
काठमाडौँ- आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ। वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो। नेपालले यस जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ।
नेपालको जितमा ओपनर कविता कुँवरले ११ बलमा ४ चौकासहित १८ रनको योगदान दिइन्। अर्की ओपनर सम्झना खड्काले १० बलमा १३ रन जोडिन्। कप्तान इन्दु वर्मा ५ बलमा ७ रन जोड्दै नटआउट रहिन्। कविता भने रनआउट भएकी थिइन्।
त्यसअघि टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको बहराइनले १ विकेट गुमाएर ४१ रन जोडेको थियो। बहराइनका लागि दीपिका रसंगिकाले १३ बलमा नटआउट ३४ रन बनाइन्। उनले ६ चौका र १ छक्का प्रहार गरिन्।
नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो। नेपालको ३ अंक पुग्दा हङकङको १ अंक छ। अब नेपालले मंगलबार हङकङ र विहीबार बहराइनसँग खेल्नेछ। समूहका २ टोलीले एक आपसमा २-२ खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्ने प्रावधान छ। तीनै समूहको शीर्ष टोलीले सुपर थ्रीमा प्रतिस्पर्धा गरेपछि शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।