संक्रमणकालीन न्यायको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : गृहमन्त्री

हिमाल प्रेस २५ वैशाख २०८२ १५:३८
10
SHARES
संक्रमणकालीन न्यायको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : गृहमन्त्री गृहमन्त्री रमेश लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रबिन्दुमा राखेर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा हालसम्मको प्रगति र आगामी कार्यदिशा विषयक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायको विषयलाई गृह मन्त्रालय र नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।

‘संक्रमणकालीन न्यायको विषय अत्यन्तै महत्वपूर्ण र गम्भीर विषय हो। संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई पूर्णता दिएका छौँ, कानूनले पूर्णता नपाउँदा मुद्दा सम्बोधन हुन सकेको थिएन, यसमा म प्रष्ट छु, त्यसका लागि म काम गर्न तयार छु, त्यसका लागि सहयोग पुग्नेगरी तपाईँहरुले काम गर्न सक्नुपर्छ, ज्यादै ठूलो समस्या छ, यौनजन्य हिंसाका पीडितहरु धेरै छन्, बलात्कार र यौनजन्य हिंसामा कुनै मेलमिलाप पनि हुँदैन र क्षमतादान पनि हुँदैन, सरकार यस विषयमा अगाडि बढेको छ,’ उनले भने, ‘संक्रमणकालीन न्यायका विषयलाई सरकारले सम्बोधन गर्छ।’

उनले संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्ने कुरा कुनै पनि बहानामा ढिलाई गर्न नहुने बताए।

‘संक्रमणकालीन न्यायको विषयमा ढिला भयो भने हामी पछि पर्छौँ, दुई आयोगका पदाधिकारी सिफारिसका लागि सिफारिस समिति अगाडि बढिसकेको छ,’ लेखकले भने, ‘यसपटक बनेको ऐनमा पीडित समन्वय इकाई भनेर गठन भएको छ, नियमावलीमा पनि थप स्पष्ट पारेर पीडितको प्रतिनिधित्व गराउन सकिन्छ, पीडितको सहभागिताविना संक्रमणकालीन न्याय अगाडि बढ्न सक्दैन, पीडित र आयोगलाई जोड्ने गरि हामी अगाडि बढ्न सक्छौँ।’

उनले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव १३२५ र १८२०ले द्वन्दपीडित महिलाहरूको सुरक्षा र सहभागिता निर्णयका प्रत्येक तहमा सुनिश्चितता हुनुपर्नेमा जोडदिए।

‘संक्रमणकालीन न्यायको विषय प्राथमिकताका साथ अगाडि बढ्छन्,’ उनले भने, ‘द्वन्दपीडितहरुका सामाजिक संस्था र मानव अधिकार आयोगले यो क्षेत्रमा राम्रो काम गरेको छ।’

प्रकाशित: २५ वैशाख २०८२ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast