शिक्षक आन्दोलनको क्षतिपूर्ति : हिउँदे वा बर्खे बिदामा कक्षा सञ्चालन गर्न महासंघको आग्रह

हिमाल प्रेस २८ वैशाख २०८२ १०:३१
740
SHARES
शिक्षक आन्दोलनको क्षतिपूर्ति : हिउँदे वा बर्खे बिदामा कक्षा सञ्चालन गर्न महासंघको आग्रह

काठमाडौँ- नेपाल शिक्षक महासंघले हालै सम्पन्न ८९ दिन लामो आन्दोलनका क्रममा विद्यालयको भर्ना प्रक्रिया र पठनपाठन अवरुद्ध भएको स्वीकार गर्दै त्यसबाट विद्यार्थीमा परेको असरको क्षतिपूर्ति गर्न आग्रह गरेको छ। महासंघले शिक्षक–कर्मचारीहरूलाई हिउँदे वा बर्खे बिदाको समय उपयोग गरी प्रभावित पढाइ पूर्ति गर्न अपिल गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शैक्षिक आन्दोलन ऐतिहासिक भएको जनाउँदै शिक्षा क्षेत्रको सुधारका लागि सबैलाई एकजुट भएर विद्यार्थीको हितमा काम गर्न अनुरोध गरे। ‘आन्दोलन आवश्यक थियो तर त्यसले विद्यार्थीलाई असर पार्न नदिन अब हामी सबै जिम्मेवार बन्नुपर्छ,’ सुवेदीले भने।

वि.सं. २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन ८९ दिनसम्म सञ्चालन भएको थियो। आन्दोलनकै क्रममा २९ दिनसम्म काठमाडौँमा शान्तिपूर्ण शैक्षिक सडक प्रदर्शन सञ्चालन गरिएको थियो। महासंघका अनुसार आन्दोलनको दबाबमा विगतमा सहमति भई कार्यान्वयनमा नआएका निर्णयहरू मन्त्रिपरिषद्बाट कार्यान्वयनमा ल्याइएको छ। साथै, विद्यालय शिक्षा विधेयक २०८२ असार १५ भित्र प्रतिनिधिसभाबाट पारित हुने सुनिश्चित भइसकेको छ।

महासचिव तुलाबहादुर थापाले आन्दोलन सफल भएको जनाउँदै अबको प्राथमिकता पठनपाठनको पूर्ति र विद्यार्थीको हितमा केन्द्रित हुनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast