
वरिष्ठ कथाकार/उपन्यासकार विजय चालिसे (सन् १९५१) उपन्यास लेखनमा ‘होटेल राँकीमा हत्या’ नामक जासुसी उपन्यासबाट २०३१ सालमा उपन्यास लेखन क्षेत्रमा प्रवेश गरेका हुन्। उनको पहिलो उपन्यासमा बदलाको भावना अन्तर्मनमा गढेपछि मानिस अपराधी पनि बन्न सक्छ भन्ने मूल कथावस्तु रहेको देखिन्छ भने यसमा स्वनामधन्य धनीमानीको जीवनचर्या, व्यापारी र अपराधीबीचको साठगाँठ दर्शाइएको छ।
२०३६ सालमा चालिसेको दोस्रो उपन्यास ‘अनि कुहिरो फाटछ’ प्रकाशित भएको छ। यसमा तत्कालीन समयको समाज, परम्परा र परिवर्तनका परिवेश देखाइएको छ भने राजनीतिक परिवर्तनको परिवेशमा नेपालको गाउँघरमा परिवर्तन चाहने युवा र पुरातन परम्परावादी सोच रहेका व्यक्तिहरूबीचको अन्तरद्वन्द्व पनि समेटिएको छ।
दोस्रो उपन्यास प्रकाशित भएको करिब ४० वर्षपछि २०८१ साल असोजमा चालिसेको तेस्रो उपन्यास ‘युगसन्धि’ प्रकाशित भएको छ। यो उपन्यासलाई उनको लेखनमा एक नयाँ फडको मान्न सकिन्छ। चालिसे युगसन्धि उपन्यासमार्फत नेपाली उपन्यास क्षेत्रमा एक सशक्त हस्ताक्षरका रूपमा स्थापित भएका छन्। कुनै पनि उपन्यासकारको निमित्त सार्थक र गहकिलो विषयवस्तुसहितको उपन्यास लेखन कम चुनौतीपूर्ण हुँदैन। लगनशीलता, कठोर स्वाध्याय तथा अनवरत मिहेनतको प्रतिफल मात्र यस्ता प्रकृतिका उपन्यास सिर्जना गर्न सम्भव हुन्छ। सहज लेखन शैली, सुस्पष्ट वैचारिक भावभूमि र तत्कालीन समयको इतिहास पाठकलाई सादृश्य गराउने उद्देश्य देखिन्छ।
कथासार
वेदकालीन कुनै समय। राजा मैत्रावरुण र अप्सरा उर्वशीबीचको प्रेमको प्रतिफल अगस्त्य र वशिष्ठ जुम्ल्याहा पुत्रहरूको जन्म हुन्छ। जेठा अगस्त्यको विवाह विदुषी राजकुमारी लोपामुद्रासँग हुन्छ। देवघट्ट/देवघाटमा आश्रम बनाएका कान्छा वशिष्ठ मानसरोवर निकट तपसाधना गरी शिवबाट “ब्रह्मर्षि” उपाधि पाउँछन्। उनको विवाह कर्दम ऋषि र देवहूतिले यज्ञ आदि गरेर जन्मिएकी विलक्षण प्रतिभाकी धनी अरुन्धतीसँग हुन्छ।
मैत्रावरुणका सन्तान वशिष्ठबाट कालान्तरमा वशिष्ठ गोत्रको थालनी भएको मानिन्छ। अगस्त्य र वशिष्ठ ‘आर्य र अनार्य बीच हुने रक्त सम्मिलिनले जीवनको जिउने प्रवृत्तिमा भिन्नता रहन जाने हुनाले समाजमा स्वच्छता कायम रहन सक्तैन’ भन्ने परम्परागत वैचारिक मान्यता राख्दथे र अन्तरजातीय वैवाहिक पद्धति स्वीकार गर्दैनथे।
सिंजा उपत्यकाका राजाबाट सहस्र अश्व प्राप्त गरी गाधी नरेशलाई अर्पण गरेपछि उनकी पुत्री सत्यवतीसँग विवाह गरेका ऋषि ऋचकको पुत्रका रुपमा विश्वामित्रको जन्म हुन्छ। ऋचक र सत्यवती तथा राजा कुशिक र रानी घोषाको पुत्र जन्मका क्रममा संयोगवस ऋषि गुणयुक्त पुत्र ‘विश्वरथ’ राजारानीतर्फ र राज गुणयुक्त पुत्र ‘जमदग्नि’ सत्यवतीतर्फ जन्मिएका हुन्छन्।
विश्वरथ कालान्तरमा ऋषि ‘विश्वामित्र’ का नामले प्रख्यात हुन्छन्। वशिष्ठका दाजु गुरु अगस्त्य र लोपामुद्राका शिष्य विश्वामित्र सबै विषयमा श्रेष्ठ हुन्छन्। महर्षि अगस्त्य र लोपामुद्राबीच आर्य र अनार्यबीच रक्त सम्मिलन गर्नुहुन्छ वा हुन्न भन्ने विवादमा परिवर्तन पक्षधर लोपामुद्रालाई विश्वामित्र समर्थन गर्दछन्।
किरातहरूको राज्य कांगडाका शाशक थिए राजा शम्बर। पहाडी र हिमाली भागमा रहेको किरात राज्यबाट बहने नदीबाट जल प्राप्त गर्ने मैदानमा रहेको काशी राज्यलाई समयसमयमा जल संकट पर्दथ्यो। दुई देशबीच झगडाको मूल कारण यही हुने गर्थ्यो। काशी राज्यका तर्फबाट शान्ति दूत भएर गुरु वशिष्ठ किरात क्षेत्रमा गई जल समस्या समाधानको पहल गर्छन् तर किरातहरूलाई सो प्रस्ताव स्वीकार हुँदैन। किरात राज्यबाट सकारात्मक जवाफ नपाएपछि काशी नरेश छिमेकी गाधी राज्यको सहयोग लिएर किरातविरुद्ध युद्ध गर्ने निर्णय गर्दछन्।
यसैबीच गाधी युवराज विश्वरथ र उनका मित्र ऋचक किरात गुप्तचरहरूबाट अपहृत हुन्छन् र किरातहरूको बन्दी बन्छन्। बन्दी राजकुमारसँग गोप्य रुपमा सम्पर्कमा आएकी किरात राजकुमारी उग्रा विश्वरथको प्रेममा पर्छिन् र गन्धर्व विवाह गरी गर्भिणीसमेत हुन पुग्छिन्। किरात राज्यको एकल सेना र काशी-गाधी राज्यको संयुक्त सेनाबीच सुरु भएको युद्धकै बीचमा बन्दी राजकुमार विश्वरथ र उनको मित्रको बलि चढाइने खबर थाहा पाएपछि राजकुमारी उग्रा आफ्ना प्रेमी विश्वरथलाई बन्दीगृहको गोप्यद्वारबाट मुक्त गराउन अग्रसर हुन्छिन्।
यस क्रममा उग्राले खोलेको गोप्य द्वार प्रयोग गरी अगस्त्य नेतृत्वको सेना किरात किल्लाभित्र प्रवेश गर्दछ जसले गर्दा राजा शम्बरको मृत्यु मात्र हुँदैन, पराजित किरात सेना पूर्वोत्तरतर्फ धकेलिन जान्छन्। युद्ध विजयपछि कुलगुरु अगस्त्य किरात राजकुमारी उग्रा र विश्वरथबीचको सम्बन्ध तोड्न खोज्छन् तर उग्रा प्रतिको प्रेम, उनको गर्भमा हुर्किरहेको सन्तान र युद्धमा उग्राको योगदानलाई आत्मसात् गर्दै विश्वरथ उनलाई आफ्नो साथमा गाधी राज्यतर्फ ल्याउँछन्।
दरबारमा किरात राजकुमारीलाई अस्वीकार गरिने अवस्था हुँदा राजकुमार विश्वरथ राजकाज त्याग्न तयार हुन्छन्। पिताको अवसानपछि आफू राजा भएका उनी उग्रालाई जात्यान्तरण गराएर भए पनि आफ्नी रानीको दर्जा दिन चाहन्छन्। यसको निमिति उनी रक्त सम्मिलनको पक्षधर आफ्नो गुरुआमा लोपामुद्राबाट जात्यान्तरण यज्ञ गराउँछन्।
यस क्रममा विश्वरथ ‘गायत्री’ मन्त्रको सिर्जना गर्दछन्। यो मन्त्रलाई सम्पूर्ण आर्यगणहरू सर्वोत्कृष्ट रचना स्वीकार्छन् र विश्वरथलाई ‘विश्वको रक्षा गर्ने यस मन्त्र ज्ञानका कारण…विश्वको मित्र’ बनेको घोषणा गर्छन्। तबदेखि विश्वरथको नाम ‘विश्वामित्र’ कहलिन्छ। जात्यान्तरण यज्ञपछि किरात राजकुमारी औपचारिक रूपमा विश्वामित्र कि पत्नी (रानी) हुन्छिन्।
उग्रालाई पत्नीको दर्जा दिएपछि राजा विश्वरथविरुद्ध राज्यमा विद्रोह हुन्छ। जसको सजायस्वरूप उनलाई दरबारबाट निर्वासित गरिन्छ। उनी आफ्नै आश्रम बनाएर उग्रासँग बस्न थाल्द्छन्। विरोधीहरूले आश्रममा समेत आक्रमण गरेपछि विश्वामित्र र गर्भिणी उग्रा विदुषी लोपामुद्राको शरणमा पुग्छन्। तर त्यहाँ पनि आक्रमण हुँदा लोपामुद्रा उग्राबाट जन्मिएको सन्तान बचाउन सफल भए पनि उग्रालाई बचाउन सक्दिनन्। उग्राबाट जन्म भएको बालकलाई लोपामुद्रा अजिर्गत नामक ब्राह्मणलाई हुर्काउन जिम्मा दिन्छिन् तर बालकको सुरक्षार्थ उसको परिचय गोप्य राख्छिन्।
उग्राको अवसानपछि विश्वरथलाई पुन: राजपाठ सुम्पने राजाको निर्णयप्रति रुष्ट कुलगुरु अगस्त्य आफ्नो आश्रम फर्किन्छन् र पत्नी लोपामुद्रालाई ससम्मान फिर्ता ल्याई जीवन व्यतित गर्न थाल्छन्। यता सिकार खेल्न गएका राजा विश्वरथ सामान्य घाइते भई सैनिकसहित ऋषि वशिष्ठको आश्रममा आराम गर्न पुगेका हुन्छन्। त्यहाँ कामधेनु गाई नन्दिनीको चमत्कार देखेर लोभिन्छन् र वशिष्ठसँग ती गाई आफूलाई दिन आग्रह गर्छन्। तर वशिष्ठको इन्कारीले दुवै पक्षबीच लडाइँ हुन्छ जसमा विश्वरथ पराजित भएर घर फर्कन बाध्य हुन्छन्।
आफू मात्र होइन सिंगो राज्य नै अपमानित भएको अनुभव गरेर ब्रह्मर्षि वशिष्ठभन्दा श्रेष्ठ हुने मनासुबाले उनी हिमालयमा गई तपस्या गर्न थाल्छन्। यस क्रममा महादेवबाट शस्त्रार्थसहित अन्य ज्ञान प्राप्त गर्छन्। तर पनि उनलाई “राजर्षि” पदवी मात्र प्राप्त हुन्छ, ‘ब्रह्मर्षि’ मानिँदैन। यसपछि उनी राजपाठ आफ्ना पुत्र हस्तकलाई सुम्पेर सदाको निमित्त कौशिक नदीको किनारमा रहेको बराह क्षेत्रमा गुरुकुल स्थापना गरेर जीवन व्यतित गर्न थाल्छन्।
वशिष्ठप्रति बदलाको भावनाले ग्रसित विश्वरथ किनकर नामक एक राक्षसी प्रवृत्तिका व्यक्तिमार्फत वशिष्ठका पुत्रहरू सबैको हत्या गराउँछन्। आफ्नो जेष्ठ पुत्र शक्तिकी पत्नीको पेटमा गर्भ रहेको ज्ञात भएपछि वशिष्ठ निश्चिन्त भएर हिमालयमा थप तपस्या र साधनामा लीन हुन्छन्। तपस्यापछि फर्केका वशिष्ठ काशी नरेश दिवोदाश वानप्रस्थ हुन्छ। उनका उत्तराधिकारी पुत्र सुदासको सिंहासनपश्चात राज्याभिषेक गराउँछन।
काशी नरेश सुदास गुरु वशिष्ठको सल्लाहमा पहाडी गणराज्यलाई आफ्नो अधीनमा ल्याउन जलसंकट उत्पन्न गरेको बहानामा आक्रमणको तयारी गर्छन्।
यता हस्तिनापुरका राजा संवरणको नेतृत्वमा विश्वामित्र १० गणराज्यहरूलाई एकताबद्ध गराउँछन्। यी गणराज्यमध्ये सबैभन्दा शक्तिशाली मानिएको हस्तिनापुर राज्यका प्रमुख संवरणको राज्य कैलाश पर्वत निकट उत्तराखण्डस्थित काँगडा गङ्गा नदीको पूर्वी किनारमा अवस्थित थियो।
राजा सुदास नेतृत्वको सेना र दश गणराज्यहरूका संयुक्त सेनाबीच युद्ध हुँदा हारको मुखमा पुगेको सुदास पक्षीय सेनालाई थप सैन्य बल र वशिष्ठले रचेको युद्ध रणनीतिका कारण राजा संवरण र विश्वामित्र पक्षको पराजय हुन्छ। ४० दिनसम्म चलेको युद्धमा किरांत र अन्य गणराज्यहरू पराजित हुन्छन् र उत्तरतर्फ धकेलिन्छन। कतिपय जातजाति विनाश भएर वैदिक संस्कार-सभ्यता स्थापित हुन पुग्दछ। हारिसकेको युद्धलाई बिजयमा परिणत गराउने रणनीतिकार वशिष्ठको प्रख्यातिले आफ्नो सिंहासन गुम्ने ईर्ष्यालु मनोभाव राजा सुदासमा विकसित हुँदै गरेको अवस्थामा ‘दशराज्ञ’ युद्धपछि विश्वामित्र वशिष्ठसँग बदला लिन मनसायले विभिन्न तालमेल मिलाएर राजा सुदासको दरबारको कुलगुरुको पदमा आफू स्थापित हुन्छन्। राजा सुदासद्वारा अपधस्त वशिष्ठ आफ्नो आश्रम देवघाट फर्किन्छन्।
राजा त्रैयारुण निबन्धका पुत्र सत्यव्रत स्त्री अपहरण गर्ने, भोग गर्ने र स्वछन्द भएर हिँडने प्रवृत्तिका थिए। कालान्तरमा सिंहासनमा आसीन भएपछि भने एक प्रजापालक राजाका रूपमा चिनिए। वृद्ध अवस्थामा राजपाठ छोड्नुअघि जिउँदै स्वर्ग जाने इच्छा गर्दै विश्वामित्रबाट यज्ञ गराएर स्वर्गको द्वारमा पुगेका हुन्छन् तर राजा इन्द्रको द्वारपालबाट पृथ्वीतलतर्फ धकेलिएको अवस्थामा विश्वामित्रले आफ्नो मन्त्र शक्तिद्वारा पृथ्वी र आकाशको बीचमा एक कृत्रिम स्वर्ग बनाइदिन्छन। पुन: हिमालयमा तपस्यारत विश्वामित्रको बढ्दो राप, ताप र शक्तिले इन्द्रको आसनसमेत डगमगाउन थालेपछि इन्द्रले मेनका नामकी एक अप्सरा पठाएर विश्वामित्रको तपस्य भंग गर्छन्। विश्वामित्र र मेनकाको गन्धर्व विवाहपछि एक सन्तानको जन्म हुन्छ तर मेनका स्वर्गलोक फर्केपछि निराश बनेका विश्वामित्र थप तपस्याको निमित हिमालयतर्फ लाग्छन्।
पहिले विदुषी लोपामुद्राले अजिर्गत नामक ब्राह्मणलाई हेरचाहको जिम्मा दिएको राजकुमारी विश्वरथ र उग्राको बालकको रहस्य त्यतिबेला खुल्छ जब एक बालकलाई उद्वार गर्ने क्रममा विश्वामित्र आफ्नै पुत्र शूनसेप (देवव्रत) को रक्षा गर्न पुग्छन्। यसरी पिता-पुत्रको मिलन हुन्छ।
जति नै जप, तप, ध्यान, साधना गरे पनि र जति नै चमत्कारपूर्ण आविष्कार गरे पनि ब्रह्मर्षि वशिष्ठ र ब्राह्मण समाजबाट ‘ब्रह्मर्षि’ पदवी नपाएको झोकमा बदला लिने मनसायले एक दिन वशिष्ठको आश्रममा पुगेका विश्वामित्र वशिष्ठ र उनकी पत्नी अरुन्धतीबीचको संवाद सुन्छन्। वशिष्ठले आफूप्रति दुरासय नराखेको वार्तालाप सुनेपछि आफ्नो बदलाको मनसायप्रति लज्जित हुँदै आश्रमबाट गुपचुप फर्किन लाग्दा दुवै महर्षिहरूको जम्काभेट हुन्छ। यहाँ वशिष्ठले विश्वामित्रलाई पहिलो पटक “ब्रह्मर्षि” भनेर सम्बोधन गर्छन्। यसरी दुवै महा(मनिषीहरूबीचको सम्बन्ध सुमधुर हुन थाल्छ।
‘युगसन्धि’ ले समेटेको समय, तत्कालीन सामाजिक परिवर्तनका संवाहकका आदर्श, विचार र व्यक्तित्वहरूको विविध पक्ष
उपन्यासको शीर्ष नाम ‘युगसन्धि’ लाई पर्गेल्दा यस कृतिको मूलभूत आशय र उद्देश्य बुझ्न सहज हुन्छ। संस्कृतमा सन्धिका विविध अर्थ र प्रयोग चलनमा छन्। सामान्यतया यसमा ‘युग’ (age/era) र ‘सन्धि’ (Meeting Point) दुई शब्दको मिलन वा सन्धिबाट यो उपन्यासको नामकरण गरिनुको अर्थ विगतको कुनै कालखण्ड तथा परिवर्तनको संघारमा प्रवेश गर्न लागेको कुनै समय (युग) बीचको मिलनबिन्दुलाई इंगित गर्न खोजेको बुझ्न सकिन्छ। परम्परागत मान्यता, पुरातन सोच र परिवर्तित परिस्थितिअनुरुप बदलिँदै जान लागेको युगलाई संकेत गर्दै ओजपूर्ण रुपमा ‘युगसन्धि’ नामकरण गरिएको अनुभव हुन्छ।
यो कृतिलाई लेखकले ‘वैदिक उपन्यास’ भनेका छन्। वैदिक विधिविधानको प्रारम्भिक दिनका कथाहरू उनिएकोले यसलाई ‘वैदिक’ भनिएको हुन सक्छ तर यो कुनै वेदसँग सम्बद्ध कृति होइनस ‘वैदिककालीन’ सन्दर्भलाई औपन्यासीकरण भने गरिएको कृति हो।
पूर्व वैदिककाल इसापूर्व १५००(१००० वर्षसम्म र उत्तर वैदिक सभ्यता इसापूर्व १००० देखि ६०० वर्ष अगाडि विकसित भएको मानिएको सन्दर्भमा दक्षिण एसियामा अफगानिस्तानदेखि दक्षिण पूर्वी एसियासम्म वेदकालीन सभ्यता र संस्कृतिको विस्तार भएको पुष्टि हालसम्म साक्षीका रुपमा रहेका त्यहाँ रहेका मठमन्दिर गुम्बा आदिबाट देखिन्छ भन्ने लेखकको ठम्याइ छ।
यो कृतिमा लेखकको विशेष चिन्ता ‘वैदिक सभ्यताको विकास भएका हिमवत् खण्ड र नेपाल लगायत हिमाली भेग छायामा पारिए’ भन्नेमा रहेको छ। मानव सभ्यता थालनी भएको भूमिका रुपमा यो क्षेत्रको महत्त्व र उपादेयता र विशिष्ट पहिचान पनि लुप्त हुँदै गएको विषयलाई केन्द्रबिन्दु बनाएर यो उपन्यास लेखिएको प्रतीत हुन्छ। उपन्यासका घटनाहरूको मूल थलो नेपाल अर्थात् पहिलेको‘विशाल नेपाल’ अन्तर्गतका भूगोलको परिवेशमा घुमेको छ।
वशिष्ठ गोत्रीय लेखक विजय चालिसे आफ्ना गोत्रका संस्थापक को थिए, वेदकालीन समयमा उनको योगदान के रह्यो र वैदिक वाङ्मयमा उनले गरेको अध्ययन, अनुसन्धान र मन्त्र सिर्जनाका विषयका मूलभूत पक्ष समेटेर उपन्यास लेख्न थाले पनि उनको झुकाव भने आर्य र अनार्य जातीय अन्तरघुलनका पक्षधर ऋषि विश्वामित्रतर्फ ढल्कँदै गएको पुस्तकको प्रस्तुतिले देखाउँछ।
लेखकले आफ्ना गोत्रीय ब्रह्मगुरुप्रति प्रयुक्त गरेका शब्दावली अस्वाभाविक लाग्दैनन् तर वशिष्ठका ‘शत्रु’ देखिएका विश्वामित्र उपन्यासका उदात्त नायकमा परिणत भएको जस्तो देखिनुमा चालिसेमा रहेको नयाँ सोच र परिवर्तनकामी पक्षधरताको मनोविज्ञान हो भन्दा फरक परोइन। आफ्ना सम्पूर्ण पुत्रहरूको हत्याका जिम्मेवार रहेका विश्वामित्रलाई समेत विगत भुलेर समन्वय र सम्मान गर्ने ठूलो हृदयको परिचय दिँदै शत्रु भए पनि विद्वता, ज्ञान र क्षमताका आधारमा विश्वामित्रलाई ‘ब्रह्मर्षि’ उपाधि दिन सक्ने ब्रम्हर्षि वशिष्ठ पक्कै पनि क्षमाशील र सहिष्णु थिए भन्ने देखिन्छ।
‘युगसन्धि’ मा अन्तर्निहित विषय
उपन्यासले मूलभूत रुपमा वैदिककालीन व्यक्ति, समाज र राज्यका अधिकांश विषय र कथाहरूलाई यथासम्भव समेटने प्रयास गरेको छ। पुराण वा वैदिक ग्रन्थका कथालाई हुबहु उतार्ने नभई यथार्थमा कस्ता विषयलाई प्राथमिकतामा राख्ने भनेर निर्दिष्ट सोचका साथ यो कृति लेखिएको आभास हुन्छ। उपन्यासले वैदिककालका कतिपय विषय बुझ्न सघाउँछ नै।
यस कृतिले त्यसबेलाको सभ्यता, संस्कृति, शैक्षिक पद्धति, सम्बन्ध, प्रेम, यौन र महिला स्वतन्त्रता, भूगोल, राजनीति र कूटनीतिक सम्बन्ध सञ्चालन, भौगोलिक अवस्थितिको परिकल्पना, जनता र शासक सम्बन्ध, प्रथा र परम्परा आदि समेटेको छ।
त्यसैगरी अन्य अन्तरविषयहरूमा आर्य, अनार्य, सनातनि परम्परा, सभ्यताहरू बीचको भिन्नता, जातजातिका संस्कार, जीवन दर्शन र जीवनशैली, सांस्कृतिक भिन्नता र द्वन्द्व, गुरुकुलीय शैक्षिक पद्धति, समाजमा व्यक्ति र व्यक्तिको समाजमा स्थान, महिलापुरुष सम्बन्ध, प्रेम र यौन, सन्तान जन्माउने नजन्माउने अधिकार आदिमा महिलाको पूर्ण स्वतन्त्रता, राजदूत र उसलाई दिने उन्मुक्ति र सुरक्षा, राज्यहरूबीचको आपसी सम्बन्ध र हित प्रवर्धन, द्वन्द्व र युद्ध, किरात, गाधी र काशी राज्यहरूमा वेष्टित कथ्य, ‘स्वर्ग’ राज्यको परिकल्पना र ‘इन्द्र’, ‘अप्सरा’ र अन्य ‘देवताहरू’ को मानवीय चित्रण, जनताप्रति जवाफदेही शासन व्यवस्था आदिको पनि वर्णन पाइन्छ।
यो कृति तत्कालीन समयमा विद्यमान वैचारिक द्वन्द्वको प्रतिबिम्ब बनेको छ। आर्यहरूको रक्त शुद्ध हुनुपर्छ, अन्य जातिको रक्त मिश्रणबाट आर्यहरूको जातीय सर्वोच्चता कायम रहँदैन भन्ने मत र ‘समयअनुसार परिचालित भएमा मात्र समाज अघि बढ्न सक्ने’ मतका वीचको अन्तर्द्वन्द्वलाई सटिक रुपमा दर्शाइएको छ।
उपन्यासका मूल पात्रहरू वशिष्ठ र विश्वामित्र देखिन्छन् तर कथासँगै सहायक पात्रहरूको अनगिन्ती कथा, उपकथाले उपन्यासलाई बलियोसँग उनेको छ। केही अन्य पात्रहरूमा विदुषी लोपामुद्रा र विश्वामित्र र किरात राजकुमारी उग्राको पुत्र शूनसेप (देवव्रत) अमिट छाप छोड्न सफल छन्। विदुषी लोपामुद्रा र अरुन्धतीको योगदानको जति चर्चा हुनुपर्थ्यो त्यति भएको छैन।
नेपालका पवित्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलहरूलाई थप उजागर गर्नु उपन्यासकारको अर्को ध्येय देखिन्छ। केही धार्मिक क्षेत्रहरू रुरु, देवघाट, बराह क्षेत्र, मुक्तिनाथ आदिको विशद् रूपमा चर्चा गरिएको छ। नेपाल मण्डल र वरिपरिका भूभागहरूको वर्णन गरेर नेपालको महिमालाई सबैसामु ल्याउने प्रयास गरिएकोले वैदिककालीन घटनाका प्रमुख ऋषि र तीर्थस्थलहरू नेपाल मण्डलअन्तर्गत रहेको लेखकको दाबी छ। हिमवत् खण्ड अन्तर्गतका कुमाउँ, गढवाल, सिमला र कस्मिर गरी पाँचवटा खण्ड त्यति बेला नेपाल मण्डलअन्तर्गत पर्दथे भनेर उनी उल्लेख गर्न चुक्दैनन्। यो तथ्य कतिसम्म इतिहास सम्मत र यथार्थसँग नजिक छ त्यो भने थप खोजको विषय हुन सक्छ।
वैदिककालमा सबै जातजातिको हक समान थियो। लिंगका आधारमा गरिने भेदभाव थिएन भनिएको पाइन्छ। सो कुरा गुरुकुलका विद्यार्थीमा अनार्यको पनि उपस्थिति रहेको उल्लेख भएबाट प्रमाणित गर्न खोजिएको छ। आर्य र अनार्य भनिने जातिहरूको रुप रङ, अनुहारको बनोट र उचाइसहितका विविधता, सभ्यता, संस्कृति र आराधना तथा धर्ममा फरकपन थिए। आर्यका नारीहरू युद्धमा संलग्न भएको उल्लेख देखिँदैन तर अनार्य नारीहरू युद्धमा सहभागी हुन्थे भन्ने देखाइएको छ।
वैदिककालीन समयमा विज्ञानको विकास भएको र ‘कृत्रिम गर्भाधानदेखि भ्रूण प्रत्यारोपणसम्मका अनेकौँ प्रयोग’ भएको उल्लेख गरिएको छ। चिकित्सा विधा पनि विकसित भएको आभास हुन्छ। ‘वीर्यमा विद्यमान शुक्रकीटहरूलाई सबल तुल्याई गर्भमा प्रत्यारोपण’ गर्ने विधि उपलब्ध भएको भनिएको छ। विश्वामित्रद्वारा ‘गुरुत्वाकर्षण’ लाई समेत साधानाद्वारा वशमा लिइएको प्रसंग पनि उल्लेख छ।
वैदिककालमा महिला स्वतन्त्रता र हकको प्रत्याभूत गरिएको विविध प्रसंगहरू उल्लेख भए तापनि राज्यसभा, मन्त्रिगण, युद्ध र शासन सञ्चालनका संयन्त्रमा उनीहरूको उपस्थितिका विषयमा पुस्तक मौन रहेकोले भनिए जस्तो महिला अधिकारका प्रत्याभूति थियो थिएन भन्ने प्रश्न उठ्नु स्वाभाविक लाग्छ।
उपन्यासमा प्रेम, वासना, त्याग, तपस्या, रिस, घृणा, अहंकार, लोभ मोह, प्रेम,
द्वन्द जस्ता मानवीय गुण अवगुणले सिर्जना गरेको अवस्था र परिस्थितिको चित्रण मात्र गरिएको छैन, अन्तर्राष्ट्रिय क्षेत्रीय राजनीतिमा महत्त्व राख्ने भूगोल अनि छिमेक र सीमा जोडिएका राज्यहरूसँगको सम्बन्ध, समन्यव, वैमनस्य, द्रोह र धोखाको कारण युद्धसमेत गर्नुपर्ने अवस्थाको वर्णन गरिएको छ। वैदिककालीन समयको शासन व्यवस्था, शासक र जनप्रतिनिधि आदिका विभिन्न प्रसंगले तत्कालीन राजनीतिक अवस्था र व्यवस्था बुझ्न सघाउँछ।
उपन्यासमा उल्लिखित केही प्रसंग अस्वाभाविक लाग्छन्। जस्तै वशिष्ठले देवघाटलाई केन्द्र बनाएर कुलगुरुका रूपमा आफ्नो सेवा गाधी नरेशको गाधी राज्यमा गर्ने गरेको प्रसंगमा गाधी राज्य कुन भूगोलमा देवघाटबाट कति दुरीमा थियो होला भन्ने कौतूहल पाठकमा उठ्नु स्वाभाविक हुन्छ। त्यस्तै, कहिले हिमाल र कहिले मानसरोवर, कैलाश पर्वत पुगेको प्रसंग पनि यथार्थसँग कति नजिक थियो होला भन्ने संशय उत्पन्न गराउँछ।
अर्को प्रसंगमा ‘देवताहरू उच्च जातिका भएकाले आफूलाई पूजा भागका अधिकारी ठान्दथे। उनीहरू ऋषिमुनि, पुजारी पुरोहित आदिका माध्यमद्वारा भूलोकबाट यज्ञ भागका रुपमा धार्मिक कर असुल गर्दथे’ भन्ने भनाइले वैदिक विधि मान्नेहरूको आस्थामा प्रहार मानिन सक्ने तर्फ लेखक सचेत भएको भए बेस लाग्दछ।
इन्द्रलोकमा हरप्रकारका सुखसुविधाका साथै रोग, भोक र अकाल मृत्युको भय नरहेकोले यसलाई ‘स्वर्ग’को संज्ञा प्राप्त थियो। अनार्यहरू यसलाई ‘सांग्रिला’का नामले पनि सम्बोधन गर्दथे भनिएको छ। यसमा प्रयुक्त शब्द ‘सांग्रिला’ वेदकालीन समयमा प्रयोग हुन्थ्यो भन्ने विषयमा यकिन भन्न सकिएला र! रक्तशुद्धि र रक्त सम्मिलनबीचको द्वन्द्वका बीचमा आफ्नो निहित स्वार्थ परिपूर्तिका निमित्त उल्लेख भएका कुप्रथाहरूको उल्लेखन सत्यको नजिक छ छैन थप खोजकै विषय लाग्दछ।
लेखकले सनातन वैदिक परम्परा मान्नेहरूको पौराणिक, धार्मिक स्थलहरू र देवदेवी वा स्थलहरू जस्तै ‘स्वर्ग’ आदिलाई उपन्यासमा सामान्यीकरण गरेका छन् जस्तो ‘इन्द्र प्रदेश’ र ‘स्वर्ग’ आदि। शास्त्रमा उल्लेख भएका देव, ईश्वर, स्वर्ग, नर्क, पाताल, पृथ्वीको परिभाषा र मान्यतालाई नवीन ढंगमा प्रस्तुत गरिएको छ तर यस्तो सामान्यीकरण कतिपय पाठकलाई पाच्य पनि नहुन सक्दछ भन्ने तर्फ लेखकको ध्यान गएको देखिँदैन।
उपसंहार
वैदिककाललाई केन्द्रमा राखेर त्यतिबेलाको समाज र मानिसका जीजीविषा, प्रेम र त्यागका विषयमा विगतमा नेपाली साहित्यमा उपन्यासहरू नलेखिएका होइनन्। पूर्वीय दर्शन, संस्कार र सभ्यताको निमित्त विश्वमा चिनिएको नेपालको महत्ता स्थापित गर्न नेपाली इतिहासकार, लेखक र अनुसन्धानकर्ताहरू लागिपरिरहेकै छन्।
वैदिक सनातनी परम्परामा बालकरबालिकाको जन्मसँगै गोत्र उद्घघोष गर्ने प्रथाको प्रारम्भकर्ताहरू वैदिककालीन सप्तर्षिमध्ये वशिष्ठ र विश्वामित्र र तिनको जीवनको सेरोफेरोमा आधारित रहेको ‘युगसन्धि’ ले यी दुई महर्षिहरूको आधारभूमि नेपाल रहेको तथ्य स्थापित गर्ने प्रयास गरेको छ।
साथै उपन्यासले परम्परागत र परवर्तनकामी सोचहरूबीचको संघर्ष र समन्वय देखाएको छ। यी दुई वैचारिक धारको प्रतिनिधित्व गर्ने वशिष्ठ र विश्वामित्रले दुवैको अस्तित्व स्वीकार गरेको क्षणलाई ‘युगसन्धि’ मानिएको प्रतीत हुन्छ। उपन्यासको सबल पक्ष भनेको कुनै पात्र, घटना, परिघटना तथा प्रक्रियाहरूको सजीव वर्णन गर्न सक्नु हो। कथाको क्रमबद्धतालाई लेखकले स्वछन्द रुपमा छोडेका छन् जसले गर्दा केही प्रसंग र पात्रहरू उपन्यासमा अनायास प्रवेश हुन्छन् र मूल उपन्यासको विषयवस्तुसँग असम्बद्ध पो हुन् कि भन्ने भान पारे पनि उपन्यासको मूल मर्म, कथ्य, शैली तथा यसको रोचकता र महत्ता कम हुन दिएका छैनन्।
संक्षेपमा ‘युगसन्धि’ ऋषिहरू वशिष्ठ र विश्वामित्रको व्यक्तिगत र विचारधारात्मक प्रतिस्पर्धाको कथा मात्र नभएर उनीहरूबीच रहेको वैमनस्य अर्को भन्दा आफू ‘श्रेष्ठ’ भन्ने भाव स्थापना गर्न उद्यत् प्रवृत्तिले सिर्जना गरेको परिस्थितिजन्य परिवेश उजागर गरिएको एक कालजयी कृति हो। लेखकले वैदिककालीन समयमा देखिएको अनुदारवादी धार र उदारवादी धारबीचको द्वन्द्वको कथालाई विशिष्ट रचना शिल्पीको माध्यमद्वारा प्रस्तुत गरेका छन्।
आजको बदलिँदो परिवेशमा वेद र वेदद्वारा निर्दिष्ट संस्कार, संस्कृति र सभ्यताका बारेमा यस रुपमा अभिलेखन गर्ने काम कम चुनौतीपूर्ण होइन। यसलाई लेखक चालिसेले स्वीकार गरेका छन् र सफल पनि भएका छन्। युगसन्धिले वैदिक कालीन विहंगम चित्र मात्र कोरेको छैन, नेपाली साहित्यको भण्डारमा एकअर्को महत्त्वपूर्ण कृति थपेर यसको श्रीवृद्धिमा योगदान गरेको छ।