भारत-पाकिस्तान : भाग्यले रोकेको युद्ध, तर कहिलेसम्म?

हिमाल प्रेस २६ वैशाख २०८२ ७:४९
38
SHARES
भारत-पाकिस्तान : भाग्यले रोकेको युद्ध, तर कहिलेसम्म? पाकिस्तानी सीमा नजिक तैनाथ भारतीय सेना। तस्बिर साभार : पीटीआई

भारत र पाकिस्तान युद्धको स्थितिमा पुग्दै पछाडि फर्कने गरेको बारम्बार देखिँदै आइएको हो। यसपालि पनि सम्भावना युद्ध नहुने नै छ। यद्यपि पछिल्ला दुई साताका घटनाले भारत र पाकिस्तान सम्बन्ध थप अस्थिर र खतरनाक हुँदै गएको देखाएका छन्।

आणविक शक्ति भारत र पाकिस्तान सन् १९४७ को विभाजनपछि चार पटक युद्धमा भिडिसकेको इतिहास छ। पाँचौँ पटक युद्ध नहुनका लागि दुई देशले तत्काल मतभेद सुल्झ्याउन अत्यन्तै आवश्यक देखिन्छ।
पाकिस्तानको लडाकु समूहहरूसँगको सम्बन्ध पनि भारतसँगको मतभेदको एक कारण हो। यसलाई पनि सुल्झ्याउन पाकिस्तानका लागि अपरिहार्य छ। किनभने लडाकु समूहसँगको नाता पाकिस्तानकै सुरक्षामाथि पनि चुनौती हो।

भारतीय सेनाले बुधबार पाकिस्तान प्रशासित कस्मिरमा क्षेप्यास्त्र खसाल्यो। यो आक्रमणलाई भारतले अप्रिल २२ को घटनाको बदला मानेको छ। भारत प्रशासित कस्मिरमा अप्रिल २२ का दिन आतंकवादी आक्रमण भएको थियो। जसमा परेर २६ जनाले ज्यान गुमाएका थिए। भारतीय अधिकारीहरूका अनुसार सो आक्रमण आतंकवादीहरूले पाकिस्तानको सहयोगमा गरेका थिए।

भारतको आरोप अस्वीकार गरेको पाकिस्तानले बुधबार भारतीय सेनाको कैयौँ विमान खसालिदिएको दाबी गरेको छ। सँगसँगै भारतीय आक्रमणको बदला लिने पनि पाकिस्तानी उद्घोष छ। यी दुई देशका सेनाले एकअर्काविरुद्ध धावा बोल्दा आखिरमा कस्मिरका नागरिक भने आतंकित बनेका छन्। भारत र पाकिस्तान युद्ध गर्न तम्सिँदा सधाझैँ यसपालि पनि अन्तर्राष्ट्रिय समुदाय शान्ति बहाल गर्न आग्रह गरिरहेको छ।

हाल सिर्जित परिस्थिति नयाँ होइन। सन् २००० यता पटकपटक भारत र पाकिस्तान युद्ध लडौँला झैँ गरेका छन्। बाहिरबाट हेर्दा परिस्थिति दोहोरिरहेको देखिए पनि सूक्ष्म रूपमा विश्लेषण गर्ने हो भने दुई देशबीचको द्वन्द्वले फरक आकार लिँदै गएको बुझ्न गाह्रो छैन। खासमा पाकिस्तानको शक्तिमा ह्रास आउँदै गएको छ। त्यहाँ आर्थिक मन्दी हटेको छैन। सन् २०२२ यता पाकिस्तानी लोकतन्त्र सेनाका कारण कमजोर बनेको छ। लोकतन्त्र शिथिल बनाउने अभियानको नेतृत्वकर्ता अरू कोही नभएर सेना प्रमुख जेनरल असिम मुनिर हुन्।

अचम्म के छ भने पाकिस्तान आफ्नो भूमिमा आतंकवादी गतिविधि सहन्छ। लस्कर ए तोइबाजस्ता संगठन खुलेआम पाकिस्तानमा आफूलाई मन लागेको गरिरहेका छन्। लस्कर विशेष गरी भारतीयलाई निसानामा पार्ने संगठन हो। लस्करबाहेक अरु लडाकु संगठनले पनि पाकिस्तानमा गतिविधि सञ्चालन गर्छन्। छिमेकी अफगानिस्तानमा आश्रित ती संगठनले पाकिस्तानमा गत वर्ष मात्र ४ सय ४४ आक्रमण गरेका थिए। जसमा परेर १६ सय १२ पाकिस्तानीको मृत्यु भएको तथ्यांक छ। यो पछिल्लो एक दशकयताकै सर्वाधिक मृतक संख्या हो।

पाकिस्तानको अर्थतन्त्र डुब्दै गइरहँदा भारत भने द्रूत गतिमा आर्थिक विकास गरिरहेको छ। हाल भारतको अर्थतन्त्र पाकिस्तानको भन्दा १० गुणा ठूलो भइसकेको छ। १० वर्षअघि पाकिस्तानी अर्थतन्त्रको आकार भारतको भन्दा मात्र पाँच गुणाले सानो थियो।

आर्थिक हैसियतमा आएको परिवर्तन मात्र होइन सैन्य प्रविधिमा आएको परिवर्तनका कारण पनि द्वन्द्व फरक बन्दै गइरहेको छ।

सन् २०१९ को ‘मिनी वार’ पछि भारतले रक्षा बजेटको आकार बढाउँदै लगेको छ। फ्रान्सबाट आधुनिक युद्धक विमान खरिद गरेको भारतले ड्रोनको विकासमा ध्यान दिइरहेको छ। पाकिस्तानको वायुसेनाका लागि पनि नयाँ विमान आयात गरिएका छन्। विमानसँग क्षेप्यास्त्र पनि चीनबाट आयात गरेको छ पाकिस्तानले।

हाल पाकिस्तानले गर्ने कुल सैन्य सामग्री आयातमा चीनको हिस्सा ८१ प्रतिशत छ। १५ वर्षअघि पाकिस्तानले खरिद गर्ने विदेशी हतियारमध्ये ३८ प्रतिशत मात्र चीनबाट आउँथे।

सन् २०२१ मा तालिवान काबुल फर्किएपछि पश्चिमा शक्तिले पाकिस्तानमाथि पहिले जस्तो ध्यान दिन छाडेको छ। समय यस्तो पनि थियो, जब पश्चिमा देशले पाकिस्तानलाई आफ्नो पक्षमा पार्न फकाउनेदेखि धम्काउनेसम्म गर्थे। अचेल उनीहरूले पाकिस्तानलाई मतलब गर्न छाडेका छन्।

अस्थिर पाकिस्तान, बढ्दो सैन्य प्रतिस्पर्धा र विश्व राजनीतिमा गहिरिँदो ध्रुवीकरणको सम्मिश्रण डरलाग्दो छ। हुन त हालसम्म भारत र पाकिस्तानका सेनाबीचको घम्साघम्सीले उग्र रुप लिइसकेको छैन। सत्य के पनि हो भने भारतीय क्षेप्यास्त्रले पहिलेभन्दा बढी मात्रामा पाकिस्तानी भूमिको यात्रा गरेका छन्। भारतीय निसानामा पहिलेभन्दा बढी शिविर परेका छन्। तर भारतीय युद्धक विमानले सीमा पार गरेका भने छैनन्।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रामक राष्ट्रवादको नीति अख्तियार गरेका थिए। यसपालि भने भारतीय सरकार र त्यहाँको समाज उग्र भइसकेका छैनन्। उता पाकिस्तानमा भारतीय आक्रमणले घाउ बनाएको छ। यो घाउ पुर्न भारतीय विमान खसालिएको खबर मल्हम बन्नसक्छ। यदि पाकिस्तानले भारतीय विमान झारेकै हो भने यसमा चिनियाँले बनाएको क्षेप्यास्त्रको भूमिका महत्त्वपूर्ण छ।

यसपालि द्वन्द्व जसोतसो थामिइहाले पनि भविष्यमा युद्ध नहोला भन्न सकिँदैन। युद्धको सम्भावना पूर्ण रूपमा अन्त्य गर्न विद्यान समस्या समाधान गर्न आवश्यक छ। यसका लागि कस्मिरमा भारतीय नीति फेरिनै पर्छ। सन् २०१९ मा केन्द्रले शासन गर्न थालेको कस्मिरलाई सैन्यकीकरण गरिएको छ। मानवअधिकार उल्लंघनका घटना बढेका छन्। अभिव्यक्ति स्वतन्त्रताको हनन भइरहेको छ।

योभन्दा ठूलो समस्या लडाकु संगठनहरूप्रति पाकिस्तानी आशक्ति हो। आफ्नो पक्षमा प्रयोग गर्न सकिन्छ भनेर पाकिस्तानले ती संगठन हुर्काएको हो। तर यसो भनिरहँदा अप्रिल २२ को घटनामा पाकिस्तानको संलग्नता पुष्टि हुन बाँकी रहेको तथ्य नजरअन्दाज गर्न सकिँदैन।

भारत पाकिस्तान द्वन्द्वलाई लिएर अमेरिकासँग अझैँ पनि बार्गेनिङ शक्ति बाँकी छ। यसकारण ट्रम्पले पाकिस्तानलाई सीधै लडाकु संगठनका तमाम शिविर बन्द गर भन्नुपर्छ। ती संगठनका नेतृत्वकर्तालाई जेल कानुनी कारबाही गर्न बाध्य बनाउनुपर्छ। अमेरिकाबाहेक अन्तर्राष्ट्रिय मुद्रा कोषसहितका अन्तर्राष्ट्रिय संस्थाले पनि पाकिस्तानलाई यस विषयमा दबाब दिन सक्छन्।

नयाँ चरणमा प्रवेश गरिरहेको विश्व राजनीतिका अरू शक्तिले पनि पाकिस्तानमाथि दबाब सिर्जना गर्न आवश्यक छ। पाकिस्तानको सबैभन्दा नजिकको मित्र चीन हो। तर लडाकु संगठनहरूको निसानामा चीनकै नागरिक पनि परिरहेका छन्। खाडीका साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारले पनि पाकिस्तानलाई लडाकु संगठनविरुद्ध कडा रूपमा प्रस्तुत हुन आह्वान गर्न आवश्यक छ। यी तीन देश लामो समयदेखि पाकिस्तानसँग नजिक रहँदै आएका छन्। तर पछिल्लो समय उनीहरूको भारतसँग व्यापारिक सम्बन्ध बलियो बन्दै गइरहेको छ।

पटकपटक युद्ध हुने परिस्थिति बन्दै गर्दा भारत र पाकिस्तान पछि हट्नु सायद आफैँमा भाग्यको खेल हो। यसपालि पनि भाग्यले काम गर्ला। तर सधैँ भाग्यले युद्ध रोक्छ भन्ने छैन।

प्रकाशित: २६ वैशाख २०८२ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast