
काठमाडौँ- आज वैशाखको अन्तिम शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।
साताको प्रत्येक शुक्रबार हलमा नयाँ हिन्दी, नेपाली र अंग्रेजी फिल्म प्रदर्शन भइरहन्छ। यो साता दुई नेपाली फिल्म चलेको छ, ‘जार’ र ‘ऊनको स्वीटर’।
यी बाहेक पनि हिन्दी र नेपाली फिल्म चलिरहेको छ। त्यस्तै थिएटरमा ‘वायुपङ्खी बफेलो’, ‘उर्फ दारासिंह’ र ‘कथा-एक’ गरी तीन नाटक मञ्चनरत छ। अन्य पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, सांगीतिक कार्यक्रम पनि रहेको छ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
उपत्यकामा केके हुँदै छ त हेरौं,
पब्लिेकसन नेपालयको पुस्तक मेला र कृति लोकार्पण
पब्लिकेसन नेपालयको दुई दिने पुस्तक मेला आजदेखि सुरु हुँदैछ। मेलामा जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ लोकार्पण पनि हुनेछ। कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। स्थापनाको २० वर्ष पुगेको अवसरमा आयोजित मेलामा नेपालयले विशेष छुटमा आफ्नो पुस्तक बिक्री गरिरहेको छ।
कला परिषद्मा ‘पेटका केही कुरा’ प्रदर्शन
बबरमहलस्थित नेपाल कला परिषद् मा ‘पेटका केही कुरा’ शीर्षकमा प्रदर्शनी चलिरहेको छ। प्रदर्शनीमा अस्मिता वादी, श्रद्दा देवकोटा, इरिना गिरी, उज्जला महर्जन, तिप्ती तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रेचल लोभाका सिर्जना प्रस्तुत गरिएको छ। उनीहरूका सिर्जनामार्फत पुस्तौंदेखि आमा–छोरीबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ। वैशाख १९ देखि सुरु भएको प्रदर्शनी जेठ २ सम्म चल्नेछ। प्रदर्शनी बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहनेछ। लक्स एण्ड साउथ एसिया प्रोजेक्टले आयोजना गरेको प्रदर्शनीमा प्रवेश निःशुल्क छ।
कथा घेरामा ‘वायुपङ्खी बफेलो’
टेकुस्थित कौशी थिएटरमा नाटक ‘वायुपङ्खी बफेलो’ मञ्चन भइरहेको छ। वैशाख १८ देखि मञ्चनरत नाटकका लेखक तथा निर्देशक छितिज पराजुली हुन्। नेपाल छोड्ने युवापुस्ताको कथा प्रस्तुत गरिएको नाटकमा निशान खत्री, ऋषिकेश बस्याल, शिला निरौला र कविर काफ्काले अभिनय गरेका छन्। यही २९ वैशाखसम्म मञ्चन हुने नाटकको आज दुई सो मञ्चन हुनेछ। दिउँसो १ र साँझ ५ :२० बजे।
मण्डलामा ‘उर्फ दारासिंह’
थापागाउँस्थित मण्डला थिएटरमा वैशाख १६ नाटक ‘उर्फ दारासिंह’ मञ्चन भइरहेको छ। चेतन आङ्थुपोले निर्देशन गरेको नाटक दारासिंह अर्थात् कर्ण बहादुर केरुङको कथामा आधारित छ। सुमन लिङ्देनको कथा रहेको नाटकमा पञ्चायतकालीन समयको झोडा आन्दोलनमा कर्ण बहादुर केरुङको भूमिकाबारे देखाइएको छ।
आगामी जेठ ११ सम्म मञ्चन हुने नाटकमा कलाकार आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मन कुमार योङहाङ, दावा शेर्पा, मनी के।राई, नुमा राई, सम्पदा थुलुङ, मनिक शंकर, प्रविन भण्डारी, सञ्जित थुलुङ, अजय लामा, युगल लिम्बू, पवन गोले, युगल श्रेष्ठ र उज्वल राईले अभिनय गरेका छन्। चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे मञ्चन हुनेछ।
‘कथा-एक’
थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘कथा–एक’ मञ्चन भइरहेको छ। वैशाख १२ देखि मञ्चन भइरहेको नाटक सम्बन्धको कथामा आधारित छ। नाटकका निर्देशक अनुप न्यौपाने हुन्। निर्देशक न्यौपानेसहित प्रेम शिलवाल विश्वकर्माले नाटकको कथा लेखेका छन्। नाटकमा वेदना राई, प्रेम शिलवाल विश्वकर्मा, मिलन कार्की, सम्योग गुरागाईं, सनम श्रेष्ठ, कृस्टिना बस्नेत र अजय कार्कीको अभिनय छ। शनिबार दिउँसो ३ बजे र साँझ ६ः३० बजे दुई सो हुँदैछ।
हलमा कुन कुन फिल्म?
जार
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’ हो। यो उनको कथासंग्रह ‘विपना कतिपय’ मा संकलित छ। वैशाख २६ देखि प्रदर्शनरत फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। फिल्मको मुख्य भूमिकामासौगात मल्ल, अनूप विक्रम शाही, गीताञ्जली थापा छन्। फिल्ममा तत्कालीन समयको शासन व्यवस्थाले जारलाई दिने सजायको कथा प्रस्तुत गरिएको छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, दरबार सिनेक्याक्स, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको १५ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, बिएसआर मुभिज, सिके सिनेमाज, विश्वज्योति हल, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘जार’ चलिरहेको अन्य हल हुन्।
ऊनको स्वीटर
वैशाख २६ देखि हलमा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ। फिल्म नवीन चौहानको लेखन र निर्देशनमा बनेको छ। यो उनको डेब्यु फिचर फिल्म हो। प्रेम कथामा आधारित फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्समा फिल्मको ३४ सो छ। उपत्यकाका आईएनआई सिनेमाअन्तर्गत आइप्लेक्स मल र लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनरत छ।
देवी
वैशाख २० देखि हलमा डकुमेन्ट्री फिल्म ‘देवी’ प्रदर्शन भइरहेको छ। फिल्ममा जनयुद्धमा बलात्कार र यौनजन्य हिंसाको सिकार भएका महिलाहरुको कथा समेटिएको छ। निर्देशक सुविना श्रेष्ठ निर्देशित फिल्म देवी खड्काको वास्तविक कथा हो।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको सिभिल मलमा फिल्मको सो छ।
हिट : द थर्ड केस
बलिउड फिल्म ‘हिट : द थर्ड केस’ मे १ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, क्राइम र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक शैलेश कोलानु हुन्। फिल्ममा विजय सेतुपति, नानी, आदिवी शेष मुख्य भूमिकामा छन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मलमा फिल्मको फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, सिटी सिनेमाज, विश्वज्योति हलमा फिल्म चलिरहेको छ।
रेड-२
बलिउड फिल्म ‘रेड-२’ नेपालमा प्रदर्शन भइरहेको छ। वैशाख १८ देखि प्रदर्शनरत फिल्मका निर्देशक राजकुमार गुप्ता हुन्। क्राइम र थ्रिलर जनरामा बनेको फिल्ममा अजय देवगन, वाणी कपूर र रितेश देशमुखको मुख्य भूमिका छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिटी स्वायर मल र लबिम मलमा फिल्मको १२ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिडिसी सिनेमाज, सिटी सिनेमाजमा फिल्म चलिरहेको छ।
थ्रि डि : थन्डरबोल्ट्स
हलिउड फिल्म ‘थन्डरबोल्ट्स’ वैशाख १९ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म एक्सन एडभेञ्चर र क्राइम जनरामा बनेको छ। फिल्मका निर्देशक जेक स्क्रियर हुन्। फिल्ममा फ्लोरेन्स पग, सेबास्टियन स्टेन, राहेल वेइज मुख्य भूमिकामा छन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको १३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाजमा फिल्म चलिरहेको छ।
झिल्को
फिल्म ‘झिल्को’ वैशाख १९ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक यादवप्रसाद भट्टराई हुन्। फिल्ममा मोबाइलको प्रयोगले बालबालिकामा परेको असर, पारिवारिक समस्या र उतारचढावलाई प्रस्तुत गरिएको छ। फिल्ममा आयुषी ढकाल, वर्षा शिवाकोटी, विशाल पोखरेल र सुनिल पोखरेल मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिभिल मल र भाटभटेनी भक्तपुर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर र लोत्से मल, कीर्तिपुर सिनेप्लेक्समा फिल्मको सो छ।
खेल
फिल्म ‘खेल’ वैशाख १२ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक अनुराग प्रधान र आस्था श्रेष्ठ हुन्। मिथकीय कथामा आधारित फिल्ममा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, किरण श्रेष्ठ लगायतको अभिनय छ।
क्यूएफएक्स सिनेमाज अन्तर्गत उपत्यकाको सिटी स्वायर मलमा फिल्मको एक सो छ।
केशरी च्याप्टर २
बलिउड फिल्म ‘केशरी च्यापटर २’ वैशाख ५ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता अक्षय कुमार छन्। फिल्मका निर्देशक करण सिंह हुन्। फिल्ममा पञ्जाबस्थित जलियावाला बागमा सन् १९१९ अप्रित १३ मा भएको हत्याकाण्डमा आधारित छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको दरबार सिनेम्याक्स, फिल्मको सो छ।
पिताम्बर
कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ गतवर्ष चैत २९ देखि हलमा प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, प्रमोद अग्रहरि, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज र विश्वज्योति हलमा फिल्म ‘पिताम्बर’ चलिरहेको छ।
अञ्जिला
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो ‘अञ्जिला’। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ।
यो फिल्म गतवर्ष फागुन २९ देखि हलमा चलिरहेको छ। फिल्मले हलमा ५१ दिन पनि मनाइसकेको छ। एञ्जिला स्वयःको अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिटी स्क्वायर मलमा फिल्मको सो छ।
लाज शरणम्
गतवर्ष फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।
शनिबार उपत्यकाको आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म ‘लाज शरणम्’ को सो छ।