
काठमाडौँ- भारत र पाकिस्तानबीच पटकपटक भइरहने सैन्य संघर्ष कुनै नौलो घटना होइन। सन् १९४७ देखि चल्दै आएको आपसी मतभेदले पछिल्लो ७८ वर्षमा तीनपटक लडाइँको रूप लिइसकेको छ।
पछिल्लो समय ७ मेदेखि भारत-पाकिस्तानबीच तनाव उत्पन्न भयो। तीन दिनको भीषण गोलीबारीपछि एक्कासि विराम विन्दुमा पुग्यो। कतिपयले यसपटकको संघर्ष युद्धमा परिणत हुँदाहुँदै जोगिएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि साउदी अरबका विदेशमन्त्रीले भारत र पाकिस्तानसँग संवाद गरेर संघर्षविरामको रेखा कोरिदिएका छन्।
यसपालिको सीमा संघर्ष भारतको जम्मु-कस्मिरस्थित पहलगाममा पर्यटकमाथि भएको आतंकवादी आक्रमणबाट भयो। आक्रमणपछाडि पाकिस्तानको हात रहेकोमा भारत ढुक्क थियो। पाकिस्तानले भने यस्तो आरोप खारेज गरेको थियो।
दुवै मुलुकबीच यसअघि पनि कस्मिरमा भएका आतंकवादी आक्रमणलाई लिएर संघर्ष भइसकेको छ। बालाकोट होस् वा पुलवामा दुवै भएका दुवै संघर्ष चाँडै शान्त भएका थिए।
युद्धको नजिक पुगेर पनि किन संयम अपनाउँछन् भारत-पाकिस्तान? यी दुई देशको लडाइँ विश्वका अन्य मुलुकभन्दा कसरी फरक छ?
परमाणु हतियार
परमाणु हतियारले भारत र पाकिस्तानको तनावमा महत्त्वपूर्ण भूमिका वहन गर्दै आएको छ। दुवै देशबीच लामो समयदेखि सीमामा तनाव रहे पनि स्थिति नियन्त्रणमा आउने गरेको छ। समाचार एजेन्सी एपीलाई दिएको अन्तर्वार्तामा पाकिस्तानका सुरक्षा विशेषज्ञ सइद मोहम्मद अलीले भने, ‘दुवै देशसँग पर्याप्त मात्रामा परमाणु हतियार छन्। परमाणु हतियारको संख्या यति धेरै छ कि चाहे भने दुवैले एकअर्कालाई कैयौँपटक अन्त्य गर्न सक्छन्््। दुवैले एकअर्काको विनाश गर्ने क्षमता राखेका छन्।’
अलीले दुवै देशले विचार पुर्याएरै समान परमाणु क्षमता बनाएको दाबी गरे।
भारतका आवकाश प्राप्त कूटनीतिज्ञ सइद अकबरुद्दिन भारत र पाकिस्तान सधैँ आफ्ना नागरिकलाई युद्धबाट टाढा राख्ने प्रयास गरेको बताउँछन्।
उनले भने, ‘भारत र पाकिस्तान परमाणु हतियार हासिल गर्नुअघिदेखि नागरिकलाई युद्धबाहिर राख्ने गरेका थिए। तर पाकिस्तानले आतंकवादलाई युद्धको माध्यम बनाएको छ, जसले आमनागरिकलाई निसाना बनाउँदै आएको छ।’
दुवै देश आफूसँग भएका परमाणु क्षमताको खुलासा गरेका छैनन्। दुवै मुलुकसँग १७० देखि १८० एटम बम रहेको अनुमान गरिएको छ। यी एटम बम मिसाइलको प्रयोग गरेर कम दूरी, लामो दूरी र मध्यम दूरीसम्म प्रहार गर्न सकिने बताइन्छ। दुवै देशसँग छुट्टाछुट्टै विशेष उपकरण छन्, जसका माध्यमबाट यी हतियारलाई लक्ष्यसम्म पुर्याउन सकिन्छ।
भीषण युद्ध भएमा दुवै देशमा एकैखाले विनाश निम्तिन सक्नेमा दुवै देशका सरकार जानकार छन्। यसैकारण पटकपटक संघर्ष भए पनि दुवै मुलुक संयम अपनाउन बाध्य हुने गरेका छन्।
दुवै मुलुकमध्ये कसले पहिले परमाणु आक्रमण झेलेर जवाफी कारबाही गर्ने भन्नेबारे प्रस्ट नरहेको अली बताउँछन्।
सैन्य भाषामा यसलाई ‘सेकेन्ड स्ट्राइक केपेबिलिटी’ भन्ने गरिन्छ। यो प्रस्ट नभएकै कारण परमाणु हतियार प्रयोग गर्नबाट दुवै मुलुक बच्ने गरेका छन्। यही अन्योलले भारत र पाकिस्तानलाई एकअर्कामाथि परमाणु हतियार प्रयोग गर्नबाट रोकिरहेको जानकारहरूको भनाइ छ।
कस्मिर मुद्दा
भारत र पाकिस्तान सन् १९४७ देखि कस्मिरमाथि आफ्नो दाबी गर्दै आइरहेका छन्। दुवै देश कस्मिरको एक भागमा शासन गरिरहेका छन्। उल्लेख्य संख्यामा सेनाको उपस्थिति रहेको सीमा र नियन्त्रण रेखाले दुवै मुलुकलाई छुट्ट्याएको छ।
दुवै मुलुकले अहिलेसम्म तीनपटक युद्ध लडिसकेका छन, जसमध्ये कस्मिर मुद्दालाई लिएर दुईपटक युद्ध भएको छ। कस्मिरमा दुवैतर्फ केहीले भारतीय शासन चाहन्छ, केहीले पाकिस्तानी र केही कस्मिरलाई छुट्टै देश बनाउनुपर्ने तर्क गर्छन्। [डीडब्ल्यूको सहयोगमा]