भारतबाट ‘सगरामाथा संवाद’ का लागि नेपाललाई १५ विद्युतीय सवारीसाधन प्रदान

हिमाल प्रेस २८ वैशाख २०८२ १५:०५
36
SHARES
भारतबाट ‘सगरामाथा संवाद’ का लागि नेपाललाई १५ विद्युतीय सवारीसाधन प्रदान

काठमाडौँ– भारत सरकारले नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन प्रदान गरेको छ।

आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासमा आयोजित एक कार्यक्रममा राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई विद्युतीय सवारीसाधन हस्तान्तरण गरेका हुन्।

आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको सफल सञ्चालनका लागि नेपाल सरकारलाई आवश्यक पर्ने सहायक उपकरणका रूपमा प्रदान गरिएको दूतावासले जनाएको छ।

सगरमाथा संवादअन्तर्गत यस वर्षको विषयवस्तु ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ रहेको छ।

नेपाल सरकारको अनुरोधमा प्रदान गरिएका यी विद्युतीय सवारीसाधनहरू सगरमाथा संवाद सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार व्यवस्थापनमा थप सहयोग पु¥याउने दूतावासले विश्वास लिएको छ।

सवारी हस्तान्तरण समारोहमा राजदूत श्रीवास्तवले संवाद अवधिभर विशिष्ट पाहुना र अधिकारीहरूको सहज आवागमनका लागि यी सवारीसाधन उपयोगी हुने बताए।

यसक्रममा उनले २०७४ सालमा नेपालमा सम्पन्न संघीय तथा प्रादेशिक निर्वाचनका क्रममा भारतले सुरक्षा निकाय र निर्वाचन आयोगलाई प्रदान गरेको सहयोगसमेत स्मरण गरे। राजदूत श्रीवास्तवले भारत सधैँ नेपालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

सवारीसाधनहरू प्राप्त गर्दै परराष्ट्रमन्त्री राणाले सगरमाथा संवाद सफलतापूर्वक सञ्चालन गर्न भारतले प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गरिन्। उनले भारत नेपालको सबैभन्दा पुराना र विश्वासिला विकास साझेदारमध्ये एक रहेको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast