
काठमाडौँ- इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको छ।
बार्सिलोनालाई समग्रमा ७-६ को अन्तरले हराउँदै इन्टरले जित निकाल्यो। मंगलबार इन्टरले आफ्नो मैदानमा ४-३ को जितका साथ समग्रमा ७-६ को जितसँगै फाइनल यात्रा पक्का गरेको हो।
यी दुई टोलीबीचको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो। मंगलबार निर्धारित ९० मिनेट ३-३ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। खेलको २१ औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजको गोलमा घरेलु टोली इन्टर मिलानले अग्रता लियो।
पहिलो हाफको इन्ज्युरी समयमा इन्टरका लागि हाकान चाल्हानोग्लुले पेनाल्टीमा गोल गरे। दोस्रो हाफको १५ मिनेटमै बार्सिलोनाले खेल बराबरीमा ल्यायो।
५४ औं मिनेटमा जेरार्ड मार्टिनको क्रसमा एरिक गार्सियाले गोल गर्दै बार्सालाई खेलमा फर्काए। लगत्तै बार्साको काउन्टरमा गार्सियाकै अन्तिम प्रहारलाई गोलरक्षक यान सोमरले उत्कृष्ट बचाउ गरे। तर ६० औं मिनेटमा मार्टिनकै पासमा ओल्मोको हेडर गोल भएपछि खेल बराबरीमा आयो।
८७ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनको पहिलो प्रहार गोलरक्षक सोमरले विफल पारेपनि रिवाउन्डलाई राफिन्हाले गोलमा परिणत गरे।
इन्ज्युरी समयमा इन्टरले बराबरी गोल फर्कायो। डम्फ्रिजकै पासमा फ्रान्सेस्को अचेर्बीले पहिले टचमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । ९९ औँ मिनेटमा फ्रातेसीले गोल गल्दै इन्टरलाई फाइनलनजिक पुर्याए।