
काठमाडौँ- पहलगाममा आतंकारी आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध मात्रै चिसिएको छैन दक्षिण एसियाको भूराजनीतिक अवस्थालाई थप जटिल बनाएको छ। भारतको पहलगामको बैसरनमा अप्रिल २२ मा भएको आक्रमणमा पाकिस्तान संरक्षित आतंककारीहरू संलगन रहेको भारतको आरोप छ।
आक्रमणमा एक नेपाली र २५ भारतीयको ज्यान गएको थियो। उक्त आक्रमणकारीले धर्म सोधेर गोली हानेको विषय बाहिर आएपछि यसले झन् फरक रूप लिएको हो। सोही कारण भारतले पाकिस्तानलाई जिम्मेवार ठहराउँदै पाकिस्तानका आतंकवादी रहेको स्थानमा जबाफी कारबाही सुरु गरेको छ।
भारत र पाकिस्तान आमनेसामने भइरहेका बेला नेपाली सेनाले पाकिस्तानका भर्खर तालिम सकेका १२ जना सैनिक अधिकृतलाई नेपाल आउन र घुम्ने अनुमति दिएको छ। यसले कूटनीतिक क्षेत्रमा गलत सन्देश गएको छ। भारतीय सेना प्रमुख नेपालको मानार्थ प्रधानसेनापति र नेपाली सेना प्रमुख भारतीय सेनाको मानार्थ प्रधानसेनापति रहने व्यवस्था छ।
एकजना कूटनीतिक जानकारले भने, ‘पाकिस्तानका सर्वसाधारण वा अधिकारी नेपाल भ्रमण गर्नु हुँदैन भन्ने होइन तर अहिले पाकिस्तानी सेनाको प्रतिनिधिमण्डल नेपाल आउने समय ठिक हो त? यो प्रश्न सेनापतिलाई सोध्न आवश्यक छ।’ यस प्रकरणले चीनमा प्रशिक्षित प्रधानसेनापति अशोकराज सिग्देलमाथि प्रश्न उठेका ती कूटनीतिज्ञको बुझाइ छ। नेपाल कूटनीतिमा अनुभवी र यस क्षेत्रकै पुरानो कूटनीति संयन्त्र भएको मुलुक हो तर हामी यस्तो अवस्थामा पछिल्लो समय चुक्ने गरेका छौँ।
प्रधानसेनापति सिग्देलले यसबारे सरकारलाई जानकारी दिएर सरकारले लापरबाही गरेको कि उनी आफैँले यो नियमित हो भनेर अनुमति दिएका हुन् भन्ने विषय खडा भएको छ। साथै नेपालको कूटनीतिक मामिला कुन तहमा झरेको रहेछ भन्ने एउटा उदाहरण पनि हो यो। कूटनीतिमा संवेदनशीलताको अध्ययन हुनुपर्छ। यस्तो समयमा सैन्य प्रशिक्षित व्यक्ति नेपाल आएर छलफल गर्न सक्छन्। कूटनीतिमा त्यसको सन्देश के जान्छ भन्नेचाहिँ ख्याल गर्नुपर्छ।
यूएईका परराष्ट्रमन्त्री नेपाल आउँदा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा विदेश जाने, भारत र पाकिस्तान युद्धका लागि आमनेसामने हुँदा नियमित भ्रमण त हो नि भनेर पाकिस्तानका सैन्य अधिकारीको टोली नेपाल आउन दिने जस्ता घटना सामान्य होइनन्। पाकिस्तान संरक्षित आतंकवादी आक्रमणपछि भारतले सिन्धु जल सम्झौता रद्द गर्ने, अटारी बाघा सीमा, पाकिस्तानी दूतावास बन्द गर्ने र पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छोड्न आदेश दिनेजस्ता कार्य गरेको थियो।
नेपाल र भारतीच खुला सिमाना छ। भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसमेत नेपाल आएर सीमामा कडा अनुगमन गर्न आग्रह गरेका थिए। त्यही आग्रहको पर्सिपल्ट पाकिस्तानी सेनाका अधिकृत नेपाल आउनु र नेपालका पूर्व सेनापतिहरू र केही वाहालवाला अधिकारी पाकिस्तानी दूतावासले आयोजना गरेको रात्री भोजमा पुग्ने कार्यले पनि संवेदशिलताको बुझाईमा कमी रहेको देखिन्छ। भारतले नेपाललाई कूटनीतिक नोट लेखेर सीमा सुरक्षा कडा गरिदिन आग्रह गरेको थियो। त्यही विषयमा छलफल भइरहँदा हवाईमार्गबाट आएका पाकिस्तानी सेनाका अधिकारी माउन्टेन उडानको साथै विभिन्न गणमा पुगेर अन्तरक्रियामा संलग्न थिए।
भारत र पाकिस्तानको तनाव उत्कर्षमा पुगिरहँदा पाकिस्तानको उच्चस्तरीय सैनिक टोली नेपाल भ्रमणको विषय संसद्मा उठ्नु सामान्य हो। पूर्वपरराष्ट्रमन्त्री एनपी साउद र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालको यस्तै कार्यले यस क्षेत्रमा अस्थिरता ल्याएको बताए। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अध्यक्षसमेत रहेको नेपालले द्वन्द्व कम गराउन मध्यस्थताको भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको सुझाव छ।
कूटनीतिक क्षेत्रका जानकारहरू नेपालकै कारण सार्क संकटमा परेको बताउँछन्। सार्क सक्रिय बनाउन नेपालले कुनै प्रयास गर्न सकेको छैन। जसले गर्दा सार्कको सान्दर्भिकता र प्रभावकारितामाथि पनि प्रश्न उठेको छ। भारतले पहलगाम आक्रमण पाकिस्तानद्वारा समर्थित आतंकवादी संगठन लस्कर-ए-तैयबा र त्यसको सहयोगी ‘द रेजिस्टेन्स फ्रन्ट’ टीआरएफसँग जोडेको छ।
भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएले आक्रमणमा पाकिस्तान संरक्षित आतंकवादीहरूको संलग्नता रहेको दाबी गरेको छ। स्थानीय र विदेशी आतंकवादीहरूले १६ दिनअघि नै पहलगाम क्षेत्रको रेकी गरेको खुलासा भएको दाबी एनआईएको छ।
भारतले ‘अपरेसन सिन्दूर’ मार्फत पाकिस्तान नियन्त्रित कस्मिरमा रहेका आतंकवादी किल्लामा हवाई आक्रमण गरेको छ। यसरी आक्रमण हुँदा २६ जनाको ज्यान लिएको र ठूलो क्षति भएको दाबी भारतीय पक्षको छ। पाकिस्तानले भारतीय आक्रमणमा आफ्नो तर्फ ठूलो क्षति पुगेको स्वीकार गरिसकेको छ। उसले भारतको आक्रमणलाई ‘अनुचित’ भन्दै जवाफी कारबाहीको चेतावनी दिइरहको छ।
यही अवस्थामा पाकिस्तानका अधिकारीहरू यहाँ राजनीतिक भेटघाटमा छन्। यस्तो भेटघाटको उद्देश्य कूटनीतिक तवरमा छिमेकलाई कमजोर बनाउनु देखिन्छ। यसबाट के पुष्टि हुन्छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नभएको रिस पोखेका छन्। घटना भएको जानकारी आएपछि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर जुन आत्मीयता देखाएका थिए त्यो भन्दा कैयौँ गुणा घाउ अहिले पाकिस्तानका अधिकारीलाई नेपाल भ्रमण र संयुक्त भेटपछि भएको छ।
नेपाली सेनाका माथिल्लो तहमा रहेका अधिकारीहरु कहाँ बाटो बनाउन पाइन्छ, कहाँ आफ्ना नातेदारले कमिसन खाने स्थान पाउँछन्, सेनाको पानी बन्द गराउन पाए बिचौलियाबाट पानी ल्याउँदा कति नाफा हुन्छ, जुत्ता ट्रयाकसुट बनाउने कम्पनी बन्द गरेर नातेदारमार्फत ल्याउँदा कति कमिसन आउँछ भनेर हिसाब गर्न व्यस्त छन्। कल्याणकारी कोषबाट कति रकम कता खर्च गराउने र त्यसको ब्याजमा कसरी कमिसन लिने जस्ता विषयमात्र सेनाको सोचाइ देखिन्छ।
अहिले भारत र पाकिस्तानबीच जुन किसिमको तनाव उत्पन्न भएको छ, त्यस्तै अवस्था भारत र चीनको पनि हुन सक्छ। यस्तो अवस्थामा के गर्ने भनेर रणनीति बनाउने काम हो सेनाको। अन्यथा यति धेरै सेना नेपालीको करमा किन आवश्यक रह्यो र? यस्तै कार्य गर्नको लागि हो भने र सेवा निवृत्त सेनाका घरमा काम गर्नकै लागि हो भने अहिले भएको सेनामा आधा भए पनि पुग्ला। सेनाले मुलुकको हितका लागि काम गर्ने हो भने त्यस्ता विषयमा गम्भीर हुन आवश्यक छ।
सेनाका उच्च अधिकारीमाथि चार पुस्तालाई पुग्ने सम्पत्ति जोहो गर्ने गरेको आरोप लाग्ने गरेको छ। यहाँ प्रश्न उठेको छ- के नेपाली सेना पनि पाकिस्तानको सेनाजस्तै हुने अब? छिमेकलाई उपेक्षा गरेर पाकिस्तानतर्फ मोडिने? वा त्यो भन्दा परको मुलुकसँग सम्बन्ध विस्तार गर्ने र छिमेकलई त्याग्ने? त्यस्तो गर्न मिल्छ?
नेपालको कूटनीतिको आरम्भ छिमेकबाट हुन्छ भन्ने विषय सेनाका अधिकारीले हेक्का राख्न आवश्यक छ। कस्मिर विवाद पुरानै हो। सन् १९७१ मा बंगलादेश युद्ध, १९९९ को कारगिल युद्ध, २००८ को मुम्बई आक्रमण त्र होइन पछिल्लो समय उरी घटना र अन्य सानातिना अन्य घटना पनि छँदैछन्।
नेपालले भारत र पाकिस्तान दुवैसँग मैत्रीपूर्ण सम्बन्ध राख्दै आएकाले दुवै मुलुकबाट प्रतिनिधिमण्डल आउन सक्छ तर त्यो कुन समय कस्तो अवस्थामा आउने भन्ने हुन्छ नि। त्यही हो कूटनीतिमा ध्यान दिनुपर्ने विषय। सामान्य कुरा त जसले पनि गर्न सक्छ नि। यही जटिल अवस्थामा कसरी प्रस्तुत हुने विषयमा सेनाको उच्च नेतृत्व र परराष्ट्र मन्त्रालय गम्भीर हुनुपर्छ।
पाकिस्तानी सैन्य अधिकारीको भ्रमण अनुचित मात्र होइन यसले नेपाली सेना र सरकारबीचको सम्बन्धमा चिसोपन देखिएको छ। किनभने सैनिक टोलीको भ्रमणलाई सरकारले पूर्ण समर्थन गरेको छैन भने संसद्मा पनि यस विषयले राजनीतिक रङ लिएको प्रस्ट छ। नेपालले १९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धिमार्फत भारतसँग गहिरो रणनीतिक सम्बन्ध राख्दै आएको छ, जसले रक्षा र विदेश नीतिमा सहकार्य गर्न जोड दिन्छ। पाकिस्तानसँगको सैन्य सम्पर्कले भारतको संवेदनशीलता छोएको हुन सक्छ, विशेष गरी पहलगाम आक्रमणपछि।
नेपालको यस्तो अवस्थाले क्षेत्रीय सन्तुलन कायम गर्ने चुनौती थपिएको छ। नेपालले भारत र पाकिस्तान दुवैसँग सन्तुलित सम्बन्ध राख्न खोजे पनि यस्ता घटनाले नेपालको कूटनीतिक स्वायत्ततामाथि प्रश्न उठाउँछन्। नेपाली सेनाले पाकिस्तानी सैनिक अधिकारीहरूको भ्रमणलाई नियमित सैन्य आदानप्रदानका रूपमा लिएको छ। संसद्मा उठेका प्रश्नहरूले भे सरकार र सेनाबीच समन्वय कमी भएको संकेत गर्छ। हुन पनि परराष्ट्र मन्त्रालय र सेनाबीच समन्यकारी भूमिका छैन।
नेपालले यस्तो कूटनीति अवलम्बन गरेपछि सार्कको अवस्था खस्केको हो। २०१६ मा इस्लामाबादमा हुने भनिएको सार्कको १९औँ शिखर सम्मेलन भारतको बहिष्कार र अन्य सदस्य राष्ट्रहरूको समर्थनमा रद्द भएको थियो। यसको कारण पनि कस्मिरमा आक्रमण थियो। अहिलेको तनावमा नेपालले भारत र पाकिस्तानसँग मध्यस्थता गर्न सक्ने सम्भावना कम छ। दुवै देशको अडान र नेपालको आफ्नै आन्तरिक कूटनीतिक सीमितताले यो सम्भव देखिँदैन। झन् अहिले नेपालले गरेको भूल यसको सहायक बनेर आएको छ। पाकिस्तानी सैनिक मण्डलको नेपाल भ्रमणले नेपालको कूटनीतिक चुनौती र आन्तरिक राजनीतिक जटिलतालाई उजागर गरेको छ।
भारत-पाकिस्तान तनावको असर नेपाल र सार्कजस्ता क्षेत्रीय मञ्चमा पनि परेको छ। त्यति मात्र होइन भारतको कडा कदम र पाकिस्तानको जवाफी रणनीतिले दक्षिण एसियाको शान्ति र स्थायित्व जोखिममा पारेको छ। यस्तो अवस्थमा नेपालले तटस्थ र सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ। भारतसँगको रणनीतिक सम्बन्ध र क्षेत्रीय गतिशीलताले नेपाल साँच्चै जटिल अवस्थामा छ। यसमा ध्यान पुर्याउन आवश्यक छ।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरव केसीका अनुसार भारतीय सैनिक अधिकारीहरूको नेपाल भ्रमण नियमित हो। उनले भने, ‘यसले खास असर गर्दैन। यसमा भारत पाकिस्तानको विवाद जोड्न मिल्दैन।’
नेपालले त भारत र पाकिस्तानको सम्बन्धलाई नजिक पारेर सार्कलाई पुनर्जन्म दिनुपर्नेमा उल्टै राजनीतिक नेतृत्वले व्यक्तिगत फाइदाका लागि सेनालाई उपयोग गरेको देखिएको छ। क्षेत्रीय सहकार्यको सम्भावना भारत-पाकिस्तान सम्बन्धको सुधारमा निर्भर गर्ने विषय सामान्य व्यक्तिले पनि बुझेको हुन्छ। यहाँ त बुझेकाले नै जानाजान सम्बन्ध बिगार्न लागेकाले हामी कतै अँध्यारोतिर प्रवेश त गर्दै त छैनौँ भन्ने प्रश्न उठेको छ।
भारत र पाकिस्तान दुवै परमाणु सम्पन्न मुलुक हुन्। यसैले यस्तो मुलुकले कुनै बेला पनि युद्ध हुन सक्छ। यस्तो बेलामा नेपाल सरकारले १२ जना पाकिस्तानी सेनाको टोली बोलाएर घुमाउनु आफैँमा आश्चर्यजनक छ। पछिल्लो समय सेनाबाट सेवानिवृत्तदेखि नेतृत्वमा रहेकासम्मको नागरिकता छानबिन विषयसमेत संसद्मा उठेको छ। सेनाभित्र भएको भ्रष्टाचार हेर्न अख्तियारलाई दिनुपर्ने माग पनि उठ्दै आएको छ। मुख्य विषयचाहिँ दक्षिण एसियाको शान्तिका लागि सबै पक्षले संयम र कूटनीतिक संवादलाई प्राथमिकता दिनु आवश्यक छ।