
काठमाडौँ– राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले राजसंस्था पुनस्र्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको संयोजन र परिचालन नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिमार्फत हुने समितिले जनाएको छ।
समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिन्दुराष्ट्र र राजसंस्था स्थापना नभएसम्म नटुङ्गिने बताए। उनले आफूहरुको आन्दोलनमा कुनै पनि बाह्य शक्तिहरुको संलग्नता नरहने भन्दै नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुने बताए।
सुवेदीले राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरुको संयुक्त प्रयास भएको जिकिर गरे। उनले २०७२ साल असोजमा जारी गरिएको संविधानले स्थापना गरेको संघीय, धर्मनिरपेक्ष गणतन्त्र पूर्ण रुपमा असफल प्रमाणित भएको दाबी गरे।
पत्रकार सम्मेलन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको आन्दोलन कुनै व्यक्तिका लागि नभएर देशको सुखद भविष्यका लागि भएकाले निष्कर्षमा नपुगी आन्दोलन नरोकिने स्पष्ट पारे। उनले गल्ति सच्चाउन तयार हुन सुझाव दिँदै गल्ति नसच्चाए भाग्न तयार हुन चेतावनी दिए।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुको आन्दोलन राष्ट्रबादी भएकाले सहभागी हुन आह्वान गरे। भ्रष्ट शासकहरुबाट देशलाई मुक्त गराउने र हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन एकतावद्ध भएर अघि बढ्ने उनले बताए।
अध्यक्ष थापाले आगामी जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनले निष्कर्षमा नपुगेसम्म बिश्राम नलिने स्पष्ट पारे।