तिका कार्यकर्ताले पनि २०८४ सालमा हुने आम निर्वाचनसम्म पार्टी एकता नै गर्नुपर्ने पक्षमा नेतृत्वलाई दबाब दिइरहेका छन्।
आफूलाई वैकल्पिक भन्नेहरू नेसपा नयाँ शक्ति, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, विवेकशील साझा पार्टीबीच एकताको चर्चा छ। नागरिक उन्मुक्ति र जनमत पार्टीबीच हुनै लागेको एकता भाँडिदा त्यसको अप्रत्यक्ष असर यी चारवटै पार्टीमा परेको छ।
गत फागुन २० गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र डा.भट्टराईबीच भएको भेटवार्तामा चौधरीले तत्काल पार्टी एकताको प्रस्ताव गरेका थिए। गत वर्षको जेठ ३० मा आयोजित नेसपा नयाँ शक्तिको स्थापना दिवस होस् या नयाँ शक्तिकै महाधिवेशनको उद्घाटन सत्रको भाषणमा होस् चौधरीले सार्वजनिक रूपमा पनि पार्टी एकताको आह्वान गरेका थिए। चौधरीको उक्त प्रस्तावलाई डा.भट्टराईले ‘पर्ख र हेर’ को रूपमा बुझेका छन्।
डा. सीके राउत नेतृत्वको जनमत र नाउपाबीच एकताको चर्चा भइरहँदा रेशमले सो प्रस्ताव अघि सारेका थिए। रेशमको चाहना नयाँ शक्ति, नाउपा, जनमत, विवेकशील साझाबीच एकैपटक एकता घोषणा थियो। तर बाबुरामले रेशमलाई भनेका थिए, ‘पहिला तपाईँहरू मिल्नुस्, अनि हामी जोडिन्छौँ।’
प्रवक्ता शर्माले पनि पार्टी एकताको प्रसंगलाई नकार्न चाहेनन्। ‘अहिले तत्काल पार्टी एकताको प्रयास होइन, वैकल्पिक धारमा सहकार्य र कार्यगत एकताको माध्यमबाट ध्रुवीकरणको रणनीति बनाइएको छ,’ प्रवक्ता शर्माले भने, ‘२०८४ भित्रै वैकल्पिक अग्रगामी शक्तिहरू एकत्रित नभएमा प्राप्त उपलब्धिहरू गुम्न सक्ने खतरा छ।’
तर यो सब भइरहँदा मुलुकमा राजनीतिक आस्थाप्रति नै निराशा गहिरिँदै गएको छ। जनतामा वैकल्पिक शक्तिप्रति आकांक्षा भए पनि त्यस्ता दलहरूले त्यसको नेतृत्व गर्न सक्ने ठोस नतीजा दिन सकेका छैनन्। रिजाल भन्छन्, ‘मुलुक गोलचक्करमा फसेको छ। जनतामा राजनीतिप्रति नै फस्ट्रेसन छ। समग्रमा हेर्दा उत्साह जगाएको अवस्था छैन।’
नेसपा नयाँ शक्तिका केन्द्रीय विभागहरू