जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउने पक्षमा प्रधानमन्त्री ओली

संस्कृतिमन्त्री पाण्डेले भने- बुद्धको जन्मजयन्ती २६४९ औँ नै हो

विनोद परियार २९ वैशाख २०८२ १५:३९
52
SHARES
जन्ममितिकै आधारमा बुद्धजयन्ती मनाउने पक्षमा प्रधानमन्त्री ओली लुम्बिनीमा सोमबार आयोजित २५६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : विनोद परियार

लुम्बिनी- बुद्धजयन्तीको समयलाई लिएर भइरहेको बहसमा प्रधानमन्त्री केपी शर्मा ओली जन्मका आधारमा मनाउनुपर्ने पक्षमा उभिएका छन्। लुम्बिनीमा सोमबार आयोजित २५६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मजयन्तीको हिसाबले २६४९ औँ रहको दाबी गरेका हुन्।

बुद्धजयन्तीको समयको बारेमा मृत्युको समयदेखि गणना गर्ने कि जन्मेको समयदेखि भन्ने विषयमा बहस भइरहेका बेला प्रधानमन्त्री ओलीले २५६९ औँ बुद्धजयन्ती नभई बुद्ध संवत् भएको बताए।

‘बुद्धको जन्म इसापूर्व ६२३ मा भएको थियो। उहाँले ३५ वर्षमा बुद्धत्व प्राप्त गर्नुभयो, ८० वर्षमा निधन भयो’, प्रधानमन्त्री ओलीले भने, ‘ बुद्ध संवत् २५६९ औँ हो, जन्मको हिसाबले २६४९ औँ बुद्धजयन्ती हो।’ उनले बुद्धको निधन भएको २५६८ वर्ष पूरा भएर २५६९ औँ वर्ष पुगेको बताउँदै जन्मजयन्ती २६४९ नै रहेकाले अन्यालनमा नरहन आग्रह गरे।

प्रधानमन्त्रीको अभिव्यक्तिमा शान्तिका अग्रदूत र महामानव बुद्धको जन्मजयन्ती जन्मकै आधारमा मनाउनुपर्नेमा स्पष्ट पारे। प्रधानमन्त्री ओलीले शान्ति, मानवता र करुणा बुद्धको उपदेश भएकाले यसको गहण सबैले गर्नुपर्ने बताए।

प्रधानमन्त्रीले बुद्धजयन्ती विशेष समारोहमै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका बद्री पाण्डेको ध्यानाकर्षषण गराउँदै आगामी वर्ष २६५० औँ बुद्धजयन्तीका रुपमा मनाउन निर्देशन दिए। मन्त्री पाण्डेले विगतमा बुद्ध धर्मका जानकारलाई राखेर जन्मजयन्ती मनाउँदै आएकोमा आगामी वर्षदेखि जन्मदिनका आधारमा मनाउने प्रतिबद्धता जनाए।

‘बुद्धको जन्मजयन्ती २६४९ औँ नै हो, लुम्बिनी विकास कोषले अर्को वर्षबाट जन्मजयन्ती नै मनाउने प्रतिबद्धता गर्दछु’, उनले भने। राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले वैशाख २१ गते राष्ट्रियसभामा बोल्दै बुद्धजयन्ती जन्मकै आधारमा मनाउनुपर्ने माग गरेकी थिइन्।

बुद्धजयन्तीका विषयमा दुईमत रहँदै आएको छ। लुम्बिनी विकास कोषले ब्यानरदेखि निम्ताकार्डसम्मका २५४९ औँ बुद्धजयन्ती भनेर मनाएको कार्यक्रममा प्रधानमन्त्री र पर्यटनमन्त्री दुवैले जन्मका आधारमा मनाउने प्रतिबद्धता जनाएका हुन्।

लुम्बिनी विकासका कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्वागतका क्रममा जन्मजयन्तीका विषयमा भएको भिन्नभिन्न विचारलाई सबै सम्प्रदायका बुद्धिस्ट समुदाय बसेर टुंग्याउनुपर्ने बताए। उनले समयको विषयमा सरकारले नै टुंग्याएर अर्को वर्ष अन्तर्राष्ट्रिय स्तरका रूपमा मनाउनुपर्ने बताए।

श्रीलंकाको ऐतिहासिक ग्रन्थ दीपवंश र महावंशको ऐतिहासिक र कालक्रमिय विवरणका आधारमा शाक्यमुनि बुद्धको जन्म लुम्बिनीमा इसापूर्व ६२३ वैशाख पूर्णिमाको दिनमा भएको हो । सम्राट् अशोकको शासनकाल एवं पुरातात्त्विक तथ्यका आधारमा बुद्धको जन्ममिति इसापूर्व ६२३ नभई ५६३ मान्ने अधिकांश इतिहासकारहरू छन् । संयुक्त राष्ट्रसंघ र युनेस्कोले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा बुद्धको इसापूर्व ६२३ लाई नै शाक्यमुनि बुद्धको जन्ममिति मानेको छ।

बुद्धको जन्म, मृत्यु र ज्ञानप्राप्ति वैशाख शुक्लपूर्णिका दिन भएकाले त्रिसंयोगका रुपमा मनाउने गरिन्छ। बुद्धजयन्ती विशेष समारोहमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, चीनका राजदूत चेन सोङ, थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्न, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुका, कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बोल्दै बुद्ध उपदेशले विश्वलाई जोड्न बुद्धको उपदेशलाई ग्रहण गर्नुपर्ने बताए।

अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा भएको मूल समरोहमा संघीय मन्त्री, प्रदेशका मन्त्री, सांसदसहित जनप्रतिनिधि, भिक्षुभिक्षुणी, लामा गुरुमा, उपासक उपासिकाहरुको उपस्थिति रहेको छ। मूल समारोह अघि बिहान शान्ति र्‍याली निकालिएको थियो। लुम्बिनीसँगै बुद्धजयन्तीका अवसरमा रामगाम, कपिलवस्तु र देवदहमा पनि विभिन्न कार्यक्रम गरिएको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०८२ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast