
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिंदै उनले शिक्षामा सुधारका लागि ठोस योजना अघि सारिएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रणाली लागू गर्ने नीति ल्याइएको उल्लेख गर्दै भने, ‘इन्टर्नको प्रयोग नयाँ योजना हो। ‘कमाउँदै-पढ्दै’ नारालाई व्यवहारिक बनाउँदै अब स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई अनुसन्धान संस्थामा आबद्ध गरिनेछ।’ उनले यस्तो अभ्यासले शिक्षा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार विद्यार्थीहरूले हप्तामा बढीमा २० घण्टा काम गर्न पाउनेछन् र न्यूनतम पारिश्रमिक पनि निश्चित गरिनेछ। प्रधानमन्त्री ओलीले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नयाँ मार्गचित्र तयार पारिने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय तथा जीवन उपयोगी बनाउने नीति अपनाइएको बताए।
उनले विद्यालय तहमा ग्रेडिङ प्रणाली लागू गर्ने नीति पनि अघि सारिएको जानकारी गराउँदै भने, ‘ग्रेडिङ प्रणालीलाई रोजगारीमैत्री प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ र उच्च ग्रेडिङलाई उच्च शिक्षातर्फ अग्रसर गराउने व्यवस्था गरिनेछ।’
प्रधानमन्त्रीले विद्यमान शिक्षा प्रणालीलाई आधुनिक, विज्ञान-प्रविधिमैत्री तथा अनुसन्धानमुखी बनाउँदै उद्यमशीलता अभिवृद्धि गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे।