
काठमाडौँ– जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि पछिल्लो समय बढेको तनावका बीच पाकिस्तानले लगाएका आरोपहरूलाई भारतले खण्डन गरेको छ।
भारतले सुरू गरेको ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने उद्देश्यले शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिसरीले पाकिस्तानले लगाएका आरोपहरूको खण्डन गरेका हुन्।
विदेश सचिव मिसरीले पाकिस्तान सरकारका तर्फबाट लगाइएका ‘झुटा आरोप र दाबीबाट भ्रमित नहुन’ अपिल गरेका छन्। पत्रकार सम्मेलनमा उनले भारतका महत्वपूर्ण पूर्वाधारहरूमाथि आक्रमण गरेर नष्ट पारेको पाकिस्तानको आरोप झुटो रहेको बताए।
‘भारतका महत्वपूर्ण ढाँचाहरू, ऊर्जा प्रणाली, साइबर प्रणाली आदिमाथि आक्रमण गरेर नष्ट पारिएको पाकिस्तानले लगाएको आरोप पूर्णरूपले झुटो हो,’ मिसरीले भने,‘म तपार्ईँहरूसँग अपिल गरिरहेको छु, कृपया पाकिस्तान सरकारद्वारा फैलाइएको झुटो खबरबाट भ्रमित नहुनुस्।’
भारतले श्री अमृतसर साहिबमाथि मिसाइल प्रहार गरेको पाकिस्तानको आरोप पनि झुटो रहेको उनले बताए।
‘पाकिस्तानी अधिकारीका तर्फबाट हास्यास्पद दाबी गरिएको छ कि भारतले श्री अमृतसर साहिबमाथि मिसाइल प्रहार गर्यो। भारतलाई विभाजित गर्ने यस्ता प्रयासहरू निश्चित रूपमा विफल हुनेछ,’ उनले भने।
त्यस्तै भारतले अफगानिस्तानमा पनि मिसाइल प्रहार गरेको आरोप पाकिस्तानले लगाएको थियो। विदेश सचिव मिसरीले पाकिस्तानको यो आरोपलाई पनि झुटो भनेका छन्।
उनले भने,‘यो निराधार आरोप हो। पछिल्लो साढे एक वर्षमा अफगानिस्तानी नागरिक र त्यहाँका पूर्वाधारहरूमाथि कसले निशाना बनायो म केवल अफगानी नागरिकलाई यो स्मरण गराउन चाहन्छु।’
भारतीय जनताले आफ्नो सरकारप्रति आलोचना गरेको देखेर पाकिस्तानी सेनाका प्रवक्ताले आनन्द लिएको टिप्पणीहरू केही टेलिभिजन प्रसारणहरूमा देखिएकोप्रति पनि विदेश सचिव मिसरीले प्रतिक्रिया दिएका छन्।
‘सरकारप्रतिको आलोचना सक्रिय प्रजातन्त्रको पहिचान हो र पाकिस्तानलाई यस्ता अभ्यासहरू नौलो लाग्नु कुनै आश्चर्यको कुरा होइन,’ उनले भने।
पाकिस्तानले भारतको जम्मु–कश्मीर र पञ्जाब राज्यमा नागरिक र नागरिक पूर्वाधारलाई लक्षित गर्दै आपत्तिजनक ढंगबाट आक्रमणको प्रयास गरेको भारतले आरोप लगाएको छ।
पाकिस्तानका तर्फबाट भएका आक्रमणमा जम्मु–कश्मीर र पञ्जाबका सर्वसाधारण नागरिकलाई लक्षित गरिएको भारतले बताएको छ। पछिल्लो समय फिरोजपुर र जलन्धनलगायतका स्थानहरूमा निजी सम्पत्तिमा क्षति पुग्नुका साथै सर्वसाधरण घाइते भएको भारतको भनाइ छ।
पत्रकार सम्मेलनमा विंग कमाण्डर व्योमिका सिंहले पाकिस्तानले ठूलो संख्यामा आफ्ना सेनालाई सीमानजिक भेला गरिरहेको र यो स्थितिलाई थप चर्काउने प्रयास स्वरूप गरिएको बताइन्।
भारतीय सशस्त्र बलहरू उच्चस्तरको परिचालनको तयारीमा रहेको उनको भनाइ छ। भारतीय पक्षले हालसम्म भएका सबै दुस्प्रवृत्त गतिविधिहरूलाई प्रभावकारी रूपमा प्रतिकार गर्दै आवश्यक जवाफ दिएको उनले बताइन्।
भारतीय सेना तनाव नचर्काउन प्रतिबद्ध रहेको र यसका लागि पाकिस्तान सेनाले पनि उस्तै प्रतिबद्धता देखाउनुपर्ने सिंहले उल्लेख गरिन्।
त्यस्तै कर्नल सोफिया कुरैशीले पाकिस्तानले भारतीय सैन्य अड्डाहरूलाई लक्षित गरेपछि भारतीय सशस्त्र बलहरूले छिटो र रणनीतिक रूपमा आक्रमण गरेको बताइन्।
हतियार र लडाकु विमान प्रयोग गरिएका यी आक्रमणहरूबाट पाकिस्तानका सैन्यस्थलहरूमा ठूलो क्षति पुगेको उनले बताइन्।
कर्नल कुरैशीले पाकिस्तानले अन्तर्राष्ट्रिय हवाईमार्गको दुरुपयोग गर्दै लाहोरबाट उड्ने नागरिक विमानहरूको आडमा आफ्ना सैन्य गतिविधि लुकाउने प्रयास गरेको जिकिर गरिन्। उनले यो गतिविधि अन्तर्राष्ट्रिय नियमविपरितको गम्भीर विषय भएको उल्लेख गरेकी छन्।
पाकिस्तानी सेनाले भारतको पश्चिमी सीमामा आक्रामक गतिविधिहरू तीब्र बनाएको बताउँदै कुरैशीले ड्रोन, लामो दूरीका मिसाइल, लडाकु हतियार र लडाकु विमान प्रयोग गरेर भारतीय सैन्य संरचनालाई लक्षित गरेको उल्लेख गरिन्।
उनले पाकिस्तानका तर्फबाट भएका सबै प्रयासहरूलाई भारतले असफल तुल्याएको दाबी गरिन्।
अन्तर्राष्ट्रिय सीमा र नियन्त्रण रेखामा २६ भन्दा बढी स्थानमा हवाई घुसपैठका प्रयास गरिए पनि भारतीय सशस्त्र बलले समयमै निष्क्रिय पार्न सफल भएको उनले बताइन्।
कर्नल कुरैशीले भारतीय सुरक्षाबल उच्च सतकर्तमा रहेको र सबै खालका आक्रमणहरूको प्रभावकारी रूपमा प्रतिकार गर्न तयार रहेको प्रस्ट पारेकी छन्।