
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानर्कषण गराएका छन्। सांसदहरूले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन व्यक्त गरेका छन्।
बैठकको शून्य समयमा सांसदहरूले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपाल सरकारको कूटनीतिक कौशलता, सडक, पुल निर्माण, खानेपानीको अभाव, विद्युत् प्राधिकरण घाटामा गएको सन्दर्भलगायत सासामयिक विषयमा ध्यानार्कषण गराए।
सांसद एनपी साउदले भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धको वर्तमान स्थितिमा पाकिस्तानी उच्चस्तरीय सैन्य प्रतिनिधिको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्न सुझाव दिए।
सांसद डिपी अर्यालले भारतमा बसोबास गरिरहेका नेपालीका विषयमा सरकार संवेदनशील हुन आग्रह गरे। उनले भारतमा नेपाली दम्पतीबाट जन्मिने बालबालिकालाई नागरिकता प्राप्तिदेखि नेपालामा उद्योग व्यवसाय लगानी गर्नेलगायत विषयमा भइरहेको असहजताबारे ध्यानार्कषण गराए।
सांसद तारा लामा तामाङले राष्ट्रियसभाबाट पारित भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, लाई यसै सत्रको सदनमा यथाशीघ्र छलफलका लागि प्रस्तुत गर्न माग गरे।
सांसद दामोदर पौडेल वैरागीले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनको माग गरे। सांसद दिनेशकुमार यादवले नेपाल–भारतको कोशी सम्झौताअनुसार भारतमा पर्ने नहरको दक्षिण बाधतर्फ सडक निर्माण भएको तर नेपालमा पर्ने नहरमा सडक निर्माण नभएको बताए। उनले सप्तरीवासीले सडक निर्माणमा भइरहेको ढिलाइका कारण हिलो र धुलोबाट सास्ती खेप्न परेको भन्दै सदनमार्फत सरकारको ध्यानार्कषण गराए।
सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेवल पुल भारत सरकारबाट निर्माण सम्पन्न हुने चरणमा पुगेको बताए। उनले त्यहाँ नेपालतर्फ एकीकृत जाँचचौकी र सुरक्षा व्यवस्थाका लागि आवश्यक पूर्वाधार निर्माणमा विलम्ब नगर्न सुझाव दिँदै यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गर्न माग गरे।
सांसद देवेन्द्र पौडेलले बागलुङको उत्तरगङ्गा जलाशययुक्त आयोजना र यस जिल्लाका विभिन्न सडक मार्गहरु चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी बजेट व्यवस्था गर्न माग गरे। शून्य समयमा सांसद निर्मला कोइरालाले त्रिभुवन राजपथअन्तर्गत विरगञ्जको गण्डकचोकबाट मितेरी पुलसम्मको सडक विस्तार र स्तरोन्नतिलाई तीव्रता दिन बजेट विनियोजनको माग गरिन्।
सांसद निशा डाँगीले नेपाल विद्युत् प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा हुनुको कारणबारे सम्बन्धित मन्त्रालयका मन्त्रीसँग जवाफ माग गरिन्। उनले गर्भनर नियुक्तिमा सरकारलाई समय खर्च नगर्न आग्रह समेत गरिन्।
सांसद पूर्णबहादुर घर्ती मगरले रुकुम पूर्वको जिल्ला सदरमुकामसम्बन्धी ठोस निर्णय नहुँदा बर्सेनि सदरमुकामका लागि छुट्याइएको बजेट कार्यान्वयन नभई फ्रिज भइरहेको बताए। उनले यसमा यथाशीघ्र निर्णय गर्दै आवश्यक बजेटको व्यवस्था गर्न माग गरे।
सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग गरे। सांसद डा.प्रकाशशरण महतले टोखा छहरे सुरुङमार्ग यो वर्ष विस्तृत आयोजना प्रतिवेदन सम्पन्न गर्न माग गरे। उनले पासाङ ल्यामु राजमार्गको रानीपौवा–त्रिशुली खण्डका लागि तत्काल बनेट विनियोजन गर्न माग गरे।
सांसद प्रभु हजाराले वीरगञ्जमा अवस्थित जीर्ण अवस्थामा रहेका रङ्गशालाहरू मर्मत सम्भार गर्न बजेटको व्यवस्था गर्न माग गरे। सांसद प्रेमबहादुर महर्जनले प्रदीप नेपालको निधनप्रति श्रद्धाजञ्ली अर्पण गरे।
सांसद वासुदेव घिमिरेले मनसुनअघि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सम्बन्धी आधारभूत उद्धार तालिम र सामग्री उपलब्ध गराउन माग गरे।
शून्य समयमा सांसद बिन्दावासिनी कांसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन माग गरिन्।