
इटहरी– छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढेको द्वन्द्वका कारण नेपालका सीमा क्षेत्रमा कडाई पारिएको छ। कोशी प्रदेशका विभिन्न सीमा नाकामा चेकजाँच कडा पारिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता, एसएसपी भीमबहादुर दाहालका अनुसार भारतसँग सीमा जोडिएका कोशी प्रदेशका विभिन्न नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
‘अहिले सुरक्षा व्यवस्था कडाई पारिएको छ,’ एसएसपी दाहालले भने, ‘सीमा नाकामा सर्तकता अपनाइएको छ। सोहीअनुसार चेकजाँच पनि भइरहेको छ।’
उनले सीमा नाकामा सुरक्षाकर्मीले गोप्य हिसाबाट समेत ‘मुभमेन्ट’ गरिरहेको बताए।
सुनसरीको भण्टाभारी नाका, मोरङको जोगवनी नाका, झापाको काँकडभिट्टा र भद्रपुर नाका, इलामको पशुपतिनगर नाकामा चेकजाँच थप व्यवस्थित र कडाई पारिएको सशस्त्र प्रहरीको भनाइ छ। केही दिनयता भारत र पाकिस्तानबीच देखिएको द्वन्द्वका कारण सीमा नाकामा देखिने सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै चेकजाँच कडाई पारिएको हो।
सुनसरीको ६२ किलोमिटर खुला सीमा भारतसँग जोडिएको छ। जिल्लाको कोशी ब्यारेजदेखि अमडुवा हुँदै भारतको सुपौल र अररिया जिल्लासँग जोडिएका नाका तथा आसपासका क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ।सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीका १३ र सशस्त्र प्रहरी बलका ११ स्थायी युनिटहरू खटिएका छन्।
मोरङमा सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) ऋषिकेष राउतको कमान्डमा सीमा क्षेत्रमा करिब एक सय सशस्त्र प्रहरी खटिएका छन्।
खासगरी मुख्य नाकालाई ठूलो भन्सार भनिन्छ भने अन्य नाकालाई छोटी भन्सार भनिने गरेको छ। सानोतिनो ‘एक्सेस’ भएको क्षेत्रलाई छोटी भन्सार भनिने र त्यस क्षेत्रमा भने मालवाहक सवारी साधन आवतजावत नहुने हुनाले ठूला नाकामा सशस्त्र प्रहरीले आफ्ना सुरक्षाकर्मी बढाएको छ।
सशस्त्र प्रहरी बल नेपाल, नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीका सूचना अधिकृत एसएसपी सुधरीजङ्ग थापाका अनुसार मालवाहक आवतजावत गर्ने ठूला नाका मोरङको जोगवनी र झापाको काकडभिट्टामा सुरक्षा व्यवस्था थप कडाई पारिएको छ।
खासगरी काँकडभिट्टा र जोगबनीबाट बंगलादेशी नागरिक प्रवेश गर्नसक्ने भएका कारण यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए।
‘भारत पाकिस्तानबीच तनाव बढेसँगै सीमा क्षेत्रमा कडिकडाउ गरेका छौँ,’ थापाले भने, ‘सीमाबाट आवतजावत गर्ने मानिसको अभिलेख राख्ने, व्यापक गस्ती बढाएर निगरानी गर्नेलगायतका सुरक्षा व्यवस्था बनाएका छौँ।’
खासगरी सशस्त्र प्रहरीले अधिकतम सुरक्षार्मी परिचालन गरेको उनले बताए। मुख्य नाकाबाहेक अन्य नाकामासमेत सुरक्षाकर्मी बढाइएको उनको भनाइ छ।
भारतीय नागरिकलाई नेपाल प्रवेश गर्नका निम्ति रोक नलगाइएको उनले जनाए।
यद्यपि, परिचयपत्र भने अनिवार्य गरिएको छ। नेपाल प्रवेश गर्ने भारतीय नागरिकले आफ्नो परिचय अनिवार्य खुलाउनुपर्ने उनको भनाइ छ।
‘मालबाहक गाडी आवतजावत गर्ने क्षेत्रमा सुरक्षा व्यवस्था फोकस गरिएको छ,’ उनले भने, ‘सीमा क्षेत्र हुँदै नेपाल–भारत आवतजावत गर्ने व्यक्तिहरूलाई सरकारी परिचयपत्र अनिवार्य गरिएको छ। खुल्ला सीमाबाट आवतजावत गर्ने व्यक्तिहरूको विस्तृत विवरण राख्ने व्यवस्थासमेत गरिएको छ।’
भारतीय नागरिकलाई आवतजावतमा रोक नभए पनि बंगलादेशबाट आउने नागरिकलाई कडाई गरिएको छ। खासगरी सीमा क्षेत्रमा उच्च सर्तकता अपनाइएको सूचना अधिकृत थापाले बताए।
उनले थपे, ‘आवतजावत गर्ने व्यक्तिको परिचयपत्र हेर्ने, खानतलासी गर्ने र डिटेलमा बुझ्ने काम गरिरहेका छौँ।’
कोशीमा विद्यमान सुरक्षा व्यवस्थामा कडाई र निगरानी बढाइएसँगै कुनै अप्रिय र अवाञ्छित गतिवधि हुन नदिन सशस्त्रले सीमा नाकामा सुरक्षा बढाएको उनले बताए।
भारतीय सेनाले गत बुधबार पाकिस्तान प्रशासित कस्मिरमा क्षेप्यास्त्र खसालेपछि यो आक्रमणलाई भारतले अप्रिल २२ को घटनाको बदला मानेको छ। भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ का दिन आतंकवादी आक्रमण भएको थियो। जसमा परेर २६ जनाले ज्यान गुमाएका थिए।
पाकिस्तानले भारत प्रशासित जम्मु सहरलगायतका भू–भागहरूमा ड्रोन र मिसाइल आक्रमण गरेपछि भारत–पाकिस्तान द्धन्द्ध उत्कर्षमा पुग्ने संकेत गर्दै नेपालमा विभिन्न सीमामा सुरक्षा व्यवस्थामा सतर्कता अपनाइएको छ।
तस्बिरहरू : सशस्त्र प्रहरी