भारत-पाकिस्तान द्वन्द्वको सैन्य विश्लेषण

स्रोत र साधनमा भारत बलियो, आणविक हतियारमा दुवैको स्तर समान

हिमाल प्रेस २५ वैशाख २०८२ १८:११
34
SHARES
भारत-पाकिस्तान द्वन्द्वको सैन्य विश्लेषण पाकिस्तानी आक्रमणबाट क्षतिग्रस्त भारत प्रशासित कस्मिरस्थित पुन्छमा रहेको मन्दिर। तस्बिर : एएफपी/रासस

एकअर्काविरुद्ध बदला लिने भावनाका कारण भारत र पाकिस्तान सैन्य कारबाहीमा उत्रने गरेको दशकौँ भयो। जसका कारण हरेकपल्ट दुवैतर्फ सर्वसाधारण नागरिक मारिने गरेका छन्। दुई साताअघि मात्र भारत प्रशासित कस्मिरमा पर्यटकमाथि आक्रमण भयो। आक्रमणमा २६ पर्यटकले ज्यान गुमाए। आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतीय दाबी छ। भारतको दाबीलाई पाकिस्तानले स्वीकार गरेको छैन।

आणविक शक्ति रहेका यी दुई देश हरेक पटक भिड्दा शान्ति कायम राख्न अमेरिकाले कूटनीतिक दबाब दिने गरेको छ। जबकि चीन भने अमेरिकाले जस्तो दबाब दिन हिच्किचाउँछ। के अमेरिका र चीन अहिले पनि त्यही नीति अख्तियार गरिरहेका छन्? प्रस्ट छैन।

भारतीय रक्षा विश्लेषक प्रवीण स्वह्नीको बुझाइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत र पाकिस्तानबीचको समस्या उनीहरू स्वयंले समाधान गरून् भन्ने चाहन्छन्। ‘ट्रम्प भारत र पाकिस्तान दुवैसँग उस्तै सम्बन्ध राख्न चाहन्छन्,’ भारतीय सेनामा अधिकृत रहिसकेका स्वह्नीको भनाइ छ।

भारतीय सेनाले बुधबार पाकिस्तानभित्र रहेका नौ आतंकवादी शिविरमाथि हवाई आक्रमण गरेको जनाएको छ। आक्रमण पाकिस्तान प्रशासित कस्मिर मात्र होइन पन्जाब राज्यमा पनि गरिएको थियो। ‘हाम्रो निसानामा पाकिस्तानी सैन्य शिविर थिएनन्। आतंकवादीहरूलाई मात्र निसानामा पारिएको हो,’ भारतीय वायु सेनाकी व्योमिका सिंहले भनिन्।

ती शिविरमा आक्रमण गर्दा सर्वसाधरणमाथि कुनै प्रकारको क्षति नपुगोस् भनेर ध्यान दिइएको उनको भनाइ थियो। ‘आतंकवादी शिविरमाथि आक्रमण गर्दा भारतले असाध्यै सावधानी अपनाएको हो तर पाकिस्तानले कुनै प्रकारको खराब हर्कत गरे, कडा जवाफका लागि भारतीय सेना तयार छ,’ सिंहले चेतावनी दिइन्।

उता पाकिस्तानी सैन्य अधिकारीहरूले फाइनान्सियल टाइम्ससँगको कुराकानीमा आफूहरूले पाँच भारतीय युद्धक विमान खसालिदिएको दाबी गरेका छन्। फ्रान्समा निर्मित तीन राफाएल र दुई रुसी जहाज खसालेको पाकिस्तानको दाबी छ। पाकिस्तानको यो दाबी प्रमाणित भने भएको छैन।

बलियो मानिने पाकिस्तानी सेनासँग झन्डै ६ लाख ६० हजार जनशक्ति छ। यद्यपि यो संख्या भारतीय सेनाको भन्दा आधा कम हो। सैन्य अध्ययन संस्थान इन्टरनेसनल इन्स्टिच्युट अफ स्टारटेजिक स्टडिजका अनुसार भारत पाकिस्तानभन्दा करिब १० गुणा बढी रक्षामा खर्च गर्छ।

सैनिक संख्या र बजेट भारतको भन्दा कम भएका कारण पाकिस्तानी सेनाको रणनीति ‘सकेसम्म रक्षात्मक र अत्यावश्यक परे मात्र प्रत्याक्रमण’ भएको पूर्वजेनरल तथा कूटनीतिज्ञ राजा मोहम्मदको भनाइ छ। भारतले गत वर्ष रक्षामा ७४ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरेको थियो। यस आधारमा भारत एसियामा दोस्रो ठूलो रक्षा बजेट भएको देश हो। विश्वका बाँकी देशसँग तुलना गर्दा भारतीय रक्षा बजेट छैटौँ ठूलो छ।

‘को कति बलियो छ भन्ने कुरा युद्धले मात्र प्रस्ट पार्छ। पाकिस्तानसँग साँच्चै युद्ध भए भारत कुन हदसम्म बलियो छ, सजिलै देखिनेछ,’ भारतीय थिंक ट्यांक विवेकानन्द इन्टरनेसनलसँग आबद्ध पूर्वलेफ्टिनेन्ट जनरल राकेश शर्मा युद्धमा भारत पाकिस्तानभन्दा निकै बलियो साबित हुने दाबी गर्छन्।

सेनाको आकार र बजेटमा भारतभन्दा पछि रहेको पाकिस्तान अर्को पक्षमा भने बराबर छ। त्यो हो, आणविक हतियार। अमेरिकाको सैन्य नियन्त्रण संघको आकलनअनुसार भारत र पाकिस्तानसँग १६० देखि १७० सम्म आणविक तोप छन्।

यसबीचमा पाकिस्तानी सेनाले चिनियाँ कम्पनीहरूसँग मिलेर अहिले आफूसँग भएका भन्दा शक्तिशाली क्षेप्यास्त्र पनि बनाइरहेको छ। भारतसँग पनि घरेलु क्षेप्यास्त्र अग्नि छ, जसले ५ हजार किलोमिटर टाढामा सम्म आक्रणम गर्न सक्छ।

इतिहास साक्षी छ, भारत र पाकिस्तानले एकअर्कामाथि दबाब सिर्जना गर्न विदेशी शक्तिबाट हतियार खरिद गर्दै आएका छन्। अहिले पनि यो क्रम जारी छ।

सन् २०२० देखि २०२४ सम्म पाकिस्तान भित्रिएका कुल सैन्य सामग्रीमध्ये ८१ प्रतिशत चिनियाँ हुन्। विगतमा पश्चिमा देशहरूसँग हतियार खरिद गर्ने गरेको पाकिस्तानले पछिल्लो समय चीनलाई आफ्नो आयातको मुख्य स्रोत बनाइरहेको छ। कतिसम्म भने पाकिस्तानी वायु सेनासँग भएका अधिकांश जहाज चीनमा निर्मित हुन्। कतिपय जहाज पाकिस्तान आफैँले बनाएको छ, तर त्यसमा पनि चिनियाँ सहयोग छ।

भारतको पनि घरेलु रक्षा उद्योग छ। सेनाका लागि आवश्यक पर्ने धेरैजसो सामग्रीका लागि रुसको भर पर्दै आए पनि भारत सोही देशको सहयोगमा घरमै जहाज र हतियार निर्माण गर्छ। क्षेप्यास्त्र विकासमा पनि भारतलाई रुसको सहयोग छ।

उसो त भारतका पछिल्ला सैन्य सामग्री आयात अमेरिका र फ्रान्सबाट भएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प भारतलाई आफ्नो देशबाट थप हतियार खरिद गर्न दबाब दिइरहेका छन्। ट्रम्प प्रशासनमा विदेशमन्त्री रहेका मार्को रुबियोले भारतीय आक्रमणपछि आफू भारत र पाकिस्तानको नेतृत्वसँग निरन्तर संवादमा रहने र शान्तिपूर्ण निकासका लागि पहल गरिरहने प्रतिक्रिया दिएका थिए।

पाकिस्तानको सबैभन्दा नजिकको मित्र मानिने चीनले पनि दुवै देशलाई तत्काल संयम अपनाउन आग्रह गरेको छ। भारतसँगको सीमा विवादको पछिल्लो अध्याय समाधान गर्न चाहिरहेको चीन दक्षिण एसिया युद्धमा नफसोस् भन्ने चाहिरहेको कतिपय विश्लेषकहरूको बुझाइ छ। यद्यपि चीनले पाकिस्तानी भूमिमा भएको भारतीय आक्रमण दुःखद रहेको टिप्पणी गरेको छ।

‘पछिल्लो ६ महिनामा चिनियाँहरूले भारतसँग सम्बन्ध सुधारका लागि प्रयास गरेका छन्। अमेरिकासँगको व्यापार युद्ध झाँगिँदै जाने सम्भावना बढेपछि चीनका लागि भारतीय बजार झन् महत्त्वपूर्ण बनेको छ। अमेरिकाका कारण सिर्जना हुने आर्थिक समस्याबाट पार पाउन चीनलाई भारत चाहिएको छ, यस्तोमा उसले किन युद्ध होस् भन्ने चाहन्छ र?’ पूर्वलेफ्टिनेन्ट जनरल शर्माको प्रश्न छ।

भारतीय बजार चाहिने भए पनि चीनले पाकिस्तानलाई सहयोग गर्न नछाड्ने शर्माको बुझाइ छ। ‘पाकिस्तानको भारतसँगको विवादमा चीन सीधा संलग्न हुँदैन। तर पर्दा पछाडिबाट पाकिस्तानका लागि चिनियाँ सहयोग जारी रहन्छ। उदाहरणका लागि, स्याटलाइटबाट संकलन हुने सूचनाको उपलब्धता वा हवाई रक्षाका लागि हतियार,’ शर्मा भन्छन्।

गत महिना चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानी समकक्षीसँगको वार्तामा चीन पाकिस्तानको सुरक्षा चिन्तासँग जानकार रहेको बताएका थिए। उनले पाकिस्तानको सार्वभौमिक सुरक्षाका लागि चीन सहयोग गर्न सधैँ तयार रहिरहने प्रतिबद्धता पनि दोहोर्‍याएका थिए।

भारत र पाकिस्तानबीचको पछिल्लो झगडाले युद्धको रूप लिने सम्भावना बढिरहँदा अमेरिकी राष्ट्रपति त्यसो नहोस् भन्ने चाहन्छन्। उनले सामाजिक सञ्जाल एक्समा व्यक्त गरेको विचारले कम्तीमा यही संकेत गर्छ। ‘यो चाँडै अन्त्य होस्,’ ट्रम्पले आशा व्यक्त गरेका छन्।

भारतीय सेनाका पूर्वप्रमुख जेनरल मनोज नाराभाने भने ट्रम्फभन्दा फरक कित्तामा छन्। ‘अझ धेरै कुरा हुन बाँकी छ,’ नाराभानेले लेखेका छन्।

फाइनान्सियल टाइम्सबाट

प्रकाशित: २५ वैशाख २०८२ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast