
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले २२ अप्रिलमा भारतको पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलाको कडा भर्त्सना गरेको छ।
उक्त हमलामा एक नेपाली नागरिक सुदिप न्यौपानेसहित दुई दर्जनभन्दा बढी निर्दोष पर्यटकहरूको ज्यान गुमेको थियो। पार्टीले यस घटनामा गहिरो दुःख व्यक्त गर्दै जुन सुकै प्रकृतिको आतंकवाद विरुद्धका संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ।
पार्टीका प्रवक्ता कृष्ण शर्माले भने, ‘हामी कुनै पनि प्रकारको आतंकवादी कार्यको विरोध गर्दछौं र शान्ति र सुरक्षा कायम राख्नका लागि संघर्षमा ऐक्यबद्धता प्रकट गर्दछौं।’
नयाँ शक्तिले भारत र पाकिस्तान बीचको बढ्दो सैन्य तनावलाई गम्भीर चासोको विषय मान्दै यसले दक्षिण एशियामा दीर्घकालीन शान्ति र स्थिरता राख्नका लागि खतरा उत्पन्न गरिरहेको उल्लेख गरेको छ।
उक्त पार्टीले दुबै देशलाई संयम अपनाउन र आपसी समस्याहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न अपिल गरेको छ।