युवा संघमा फेरि विवाद

किरण पौडेल २९ वैशाख २०८२ १८:१७
88
SHARES
युवा संघमा फेरि विवाद

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा फेरि विवाद चुलिएको छ। संघमा नयाँ नेतृत्व तोकिएपछि विवाद बढेको हो। युवा संघका इन्चार्ज लक्ष्मण केसीले आयोजक कमिटी संयोजकको जिम्मेवारी रोशन थापालाई दिएका थिए। उनलाई संयोजक तोकेपछि अर्को पक्ष आक्रोशित बनेको छ भने निर्णय सच्याउन माग गरिरहेको छ।

थापालाई संयोजक बनाउने निर्णय पार्टी विधानविपरीत र आफूखुसी भएको भन्दै अर्का नेता सञ्जीव राई पक्षले विरोध गरेको हो। राई पक्षले ‘संघको नेतृत्व तोक्ने शैलीले संगठनको मर्म, विधिविधान, पद्धति र प्रक्रियाको खिल्ली उडाएको छ, युवा संघको इतिहासलाई कलंकित बनाएको छ। यस प्रकारका अभ्यासले संगठनलाई गलत दिशामा डोर्‍याउनेछ’ भन्दै विज्ञप्ति निकालेपछि गुटगत संगठनभित्रको मनमुटाव सतहमा आएको हो।

राई समाजवादीका सम्मानित नेता झलनाथ खनाल निकटस्थ हुन् भने थापा अध्यक्ष नेपाल पक्षधर मानिन्छन्। नेपालले आफूखुसी आफू निकटलाई संयोजक तोकेको राई पक्षको आरोप छ।
राई पक्षले नयाँ कमिटीलाई नमान्ने भन्दै पुरानै पद र हस्ताक्षरसहितको विज्ञप्ति निकालेको छ।

विज्ञप्तिमा उपमहासचिव सञ्जीव राई, निर्भीक खनाल, सचिवहरु भेषराज शाह र अनिल बोगटीले अन्तरपार्टी निर्देशनविपरीत कार्यदल गठन गरेर जिम्मेवारीमा खटाएको भन्दै आपत्ति जनाएका हुन्।

विज्ञप्ति निकाल्नेमध्ये निर्भीक खनाल झलनाथ खनालका छोरा हुन्। यसैले पनि युवा संघमा गुटगत टकराव बढेको छ। पार्टी नेताहरू नै गुटमा विभक्त भएकाले युवालाई जिम्मेवारी दिँदा गुटविशेष भन्दै आरोप लगाइरहेको नेताहरूको भनाइ छ

यसरी भयो युवामा विवाद

नेकपा एमाले फुटेर समाजवादी बन्दा युवा संघको अध्यक्ष थिए नरेश शाही। उनले किरण पौडेल नेतृत्वको संघलाई फुटाएपछि शाहीकै नेतृत्वमा नयाँ कमिटी बनेको थियो। शाही प्रदेशसभा सदस्य निर्वाचनमा बाजुरा प्रदेशसभा १ बाट निर्वाचित भए। त्यसपछि उनी युवा संघ अध्यक्षबाट बाहिरिन चाहेका थिए।

उनले नेतृत्व छाड्न काठमाडौँमा बोलाएको बैठकमा सबै पक्षीय युवा नेताहरू उपस्थित भएनन्। त्यसपछि विवाद सुुरु भएको थियो। शाहीले संयोजक छाड्दा उपसंयोजक कृष्ण विकलाई जिम्मेवारी हस्तान्तरण गर्न चाहेका थिए।

विकलाई जिम्मेवारी दिने संकेत पाएपछि माधव नेपाल पक्षधर मानिने अर्का उपसंयोजक नितेश पौडेलले छुट्टै भेला डाकेका थिए। नेपालका भान्जासमेत रहेका पौडेल नै संयोजक तोकिए।

पौडेल पक्षको भेलामा तत्कालीन समाजवादी नेता दीपक मनाङे अतिथिका रूपमा पुगेका थिए भने विक पक्षधर भेलामा पार्टीका तत्कालीन उपमहासचिव डा. विजय पौडेल उपस्थित थिए।

शाही र विक झलनाथ खनाल निकटस्थ हुन्। उनीहरूले बहुमतमा रहेको दाबी गरेका थिए। पौडेल पक्षले भने समानान्तर गतिविधि अघि बढाइरह्यो। यसले गर्दा संगठनमा किचलो थपिएको युवा संघका पूर्वमहासचिव दीपक जीएम बताउँछन्।

गत पार्टी महाधिवेशनमा नेपाल-खनाल एकै खेमामा उभिएपछि विवाद साम्य भएको अनुमान थियो। तर विक र पौडेल दुवैलाई सर्कुलरमार्फत नेपालले पार्टी केन्द्रीय सदस्य बनाएपछि फेरि विवाद बल्झिएको हो।
विकले अपमानजनक ढंगले संगठनबाट बाहिरिनुपर्नेमा दुःख मानेका थिए। विक पार्टी जिम्मेवारीमा रहेका कारण युवा संघ नेतृत्वविहीन बनेको थियो। अहिले समाजवादी नेता एवं युवा इन्चार्ज लक्ष्मण केसीले रोशन थापालाई संयोजक तोकेपछि खनाल पक्षधर नेताहरू आक्रोशित भएका हुन्।

निकट नेताहरूका अनुसार राई आफैँ पनि नेतृत्वको आकांक्षी थिए। एकाएक सर्कुलरमार्फत अर्को नेतृत्व ल्याएको र आफूलाई उपसंयोजक बनाएकोमा राई आक्रोशित भएका हुन्। ‘मलाई मात्र होइन, धेरै पदाधिकारीलाई जिम्मेवारी दिइएको छैन। किन यस्तो गरियो जबाफ दिनुपर्छ,’ राई भन्छन्।

संयोजक थापा भने आफू विवाद समाधान गर्न तयार रहेको दाबी गर्छन्। ‘म त महाधिवेशन गराउन मात्र आएको हुँ। उमेर हदका कारण पनि बिदा हुन्छु। नेतृत्व लिने गरी आउनुभएमा राम्रो हुन्छ’, थापा भन्छन्।
राईले आफू ‘सिनियर’ भएकाले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएका छन्। ‘मैले यसअघि नै कार्यवाहक चलाएकाले म सिनियर थिएँ’, उनले भने।

विक संयोजक हुँदा राईलाई कार्यवाहक संयोजकको जिम्मेवारी दिएका थिए। त्यसबेलाकै निर्णयका आधारमा पनि आफू सिनियर रहेको राईको दाबी छ। थापा पक्ष भने विक–राई एकै गुट भएकाले राईलाई जिम्मेवारी दिएको बताउँछ।

‘विक पार्टीको जिल्ला कमिटी अध्यक्ष थिए। त्यतिबेला नै उहाँ (राई)लाई कार्यवाहक दिइएको हो’, थापा पक्षधर एक नेता भन्छन्। यसअघि विक दोहोरो जिम्मेवारीमा रहेको भन्दै एक पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो। विक कुनै बेला पार्टीको म्यादी जिल्ला संयोजक थिए। पार्टीको निर्देशनपछि उनी म्यादीको जिम्मेवारी छाडेर युवा संघको नेतृत्वमा आएका थिए।

गुटले विभाजित नेताहरू

समाजवादी बन्दा नरेश शाहीको अध्यक्षमा उपाध्यक्ष थिए नितेश पौडेल र कृष्ण विक। विकलाई संयोजक तोक्दा पौडेलले समानान्तर गतिविधि अघि बढाए। नेपालका नातेदार परेका कारण शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको थियो।

दुवैलाई केन्द्रीय कमिटीमा तानेपछि समस्या समाधान भएको थियो। शाहीले युवा संघ छाड्दा तत्कालीन महासचिव दीपक जीएम पनि बिदा भएका थिए। यसपछि नेतृत्वको तहमा पुग्ने भयो, उपमहासचिव तह। त्यसैबेलाका उपमहासचिव थिए, सञ्जीव राई, रोशन थापा, निर्भीक खनाल, धर्म शाहीलगायत।

युवा संघ इन्चार्ज लक्ष्मण केसी भने सर्वसम्मत हुने अनुमान गरेर आफूले रोशनलाई संयोजक तोकेको बताउँछन्। ‘अहिले सञ्जीव, धर्म र रोशन सबै दाबेदार हुन्। रोशनलाई संयोजक बनाउँदा सञ्जीव पक्षले असन्तुष्टि जनाएको देखियो’, केसी भन्छन्। धर्म भने अहिले खुलेका छैनन्। आफू मिल्ने पक्षमा रहेकाले कतै नखुलेको बताउँछन्। ‘पार्टीले बैठक बसेर निर्णय लिएको भए ठीक हुन्थ्यो। सर्कुलर जारी भएछ। अब मिलेर जानुपर्छ,’ शाही भन्छन्, ‘युवा संघले नेतृत्व पायो अब महाधिवेशनबाट नयाँ नेतृत्व लिने गरी जानुपर्छ।’

विवाद भ्रातृ संगठनमा, फाटो माधव-झलनाथसम्म

सहावहारजस्तो विवाद भइरहने युवा संघमा यसपल्ट पनि माधव–झलनाथ दुई भागमा विभाजित देखिए। माधव थापा पक्षमा हुँदा झलनाथ सञ्जीव राई पक्ष हुन् भन्ने देखिन्छ। विवाद युवा संघ मात्र नभई विद्यार्थी संगठनमा पनि छ। यसअघि विद्यार्थीको संयोजकमा महेश श्रेष्ठलाई तोक्दा विवाद भएको थियो। नेपाल पक्षधर मानिने श्रेष्ठ संयोजक बन्दा झलनाथ पक्षधरले समानान्तर बनाउने प्रयत्न गरेको थियो। खनाल पक्ष एकाएक सेलाएपछि अहिले विवाद मत्थर भएको छ।

समाजवादी नेता ताज मोहम्मद मियाँ पार्टीमा आफ्नो हुँदा खुसी हुने र अर्को हुँदा नमान्ने प्रवृत्ति रहेको बताउँछन्। यसअघि पार्टीका सम्मानित नेता खनालले विद्यार्थीको विवादका विषयमा पार्टीमै प्रश्न गरेका थिए। विद्यार्थीको नेतृत्वबाट अपमानजनक ढंगबाट हट्नुपरेको भन्दै विद्यार्थी नेत्रृ आरती लामाले पनि बैठकमै प्रश्न उठाएकी थिइन्। सोही क्रममा लामा र पार्टी अध्यक्ष नेपालबीच बैठकमै भनाभन भएको थियो।

पार्टी नेता मियाँ भने आफ्नो गुटको भएमा खुसी हुने नभए नहुने प्रवृत्ति मौलाएको बताउँछन्। ‘मेरो गुटको हुनुपथ्र्यो संयोजक भन्ने मात्र हो। पार्टीभन्दा गुट प्यारो भएपछि पार्टी कसरी बन्छ?’ मियाँ भन्छन्।

निरीह इतरपक्ष

पार्टी अध्यक्ष नेपालले युवा संघ र विद्यार्थीको नेतृत्व हटाएको निर्णय एउटै हो। युवा संघको संयोजक कृष्ण विक र अनेरास्ववियू अध्यक्ष लामाले एकै सर्कुलरबाट हटाइएका थिए।

इतर पक्ष मानिने झलनाथ पक्षले विद्यार्थीको नेतृत्वमा पनि असन्तुष्टि जनायो। जब असन्तुष्टि सामान्य भयो, तब माधवले युवा संघमा बाण हाने। नेताहरूका अनुसार विद्यार्थीको विवाद इतरपक्षले अघि बढाउन नसकेको देखेपछि नेपालले युवा संघमा पनि आफ्नो कदम अघि बढाएका थिए।

‘हामीले विद्यार्थीको नेतृत्व छनोटमा नेपाल पक्षलाई घुँडा टेकाउन सकेनौँ, समानान्तर बनाएको भए एक किसिमको दबाब हुन्थ्यो। तर सकिएन,’ एक विद्यार्थी नेता भन्छन्, ‘हामीबीच विवाद आयो। त्यसलाई नै कमजोरी ठान्दै नेपाल पक्षले युवा संघमा पनि प्रहार गर्‍यो।’ खनाल पक्ष विद्यार्थीमा समानान्तर गतिविधि विस्तार गर्नेमा पुगेको थियो। तर नेताहरूबीच नै कुरा नमिल्दा जहाँको त्यहीँ रहेको एक नेता बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast