
काठमाडौँ- भारतीय वायुसेनाले अभियान अहिले जारी रहेको जनाएको छ।
आइतबार सामाजिक सञ्जाल एक्समा ‘अभियान अहिले जारी रहेको र उपयुक्त समयमा थप जानकारी दिइने’ बताएको हो।
वायुसेनाले सामाजिक सञ्जालमा लेखेको छ,‘भारतीय वायुसेनाले अपरेसन सिन्दूरमा आफूले पाएको जिम्मेवारी सटिक र व्यवसायिक ढंगबाट सफलतापूर्वक पूरा गरेको छ। यो अभियानलाई राष्ट्रिय उद्देश्यका लागि विवेकपूर्ण ढंगबाट सञ्चालन गरियो।’
अपरेसन अहिले जारी रहेको र यसबारे थप जानकारी उपयुक्त समयमा दिइने वायुसेनाले जनाएको छ।
‘अपरेसन अहिले जारी छ, त्यसैले थप जानकारी पछि दिनेछौँ। भारतीय वायुसेना सबैखाले अड्कलबाजी र झुटा जानकारीहरूबाट जोगिन अनुरोध गर्दछ,’ वायुसेनाले सामाजिक सञ्जालमा लेखेको छ।
पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले ७ मेको राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा एयर स्ट्राइक गरेको थियो। जसपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो।
यसपछि दुवै देशले एकअर्काको सैन्यस्थलमा आक्रमण गरेको दाबी गरेको छ। शनिबार साँझ भारत र पाकिस्तानले संघर्षविरामको घोषणा गरेको थियो।