
काठमाडौँ- संघीय लोकतान्त्रिक मोर्चाको पहिलो बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बस्ने भएको छ ।
जेठ १ गते लोसपा नेपालको कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल गर्नुको साथै आगामी कार्ययोजनाहरु तय गर्ने बताइएको छ। लोसपा नेपालका महासचिव मनिष मिश्रका अनुसार बैठकले मोर्चाको अगामी कार्यदिशा तथा योजनाहरू तय गर्नेछ।
संविधान संशोधनको एजेन्डामा दबाब बढाउने उद्देश्यले मधेस केन्द्रित सात दलले चैत २१ गते मोर्चा घोषणा गरेका थिए।
मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन्। काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले मोर्चा घोषणा गरेका हुन्।