नियात्रा

मलेसियाको जर्जटाउनमा हेटौँडाको स्टोनपार्कको झझल्को

ईश्वर पोखरेल २७ वैशाख २०८२ १९:४०
24
SHARES
मलेसियाको जर्जटाउनमा हेटौँडाको स्टोनपार्कको झझल्को मलेसियाको जर्जटाउनमा रहेको 'स्टोनपार्क' मा सजाइएका ढुंगाका विभिन्न आकृतिहरू। तस्बिर : ईश्वर पोखरेल

२० अक्टोबर २०२३ का दिन मलेसियाको पेनाङको जर्जटाउनमा थियौँ हामी। हामी हिजो मलेसियाकै मलेकाबाट सार्वजनिक बसमा यहाँ आएका हौँ। हिजो बिहान सात बजेतिर प्रारम्भ भएको थियो- हाम्रो बस यात्रा। पेनाङको फेरी (नौका) टर्मिनलमा बसबाट उत्रिदा झण्डै चार बजेको थियो।

मलेकाबाट पेनाङको नौका टर्मिनलमा क्वालालाम्पुरलाई छोएर बस आउने रहेछ। हामीले बिहानको खाना क्वालालाम्पुरकै बसपार्कमा खाएका थियौँ। जहाँ पनि गाडी लाइनको खाना उस्तैउस्तै हुने। तैपनि खानै पर्ने।

कौशु अलिक नाकनिक गर्छिन् होटलको खाना खाने सन्दर्भमा। म पनि पहिले निकै नाकनिके थिएँ। अझै पनि जस्तो पायो त्यस्तो ठाउँ र परिकार मलाई सहज लाग्दैन। तर म कौशु जति नाकनिक गर्दिनँ। छोराहरू खाना खाने विषयमा हामीभन्दा फरक छन्। उनीहरू जहाँ पनि खपाखप खान सक्छन्।

पेनाङको राज्यको राजधानी जर्जटाउन जानका लागि पेनाङको बटरवर्थस्थित फेरी (नौका) टर्मिनलमा उत्रिँदा हामी भोकाएजस्तै भएका थियौँ। तर फेरीमा धमाधम मानिस चढिरहेका थिए। फेरी टर्मिनलमा टिकट लिएर फेरीमा चढेर मलक्का स्टेट तरेपछि आइपुगिने रहेछ- जर्जटाउन।

हामी खाजा खान लाग्यौँ भने फेरीमा सिट नपाइएला र अर्को फेरी कुर्नु पर्ला भन्ठानेर छोराहरू फेरीको टिकट काउन्टरतिर दौडिए। टिकट लिएपछि फेरीमा चढ्नै हतार! यो फेरी छुट्यो भने फेरि अर्को फेरीका लागि कति समय पर्खिनुपर्ने हो? फेरीबाट उत्रिएपछि कति टाढा पुग्नुपर्ने हो- हाम्रो निर्धारित ‘नाइन्टीनाइन हेरिटेज हाउस’ नामको होमस्टेसम्म पुग्नका लागि? यी सबै अन्योल थाती राखेर हामी भोक मेट्नेतिर लागेनौँ।

म फेरी चढेको छु। नारायणघाटबाट गैँडाकोटसम्म फेरी चल्थ्यो- एक समय। मोटरहरू पनि त्यही फेरीमा राखेर तार्ने गरिन्थ्यो। तिनै दिनमा त्यही रुटमा मैले फेरी चढ्न पाएको थिएँ। ‘चढेको थिएँ’ भन्ने मात्र सम्झना छ; फेरी चढेपछिको अनुभूति भने विस्मृत भइसकेको छ।

मेरा लागि पनि यो फेरीमार्फत समुद्र तरेको अनुभव रोमाञ्चक हुने भयो। मबाहेक परिवारका अन्य तीन सदस्यमा त कसैसँग पनि फेरी चढेको अनुभव थिएन। उनीहरू भने रमाए जस्ता पनि थिए; डराए जस्ता पनि थिए। कौशु बढी डराएकी थिइन्। मैले आफू फेरी पहिल्यै चढिसकेको बताएर उनको अवस्था सामान्य बनाउने प्रयास गरेको थिएँ।

पेनाङबाट मलक्का स्टेट पारि रहेको जर्जटाउन जानका लागि फेरी (नौका) चढ्नुको विकल्पै नभएको भने होइन। यहाँ फरक दूरीमा दुइटा सडक पुल पनि चालु छन्। तर हामी बटरवर्थ फेरी टर्मिनलमा आइपुगेका छौँ। हामीलाई फेरी (नौका)मा चढेको अनुभव संगाल्ने अवसरका रूपमा लिन पनि मन छ।

फेरीमा हामी चारैजना सँगसँगै जस्तो बसेका छौँ। हामी दुई अगाडिको सिटमा छौँ र छोराहरू लगत्तै पछाडिको सिटमा। यहाँ पेनाङको बटरवर्थस्थित फेरी टर्मिनलबाट पारि जर्जटाउनस्थित फेरी टर्मिनलमा पुग्न लाग्ने समयावधि लगभग २० मिनेट। फेरी आफ्नो गन्तव्यतिर गतिशील हुनुभन्दा पहिले आकस्मिक घटनाका सन्दर्भमा आत्मसुरक्षासँग सम्बन्धित जानकारी प्रसारण भयो।

जर्जटाउनस्थित फेरी टर्मिनलमा उत्रिएपछि हामीलाई हाम्रो यहाँको बास ‘नाइन्टीनाइन हेरिटेज हाउस’ नामको होमस्टेमा पुग्ने ध्याउन्नले छपक्कै छोप्यो। छोराहरूसँग हिँड्दासजिलो के भने उनीहरू पुग्नुपर्ने स्थान कता पर्छ भन्ने मात्र होइन; कति टाढा छ र लगभग कति समय लाग्छ भन्ने पनि क्षमता राख्छन्।

हामी ट्याक्सीमा होमस्टेमा आयौँ; झोला/सुटकेस बिसायौँ; फ्रेस भयौँ र बाहिर निस्कियौँ।

जर्जटाउनको नाम सन् १७६० देखि १८२० सम्म बेलायत र आयरल्यान्डका शासक/राजा जर्ज तृतीयको नामबाट बनेको हो। यसलाई पेनाङ पनि भनिन्छ। वास्तवमा पेनाङ यो राज्यको नाम हो र जर्जटाउन राजधानी।

जर्जटाउन दक्षिणपूर्व एसियामा बेलायतीको पहिलो बसोबासको क्षेत्र हो। बेलायती शासकले औपनिवेशिक क्षेत्रका रूपमा पहिले यही जर्जटाउन कब्जामा लिए र यहीँबाट बिस्तारै मलेसियालाई उपनिवेशीकरण गरे।

जर्जटाउनमा मलक्का स्टेटको जलमार्गमार्फत एसियाका विभिन्न भागबाट आप्रवासीहरू आएर बस्न थालेका हुन्। वर्तमान अवस्थामा जर्जटाउन मलेसियाको क्वालालाम्पुरपछि दोस्रो ठूलो महानगर हो। पेनाङ र आसपासका टापु मिलाएर यसको क्षेत्रफल २०,११८ वर्ग मिल छ। यो उत्तरी मलेसियाको वाणिज्य केन्द्र पनि हो। यहाँ बहुराष्ट्रिय कम्पनीहरूद्धारा सञ्चालित प्रशस्त उद्योगहरू छन्। मलेसिया सन् १९५७ मा बेलायती साम्राज्यबाट स्वतन्त्र भएको हो।

मलेसिया स्वतन्त्र हुनुभन्दा केहीअघि महारानी एलिजाबेथ द्वितीयाले जर्जटाउनलाई ‘नगर’ घोषणा गरिन्। यसरी जर्जटाउन मलेसियाको पहिलो ‘नगर’ भयो। युनेस्कोले जर्जटाउनलाई अद्वितीय वास्तुकला र सांस्कृतिक सहरका रूपमा परिभाषित गरेको छ। यसलाई विविध संस्कृति र धर्मको संगमका रूपमा पनि चित्रित गरिएको छ। पाककलाका दृष्टिबाट पनि जर्जटाउनलाई विशेष रूपमा पहिचान गर्ने गरिन्छ। यो युनेस्कोद्वारा विश्व सम्पदासूचीमा सूचीकृत नगर हो।

होमस्टेबाट बाहिरिएपछि हाम्रो मुख्य ध्यान भोक मेट्नेतिरै केन्द्रित भयो। हामीलाई जर्जटाउनमा प्रवेश गरेदेखि नै आकृष्ट गरेको थियो- एउटा स्तम्भले। साँझ छिप्पिँदै आएपछि त्यो स्तम्भ झिलिमिली भयो र अझ आकर्षक देखियो। हामीले स्तम्भका रूपमा पहिचान गरेको त्यो संरचना वास्तवमा सुपरमार्केट रहेछ। हिजो साँझको बाँकी समय हामीले त्यही आकर्षक सुपरमार्केटकै वरिपरि व्यतीत गर्‍यौँ।

आज भने हामी मलक्का स्टेटको किनारामा आएका छौँ र यहाँ राखिएका विविध प्रस्तरकला हेरेर रमाइरहेका छौँ। यहाँ यी मूर्तिहरूमध्ये केही ढुंगा खोपेर बनाए जस्ता पनि छन्; सिमेन्ट, सेरामिक्स वा त्यस्तै कुनै पदार्थबाट निर्माण गरिएका जस्ता पनि छन्। जेजसरी निर्माण गरिएका भए पनि यी प्रस्तरकला पर्यटकहरूको आकर्षणका वस्तु भएका छन्। यी प्रस्तरकलालाई फोकस गरेर फोटो खिच्न लाइनमा बस्नुपर्छ; पालो पर्खिनुपर्छ। यहाँ यी प्रस्तरकला हेरिरहँदा हामी भने मकवानपुरको हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको स्टोनपार्कलाई पनि खुबै सम्झिरहेका छौँ।

हेटाैँडामा रहँदा/बस्दा म पटकपटक गएको छु- यो स्टोनपार्कमा। केही वर्षअघि म परिवारसहित पनि यहाँ जान पाएँ। मकवानपुर जिल्लाको हेटौँडा नगरपालिकाको बजार क्षेत्रबाट झन्डै १७ किलोमिटर दक्षिणपूर्व दिशामा छ- गुम्बाडाँडा। पहिले हर्नामाडी गाउँपालिकाअन्तर्गत रहेको गुम्बाडाँडा वर्तमान प्रशासनिक विभाजनमा हेटौँडा नगरपालिका वडा नम्बर १८ मा पर्छ। ६.६७ हेक्टर क्षेत्रफलमा फैलिएको गुम्बाडाँडा चुरे पहाड शृंखलाको उत्तरी भागमा छ। तराईबाट हेटौँडा क्षेत्रमा प्रवेश गर्ने एउटा पैदल बाटो गुम्बाडाँडालाई बीचमा चिरेर जान्छ।

२०४० सालमा हर्नामाडीका स्थानीय बासिन्दा र वन कार्यालयको पहलकदमीमा गुम्बाडाँडाको संरक्षण र संवद्र्धन गर्ने विषयमा छलफल भयो। यस क्षेत्रको पर्यटकीय विकासका सन्दर्भमा गुम्बाडाँडाको उपयोग कसरी हुन सक्दछ भन्ने विचारविमर्शपछि रूपरेखा बन्यो- स्टोनपार्कको।

विभिन्न देशका स्टोनकलाका कलाकारहरूले लामो समय लगाएर आकार दिएका हुन्- यी ढुंगाका मूर्तिलाई। परिपक्व ढुंगालाई बिस्तारै खोपेर कुनै खास आकृतिमा ढाल्न प्रशस्त समय र श्रम खर्च हुने रहेछ। गुम्बाडाँडा स्टोनपार्कमा रूपान्तरण हुँदाताका म आफू त्यही क्षेत्रमा रहेकाले ढुंगाले कुनै खास आकृतिको स्वरूप गर्ने प्रक्रियाका बीचमा म पटकपटक गुम्बाडाँडामा पुगेको छु र त्यो प्रक्रिया हेरेर रमाएको छु।

यो स्टोनपार्क मदन भण्डारी लोकमार्गमा पर्ने रामधुनी चोकबाट दक्षिणतर्फ झन्डै एक किलोमिटरको दूरीमा रहेको छ। रामधुनी चोकबाट स्टोनपार्कसम्म कच्ची सडक छ। उसो त यो दम्स्याइलो उकालो हिँडेरै जाँदा पनि स्थानीय परिवेशसँग रमाउन सकिन्छ। यो स्टोनपार्क हाल हर्नाृमाडी कला प्रतिष्ठान, गुम्बाडाँडा मकवानपुरअन्तर्गत रहेको छ।

प्रकाशित: २७ वैशाख २०८२ १९:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast