
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले कक्षा १२ को वार्षिक परीक्षामा परीक्षा केन्द्रभित्र मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरण प्रयोग गरेकाले केही परीक्षार्थीहरूको परीक्षा रद्द गरिएको जनाएको छ।
बोर्डका अनुसार, परीक्षा सुरु हुनुअघि नै परीक्षाहलमा मोबाइल, स्मार्ट घडी लगायतका सामग्री लैजान पूर्ण निषेध गरिएको सूचना दिइएको थियो। तर, वैशाख २१ गतेबाट सञ्चालनमा आएको परीक्षाको क्रममा केही केन्द्रमा विद्यार्थीले मोबाइल प्रयोग गरेको भेटिएको र त्यसअनुसार ती उपकरण जफत गरी सम्बन्धित विद्यार्थीको परीक्षा रद्द गरिएको हो।
बोर्डले जारी गरेको सूचनामा भनिएको छ, ‘सूचनाको अवज्ञा गरी परीक्षा हलमा मोबाइल फोनलगायत निषेधित उपकरण प्रयोग गरे सम्पूर्ण विषयको परीक्षा रद्द हुनेछ।’ साथै अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालालाई यसबारे पुनः सचेत गराइएको छ।
यही क्रममा, वैशाख २५ गते सञ्चालित परीक्षामा काठमाडौँको साइपल एकेडेमी मावि, सुकेधारास्थित परीक्षा केन्द्र (केन्द्र नं. १५३४) मा परीक्षाको मर्यादा विपरीत कार्य भएको पाइएपछि केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई पदमुक्त गरिएको छ। बोर्डले ती पदाधिकारीहरूलाई निष्काशन गरी नयाँ केन्द्राध्यक्ष नियुक्त गरेको जानकारी दिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षा मर्यादाको कडाइका साथ पालना गराउने र उल्लंघन गर्नेप्रति कडा कारबाही गर्ने चेतावनी दिएको छ।