खेती-किसानी

गणित शिक्षक भुसालको लोभलाग्दो केराखेती

रमेश भारती २४ वैशाख २०८२ २१:४४
128
SHARES
गणित शिक्षक भुसालको लोभलाग्दो केराखेती

काठमाडौँ- दाङ लमही नगरपालिकाका-२ राजपुरका नारायण भुसालको दैनिकी केरा खेतीका कारण फेरिएको छ। ४२ वर्षीय भुसाल पूर्वशिक्षक पनि हुन्। गणितमा बीएड गरेका उनले दस वर्षदेखि कोलही माविमा राहत कोटामा पढाउँदै गरेको जागिर छाडेर केरा खेतीमा लागे।

त्यति बेला भुसाललाई गाँउका सबै साथीभाइ र आफन्तले दसा चलेर जागिर छाडेर केरा खेतीमा लागेको भन्दै कुरा काटेको उनी सम्झिन्छन्। सबैले त्यसो भनेपछि शिक्षण पेसा छाड्दा आफूलाई पनि कतै गल्ती गरेजस्ता मनमा लागेको भुसालले जानकारी दिए।

शिक्षण पेसा छाडेर केरा खेतीमा लागेका भुसाल अहिले आफू केरा खेतीमा आत्मनिर्भर हुनेगरी उत्पादनमा जोड दिइरहेका छन्। उनको केरा फार्मको नाम ‘ग्रिन एग्रो फर्म इन बिच’ हो। भुसालले आफ्नो फार्ममा जिनाइन, विइलियस हाइब्रिड र हस्तिसाल गरी तीन जातका करिब १५ हजार केरा रोपेका छन्।

गाउँ–सहर जताततै केराको माग छ। तर नेपालमा केराको व्यावसायिक खेती नफस्टाउँदा आयातमा निर्भर हुनुपरेको भुसालको गुनासो छ। तीन वर्षयता १२ बिगाहा जग्गामा केरा खेती गर्दै आएका भुसालले चैतपछि मात्र चार लाख ५० हजारभन्दा बढीको केरा उत्पादन गरी बजारमा पठाएको जानकारी दिए।

उनको फार्ममा यो वर्षदेखि केरा उत्पादन सुरू भयो। यस साल २० लाखभन्दा बढीको केरा उत्पादन हुने अनुमान भुसालको छ। ‘अझै थप ४–५ बिगाहामा मालभोग केरा रोप्ने योजना छ। बजारमा मालभोग केराको माग राम्रो छ। व्यापारी र उपभोक्तासँग मालभोग केरा छैन। जसका कारण यो केरा रोप्न माटो तयार भइरहेको छ,’ उनले भने।

अहिले पनि भुसालको बगैँचामा बेच्नलाई केरा तयारी छन्। धेरै जना केरा किन्न फार्म आउने गरेको उनी बताउँछन्। वर्षा याममा पानी पसेर केरा ढल्ने गर्छ। गत वर्षको वर्षाले भुसालको बगैँचामा फलेका दुई सयभन्दा बढी केरा बोट ढले। त्यही भएर यसपटक भने भुसाल केरा ढल्नबाट रोक्न टेको बेलैमा लगाइरहेका छन्।

भुसालले केरा खेतीका लागि ५० लाखभन्दा बढी लगानी गरेको जानकारी दिए। उनले सबै खर्च कटाएर वार्षिक १० देखि १५ लाख आम्दानी हुने अपेक्षा राखेका छन्। सुरुमा उनको घरैमा सामान्य केरा खेती थियो। अहिले बजारमा केराको माग र खपत बढेको देखेपछि यो खेतीप्रति आफनो आर्कषण बढेको भुसालले बताए। शिक्षक पेसाबाट अवकाश लिँदा सरकारबाट पाएको ‘गोल्डेन हेन्डसेक’ लाई सदुपयोग गर्न केरा खेतीमा लगानी गरेका उनी सुनाउँछन्।

भुसालले आफनो बगैँचामा आउनेलाई ४५ र होलसेलका व्यापारीलाई केराको आकार हेरेर ३५ देखि ४० रुपैयाँ दर्जन केरा बेच्दै आएका छन्। उनले केरा बगैँचा हेर्न मासिक १५ हजार दिएर एक जना चौकिदार राखेका छन्।
मल हाल्ने समयमा दैनिक २०–२५ जनासम्म श्रमिक लगाउने गरेको र खनजोतको काम आफैँले ट्याक्टरमार्फत् गर्दै आएको बताए।

यस्तै, केरालाई समयअनुसार रोग लाग्छ। अहिले भुसालको बगैँचामा कतिपय केराको फलमा दाग लागेको छ। यसपटक धेरै वर्षा भयो। उनले औषधि छर्न पाएनन्। त्यसैले, केरामा दाग लागेको छ।

सरकारले कृषकलाई खेतीअनुसार प्रविधिक तालिम दिनुपर्ने उनको माग छ। धेरै जना किसान खेती गर्छन्। तर उनीहरुलाई मौसमअनुसार खेतीमा लाग्ने रोगका बारेमा सामान्य जानकारी नहुँदा लगानी डुब्ने गरेको भुसालले समस्या सुनाए।

उनले भने, ‘केरा खेतीको सबैभन्दा ठुलो समस्या भनेको बोट ढल्ने हो। त्यसका लागि टेको लगाउनुपर्छ। फल्न थालेपछि कमलो फेद धान्न नसकेर बोट ढल्छ। यस्तो विषयमा धेरै किसानलाई जानकारी छैन।’

केरा पसाउने समयमा भाइरस पनि लाग्छ। त्यो भाइरसले बुंगामा डल्लो पार्छ। त्यो समस्या पनि समयमै औषधी छरेर समाधान गर्दै आएको उनले बताए।

समस्या समाधान गर्दै केरा खेती गर्दा भुसालले धेरै कुरा सिक्दै गए। केराको बोटभन्दा अग्लो टेको लगाएर बाँध्नुपर्दो रहेछ भन्ने अनुभवले कतिपय विकासित देशको केरा खेती युट्युबमा हेरेर सिकेको उनले जानकारी दिए।

योबाहेक अन्य कुनै समस्या केरामा देखा परे उनले केराको तस्बिर खिचेर सम्बन्धित क्षेत्रका विज्ञलाई पठाउँछन् र उनीहरूको परामर्शअनुसार औषधि उपचार पनि गर्दै आएका छन्। भुुसालका अनुसार केरा खेतीलाई मल उत्तिकै चाहिन्छ। गत साल गाउँकै गाई फार्मबाट ७५ हजारको मल र रासायनिक मल थप ३० हजारको किनेर उनले हाले।

भुसालले केरा खेतीसँगै बदाम र सखरखण्डको पनि खेती गर्छन्। उनले यस वर्ष २५ क्विन्टल जति बदाम र ३० क्विन्टल सखरखण्ड उत्पादन गरेर बजार बेचेको जानकारी दिए।

भुसालले केराभित्र हलेदो पनि रोपिएका छन्। भविष्यमा ठूलो परिमाणमा हलेदो रोप्ने योजना उनले सुनाए। आगामी दिनमा ड्रागन फ्रुट, खरभुजा र घाँसको खेती गर्न तयारी गरिरहेको भसालले जानकार दिए। उनले यसका लागि भुसालले अहिले ड्रागन फ्रुटको बेर्नापनि उत्पादन सुरु गरेका छन्।

भुसालको केरा बगैँचा टापुजस्तो ठाउँमा छ। वरिपरि राप्ती नदीले घेरेको छ। स्थानीयले सानी राप्ती र ठूली राप्ती भन्ने गर्छन्। त्यही बीचको जग्गा भाडामा लिएर उनले केरा खेती गरेका छन्। अहिले त केरा खेती भएको ठाँउमा टिकटिक, भिडियो रिल र केही मान्छे केरा खेती हेर्ने समेत भुसालको फार्म पुग्छन्।

प्रकाशित: २४ वैशाख २०८२ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast