नेता नेपालको पशुपतिमा अन्त्येष्टि

हिमाल प्रेस २३ वैशाख २०८२ २२:२९
38
SHARES
नेता नेपालको पशुपतिमा अन्त्येष्टि

काठमाडौँ– नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई मंगलदबच साँझ अन्त्येष्टि गरिएको हो।

त्यसअघि उनीप्रति नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

एमाले पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले र एकीकृत समाजवादीका पदाधिकारी, सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छु र आफन्तजन ठूलो संख्यामा पशुपति पुगेका थिए।

लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्या झेल्दै आएका उनी केही दिनअघि निमोनिया भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए।

नेता नेपालको उपचारका क्रममा मंगलबार अपराह्न त्यहीँ निधन भएको हो। विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मिएका नेपाल राजनीतिज्ञ र साहित्यकारमात्र नभई स्तम्भकार, लेखक र पत्रकारका रूपमा समेत परिचित थिए। उनले छलफल, दृष्टि, प्रकाश साप्ताहिको सम्पादन गर्नुका साथै ती पत्रिकाको नियमित स्तम्भकार समेत थिए।

उनका कथाभित्रका ‘नारी अनुहार’, ‘परोपकार यात्रा’, ‘बेचिएका चेलीहरू’ र ‘सूर्यमान’ शीर्षकका कथा संग्रहका अतिरिक्त ‘खुइते कडेरिया’, ‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘नओइलाउने फूल’, ‘देउमाइकको किनार मुक्ति’, ‘एक्काइसौँ शताब्दीको सुम्निमा’, ‘नन्दीता’ लगायतका उपन्यास प्रकाशित छन्।

विसं २०३३ मा नख्खुजेल तोडेर निस्किएका नेता नेपाल विसं २०४६ सम्म पार्टीमा भूमिगत जीवन बिताए। जतिसुकै प्रतिकूल अवस्थामा पनि धैर्यतापूर्वक त्यसलाई संयोजन गरेर लैजाने उनमा क्षमता रहेको उनका सहकर्मीहरू बताउँछन्।

सरकारमा रहँदा उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा केही न केही नयाँ काम सुरू गर्ने र नयाँपनको थिति बसाउने कार्य गरेको एमाले नेताहरु बताउँछन्।

प्रकाशित: २३ वैशाख २०८२ २२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast