पाकिस्तानले बिहीबार राति ३००–४०० ड्रोनले आक्रमण गर्‍यो : भारत

हिमाल प्रेस २६ वैशाख २०८२ २०:०४
94
SHARES
पाकिस्तानले बिहीबार राति ३००–४०० ड्रोनले आक्रमण गर्‍यो : भारत

काठमाडौँ– बिहीबार राति पाकिस्तानले तीन सयदेखि चार सयको संख्यामा ड्रोन आक्रमण गरेको भारतले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नल सोफिया कुरैशीले भारतको विभिन्न भागमा पाकिस्तानको तर्फबाट भएको आक्रमणमा यो संख्यामा ड्रोन प्रहार भएको जानकारी दिएकी हुन्।

उनले भनिन्,‘पाकिस्तानको तर्फबाट तीन सयदेखि चार सय ड्रोन प्रहार भएको थियो।’

पाकिस्तानका रक्षामन्त्रीले भने आक्रमण भएको भन्ने विषय अस्वीकार गरेका थिए।

कर्नल सोफियाले भनिन्,‘लेहदेखि सरक्रिकसम्म ३६ स्थानमा तीन सयदेखि चार सय ड्रोनमार्फत घुसपैठको प्रयास भएको थियो। भारतीय सुरक्षाबलले काइनेटिक र ननकाइनेटिक साधन प्रयोग गरेर अधिकांश ड्रोनलाई निष्क्रिय पार्‍यो।’

नष्ट पारिएका ड्रोनको फरेन्सिक जाँच भइरहेको बताउँदै उनले प्रारम्भिक परीक्षणबाट यी ड्रोनहरू टर्कीमा तयार पारिएको जानकारी दिइन्।

‘यति ठूलो संख्यामा हवाई घुसपैठको सम्भावित उद्देश्य हवाई रक्षा प्रणालीको परीक्षण गर्नु र गोप्य जानकारी प्राप्त गर्ने थियो। नष्ट पारिएका ड्रोनको फरेन्सिक परीक्षण भइरहेको छ। प्रारम्भिक परीक्षणबाट यी ड्रोन टर्कीमा निर्माण गरिएको बुझिएको छ,’ कर्नल कुरैशीले भनिन्।

पाकिस्तानको तर्फबाट सीमामा भारी गोलीबारी भइरहेको जसमा भारतीय सेनाका केही जवान हताहत भएको उनले बताइन्। कर्नल सोफियाले भारतको जवाफी कारबाहीमा पाकिस्तानलाई ठूलो क्षति भएको जानकारी दिइन्।

प्रकाशित: २६ वैशाख २०८२ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast