
काठमाडौँ- अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्म ‘मितज्यू’मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सेयर गर्दै निर्देशक मगरले स्मितासँग सम्झौँता भएको जानकारी दिएका हुन्।
निर्मात्री समेत रहेकी लामिछानेले ‘१२ सत्ताइस’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन्। उनको निर्माण र अभिनयमा बनेको फिल्म ‘आँखा’ गत वर्ष असोजमा प्रदर्शनमा भएको थियो।
यसअघि ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भैसकेका छन् ।
गत वर्षको चर्चित फिल्म ‘घरज्वाइँ’ निर्माण टिमले बनाउन लागेको ‘मितज्यू’को छायांकन आगामी मंसीरबाट सुरु हुनेछ। अहिले फिल्मको कथा लेखन कार्य भइरहेको निर्माण टिमले जनाएको छ। महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।
जिएम मूभिज र एबीएम सिने प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। फिल्म आगामी चैत २७ मा प्रदर्शन हुने टिमको तयारी छ।