साउदीको पूर्वी जुबेलमा पाँच सयभन्दा बढी नेपाली अलपत्र, दूतावासले गर्दैन वास्ता

रमेश भारती २९ वैशाख २०८२ १६:२९
10
SHARES
साउदीको पूर्वी जुबेलमा पाँच सयभन्दा बढी नेपाली अलपत्र, दूतावासले गर्दैन वास्ता एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौँ- साउदी अरेबियाको पूर्वी जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनीमा काम गर्दै आएका ललितपुर गोदावरीका नरेन्द्रराज विक बिचल्लीमा परेका छन्। सेन्दान इन्टरनेसनल निर्माण क्षेत्रमा काम गर्ने कम्पनी हो। निर्माण कम्पनी टाट पल्टिएपछि कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन्। विकका अनुसार कम्पनी टाट पल्टिएको झन्डै एक वर्ष भएको छ।

कम्पनी टाट पल्टिएपछि ४६९ जना नेपाली कामदार रोजगारविहीन भएर बसेको विकले बताए। यसबारे साउदीस्थित नेपाली दूतावासमा जानकारी गराए पनि चासो नदेखाएको उनको आरोप छ।

जुबेलकै अर्को निर्माण कम्पनीमा विगत पाँच महिनादेखि ५० जनाभन्दा बढी नेपाली अलपत्र अवस्थामा रहेको विकको भनाइ छ। उनले सेन्दान इन्टरनेसनल कम्पनीले विगत आठ महिनादेखि एक छाक खान दिएर एउटा कोठामा १५ जनासम्म राखेको बताए।

रोजगारविहीन भएर अलपत्र परेका नेपाली कामदारहरू आफूले काम गरेको अवधिको पारिश्रमिक उपलब्ध गराउन वा रोजगार दिन माग गरिरहेका छन्। रियादस्थित नेपाली दूतावासले उनीहरू रोजगारविहीन अवस्थामा रहेको जनाएको छ।

‘साउदीमा धेरै नेपाली कामदार रोजगारविहीन भएर बसेका छन्। कम्पनीले बन्धकजस्तो बनाएर धम्की दिने गरेका छन्। तिमीहरूसँग कम्पनीको परिचयपत्र छैन,’ विकले भने। नेपाली कामदारहरूको समस्याप्रति दूतावासले चासो नदिँदा घरको नघाटको भएको विकले गुनासो गरे।

पूर्वी जुबेलमा अलपत्र पाँच सयभन्दा बढी नेपाली कामदारले १४ महिनादेखि तलब पाएका छैनन्। यस विषयमा दूतावासले कम्पनी र साउदीको श्रम विभागसँग कुराकानी गर्न नसकेको नेपाली कामदारहरूको भनाइ छ।

साउदीस्थित नेपाली दूतावासका काउन्सलर कविराज उप्रेतीले समस्यामा परेका नेपाली कामदारलाई स्वदेश फर्काउन पहल भइरहेको बताए। साउदी सरकारबाट प्राप्त हुने बहिर्गमन भिसा (एक्जिट पर्मिट) उपलब्ध गराउन लगाएर समस्यामा परेका नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउन दूतावासले पहल गरिरहेको उनले बताए।

उप्रेतीले साउदीमा कतिपय कम्पनी टाट पल्टिँदो नेपाली कामदार अलपत्र परेको जानकारी दिए। त्यस्ता कामदारको बहिर्गमन भिसा (एक्जिट पर्मिट) नहुँदा तत्काल उद्धारका लागि समस्या हुने उनको भनाइ छ। ‘साउदीको पूर्वी जुबेलमा अलपत्र पाँच सयभन्दा बढी नेपाली कामदारको उद्धारका लागि पहल भइरहेको छ। उनीहरूले पाउनुपर्ने पारिश्रमिक, एक्जिट पर्मिट र अन्य प्रक्रियाबारे साउदीको सम्बन्धित निकायसँग छलफल गरिरहेका छौँ,’ उप्रेतीले भने।

अलपत्र नेपालीलाई नेपाल फर्काउन कम्तीमा एक महिनाको समय लाग्न सक्ने उनको अनुमान छ।

गत वर्ष डिसेम्बर २४ देखि पूर्ण रूपमा बन्द भएको सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरत कामदारले तलब पाएका छैनन्। कम्पनीमा कार्यरत मोरङका सुवास क्षेत्रीका अनुसार कम्पनीमा १६ वर्षदेखि काम गरिरहेका नेपाली कामदार पनि छन्। पछिल्लो एक वर्षदेखि उनीहरू पनि रोजगारविहीन भएर समस्यामा परेको क्षेत्रीको भनाइ छ।

क्षेत्रीले यो कम्पनीको टहरामा बस्न बाध्य भएका नेपाली कामदारलाई साउदीमै कार्यरत अन्य नेपाली र भारतीय कामदारले आर्थिक सहयोग गरिरहेको बताए। ‘नेपालका विभिन्न म्यानपावरमार्फत आएका कामदार अलपत्र छन्। अहिलेसम्म अलपत्र कामदारको अवस्था बुझ्न दूतावासका कर्मचारी आएका छैनन्। म्यानपावर कम्पनी सञ्चालकले फोन नै उठाउँदैनन्,’ उनले भने।

प्रकाशित: २९ वैशाख २०८२ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast