बाल संगठन जग्गा लिज प्रकरण : रिता सिंहसहित १७ जनामाथि मुद्दा दायर

हिमाल प्रेस २४ वैशाख २०८२ १८:५८
18
SHARES
बाल संगठन जग्गा लिज प्रकरण : रिता सिंहसहित १७ जनामाथि मुद्दा दायर

काठमाडौँ– काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा लिज प्रकरणमा रिता सिंह वैद्यसहित १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो। वैद्य उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन्।
सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्दै ६० करोडबढी रकम मागदाबी गरेको छ।

जग्गा लिजमा दिने निर्णयमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेर फाइल पेस गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले भने मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो।

यो प्रकरणमा तीन भारतीयसहित १७ जनामाथि मुद्दा दर्ता भएको हो। मुद्दा दायर हुने तीन भारतीयहरू अभिनव सिंघानीया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेय हुन्। तीनै जना वृहस्पति विद्यासदनका सञ्चालन छन्। पाण्डेय भने राई स्कुलका प्रिन्सिपल पनि छन्।

त्यस्तै गणेशभक्त श्रेष्ठ, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रवीणराज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी र श्रद्धा संघाईमाथि मुद्दा दर्ता भएको छ।

मृत्यु भएका तीन जनामाथि भने मुद्दा चलाइएको छैन। वृहस्पति विद्या सदनका तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारी, नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्यविरूद्ध मुद्दा चलाइएको छैन।

जग्गा लिज प्रकरणमा अनुसन्धान गरेर सम्झौता रद्द भएपछि सीआईबीले मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पठाएको थियो।
तर, महान्याधिवक्ताको कार्यालयले मंगलबार निर्णय गरेपछि उनीहरूविरूद्ध मुद्दा दर्ता भएको हो।

नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति सदनले भाडामा लिएको छ। वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो।

२०५९ सालमा उक्त जग्गा २०८९ सम्म भाडा लिनेदिने सम्झौता भए पनि अवधि सकिन १७ वर्ष बाँकी छँदै २०७२ साउन ३ गते थप ३८ वर्षका लागि वृहस्पति सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको छ। पछिल्लो सम्झौताअनुसार वृहस्पति विद्या सदनले यो जग्गा २१२७ सालसम्म भोगचलन गर्न पाउने छ।

प्रतिरोपनी ३ लाख ९३ हजार रूपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख लिने गरी बाल संगठनका तत्कालीन अध्यक्ष वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए।

चलनचल्तीको भाडाभन्दा कम दरमा भाडा दिने सम्झौता गरेर ठगी गरेको भन्दै बाल संगठनको तर्फबाट परेको उजुरीमा सीआईबीले अनुसन्धान गरेको थियो।

प्रकाशित: २४ वैशाख २०८२ १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast