
काठमाडौँ- ललितपुर महानगर र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। आफ्नो प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा बिहीबार हस्ताक्षर गरेका हुन्।
चैनपुर संखुवासभा जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन, ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण केन्द्रका रूपमा छ।
११ वडामा विभाजित चैनपुर नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणनाबमोजिम २८ हजार ७४ जनसंख्या रहेको छ। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धपछि दुवै पालिकाका असल अभ्यास आदानप्रदान गर्न सहज हुने बताए। उनले भने, ‘अब हामी एकै परिवारको भयौँ। ललितपुर र चैनपुर दूरीको हिसाबले टाढा भए पनि आत्मीय भयौँ, मन मिल्यो।’ उनले चैनपुरको विकासको लागि ललितपुर महनगर तयार रहेको बताए।
चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले महानगर प्रमुख आफ्नो प्रतिनिधिमण्डलसहित भगिनी सम्बन्ध कायम गर्नका लागि चैनपुर आएकोमा प्रमुख महर्जनलाई स्वागत गरे। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने बताए।
चैनपुर नगरपालिकाकी उपप्रमुख एलिना श्रेष्ठले भगिनी सम्बन्धले चैनपुरको विकासलाई थप उचाइ दिने बताइन्।
कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले नेपालकै समृद्ध नगरपालिका ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्नु चैनपुरबासीको मात्रै नभई संखुवासभाकै लागि गौरवको विषय भएको बताए।
कोशी प्रदेश आर्थिक मामिला मन्त्रालयका पूर्वमन्त्री तुलसी न्यौपानेले भगिनी सम्बन्ध जीवन्त रहोस् भन्दै शुभकामना दिए। पूर्व सांसद राजेन्द्र गौतमले ललितपुर महानगर र चैनपुर नगरपालिकाबीचको भगिनी सम्बन्ध ऐतिहासिक भएको बताए।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन शाक्य लगायतले मन्तव्य राखेका थिए। महानगर प्रमुख महर्जन नेतृत्वको प्रतिनिधिभण्डलमा प्रवक्ता एवम् वडा नं. ९का अध्यक्ष राजु महर्जन, वडा नं.१ का अध्यक्ष निर्मल तण्डुकार, महानगरका वरिष्ठ अधिकृत सागर थापा, वडा नं. ११ का वडा सदस्य जुबन तण्डुकार, वडा नं. १८ सदस्य रुक्मिणी महर्जन छन्।