
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मलुकको राजनीति तीन धु्रवमा धु्रवीकृत हुँदै गएको बताएका छन्।
बिहीबार जसपा नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष यादवले मुलुकको राजनीति अग्रगामी, यथास्थितिवादी र पश्चगामी गरी तीन ध्रुवमा धु्रवीकृत भइरहेको बताए।
उनले अग्रगामी शक्ति जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समावेशीता, नागरिक स्वतन्त्रता र मौलिक हकको रक्षाका लागि दृढ रहे पनि यथास्थितिवादीहरू लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गरे पनि संघीयतालाई पचाउन नसकेको जिकिर गरे।
पछिल्लो समय पश्चगामी शक्तिहरूले समेत टाउको उठाउन थालेको भन्दै यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशीता र नागरिक स्वतन्त्रताको पक्षमा चट्टानी अडानका साथ जसपालाई उभिनुपर्ने अवस्था आएको बताए।
राजनीतिक खिचातानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भए पनि समानता, भागेदारी र समानुपातिक प्रतिनिधित्वको समस्या अझै कायम रहेको उनको भनाइ छ।
अग्रगामी शक्तिहरू कमजोर हुँदा यथास्थितिवादी र पश्चगामी शक्तिहरूले प्राप्त उपलब्धिलाई संकटमा पार्ने दुस्साहस गर्न थालेको भन्दै उनले यस्तो दुस्प्रयासलाई आफूहरूले सफल हुन नदिने उल्लेख गरे।