ओली सरकारलाई रास्वपाको ‘टेको’, समर्थन कि सौदाबाजी?

किरण पौडेल २५ वैशाख २०८२ २१:४१
50
SHARES
ओली सरकारलाई रास्वपाको ‘टेको’, समर्थन कि सौदाबाजी?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस-एमालेको गठबन्धन सरकार भत्कन नदिने रणनीति अपनाएको छ। रास्वपाले वर्तमान सरकार ढल्न नहुने र ढल्न लागेमा ‘टेको दिने’ स्पष्ट पारेको हो।

वर्तमान सरकार ढलेमा अन्योलपूर्ण अवस्था आउने भन्दै रास्वपाले यस्तो नीति लिएको नेताहरूले बताएका छन्। रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सरकार ढल्न नदिन पार्टीले सरकारलाई टेको दिने बताए।

उपनेता श्रेष्ठले बुधबार प्रतिनिधिसभा बैठकमा भने, ‘संसद्का दुईवटा ठूला दल अहिले एकै ठाउँमा छन्। हाम्रा धेरै साथीहरूले पनि यो सरकार ढल्नु हुँदैन भनिरहनुभएको छ। म पनि भन्छु, यो सरकार ढल्न लाग्यो भने टेवा दिन रास्वपा तयार छ। तर सरकार ढाल्नु हुँदैन। यो सरकार ढलेपछि देशकाले के गति पाउँछ त?’ उनको यस्तो अभिव्यक्ति सरकारमा जानका लागि नभएको दाबी नेताहरूले गरेका छन्।

प्रतिपक्षी दल रास्वपाले सभापति रवि लामिछानेमाथि सरकारले बदला लिन खोजेको आरोप लगाउँदै आएको थियो। सभापति लामिछाने चैत २२ गते घरबाटै पक्राउ परी जेल चलान भएका थिए। ‘रविलाई गैरकानुनी रूपमा पक्राउ गरेको’ भन्दै रास्वपाले विरोध गरेको थियो। नेतृत्वबाट सरकारलाई ‘टेको दिने’ अभिव्यक्ति आएपछि रास्वपा लचक भएको विश्लेषण गर्न थालिएको छ।

रास्वपा प्रवक्ता मनिष झा श्रेष्ठले पनि कांग्रेस-एमाले जस्ता पार्टीले पनि सरकार चलाउन सक्दैन भने आफूहरू टेको दिन तयार रहेको बताए। उनले हिमालप्रेससँग भने, ‘टेको दिने अभिव्यक्ति पोलिटिकल कमिटमेन्ट’ नभई ‘पोलिटिकल स्टेटमेन्ट’ हो।’ कमिटमेन्ट भनेको सम्झौता हो भने स्टेटमेन्ट भनेको धारणा हो।

विभिन्न राजनीतिक नियुक्ति र सरकारको कामकारबाहीले सत्तारुढ एमाले र कांग्रेसबीच बेलाबेला खटपट भइरहन्छ। गभर्नर नियुक्त हुन नसक्नु र ऊर्जाराज्यमन्त्रीको बर्खास्तीजस्ता विषयले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस चिढिएको विश्लेषकहरूको बुझाइ छ।

रास्वपा संसदीय दलका उपनेता श्रेष्ठको अभिव्यक्तिपछि रास्वपा सरकारमा जान तयार रहेको चर्चा पनि चलिरहेको छ। रास्वपा नेताहरू भने तत्काल पार्टी सरकारमा नजाने बताउँछन्। ‘कसैले अभिव्यक्ति दियो होला तर वर्तमान सरकारमा मिसिने रास्वपाको योजना छैन’, एक नेता भन्छन्। उनका अनुसार आफ्नो ‘राजनीतिक शक्ति’ बचाइराख्न नेताहरूबाट सरकारलाई ‘टेको लगाउने’ अभिव्यक्ति आएको हो।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तीन दलले मात्र अहिले सत्ता चलाउने र सत्ता भागबन्डा लिने गरेका छन्। रास्वपाले यस्तो ‘राजनीतिक शक्ति’ मा आफूलाई समावेश गराउन खोजेको नेताहरू सुनाउँछन्।
‘हामी तत्काल सरकारमा जाने तयारीमा छैनौँ। छलफल हुन पनि बाँकी छ,’ रास्वपाका एक नेता भन्छन्, ‘तर सत्तामा खिचातानी बढेका बेला हामीले तुरूप फ्याँकेका हौँ।’ सत्तामा नजाने भन्दा ठूला दलले रास्वपालाई दल नै नमान्ने चिन्ता रास्वपाका नेताहरूको छ। ती नेता भन्छन्, ‘हामी त ठूला दलको दलदललाई चुनौती दिन आएको हौँ नि।’

राजनीतिक क्षेत्रका जानकार डा. सुरजराज काफ्लेले सत्तामा जाँदा राहत मिल्छ भन्ने विश्वासले पनि यस्तो नेताहरूबाट यस्तो अभिव्यक्ति आएको बताए। यसैगरी सभापति लामिछाने पक्राउ परेकाले उनी सत्तामा जाने सम्भावना छैन। काफ्ले भन्छन्, ‘यसले गर्दा सत्तामा गएर रविको टिम ल्याउने प्रयत्न गरेको हुन सक्छ।’ सत्तामा नजाँदा रास्वपालाई नेमकिपाजस्तो सानो र सीमित क्षेत्रमा मात्रै प्रभाव रहने सम्भावना रहेको उनको काफ्लेको बुझाइ छ

रास्वपाले यसअघि सत्तामा नजाने बताउँदै आएको छ। ठूला दलले आफूहरूलाई ‘स्पेस’ नदिएको रास्वपाको बुझाइ छ। रास्वपाका प्रवक्ता झा आफूहरू ०८४ सम्म सरकारमा नजाने बताउँछन्। उनी पार्टीभित्र छलफल गरेरै सत्तामा जाने दाबी गर्छन्। ‘हामी सरकारमा गएरै केही स्पेस लिन सकिन्छ भन्नेमा छौँ,’ झा भन्छन्, ‘अहिले पनि हाम्रो जनमत बढिरहेको छ। जसले गर्दा हामी उपयुक्त स्पेस दिएमा वा डेलिभरी दिन सकिने भएमा सरकारमा जान सकिन्छ भन्नेमा छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast