कुटाकुट भएपछि एमाले धनुषाको अधिवेशन बुधबारसम्म स्थगित

हिमाल प्रेस २३ वैशाख २०८२ २०:०४
28
SHARES
कुटाकुट भएपछि एमाले धनुषाको अधिवेशन बुधबारसम्म स्थगित

काठमाडौँ – दुई पक्षबीच कुटाकुट भएपछि नेकपा एमाले धनुषाको आठौँ अधिवेशन बुधबारसम्म स्थगित भएको छ। एमालेका दुई समूहबीच अधिवेशनस्थलमै झडप भएपछि बुधबारसम्म अधिवेशन स्थगित भएको हो।

झडपमा परी एमालेका पाँच जना नेता कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेहरूमा एमाले धनुषाको अध्यक्षमा उम्मेदवारी दिएका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास रहेका छन्। दुवै जनाको टाउकोमा चोट लागेको छ।

त्यस्तै एमालेका वर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवमाथि पनि हातपात भएको छ। अन्य घाइतेहरूको नाम खुल्न सकेको छैन।

अध्यक्ष पदका उम्मेदवार भोला यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट हुन्। सचिव महासेठले जिल्लाको नेतृत्वमा भोलालाई ल्याउन चाहेको एमालेका स्थानीय नेताहरूले बताएका छन्।

अध्यक्ष पदका अर्का उम्मेदवार लक्ष्मीनारायण यादवलाई केन्द्रीय सदस्य उमाशंकर अरगरियाले समर्थन गरेका छन्। अध्यक्षका लागि प्रतिस्पर्धा गरिरहेका लक्ष्मीनारायण मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलका राजनीतिक सल्लाहकारसमेत हुन्।

एउटै पार्टीका भए पनि केन्द्रीय सचिव महासेठ र सभामुख मण्डलबीच लामो समयदेखि राजनीतिक तिक्तता रहेको बताइन्छ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर अध्यक्ष पदका उम्मेदवार भोला र लक्ष्मीनारायण समूह पक्षबीच विवाद हुँदा कुर्सी हानाहानका साथै कुटाकुट भएको थियो।

केन्द्रीय सचिव महासेठले जिल्ला अधिवेशनमार्फत नेतृत्व चयनका विषयमा एकलौटी गर्न खोजेको लक्ष्मीनारायण समूहले आरोप लगाएको छ। प्रतिनिधि चयनका साथै पदाधिकारीको उम्मेदवार बनाउँदा समेत महासेठले विधान मिचेको आरोप उनीहरूले लगाएका छन्।

निर्वाचन समिति पनि सचिव महासेठको निर्देशनमा हिँडेको आरोप लगाउँदै केन्द्रीय सदस्य अरगरियाको नेतृत्वमा लक्ष्मीनाराय समूह अधिवेशनस्थलमै बिहान धर्ना बसेका थिए। दुवै पक्षबीच मंगलबार बिहानदेखि विवाद भइरहेको छ।

गत वैशाख २० गतेदेखि सुरू भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो। सोमबार राति नै मनोनयन दर्ता भए पनि दुई पक्षबीच विवाद हुँदा मतदान प्रक्रिया अगाडि बढ्न सकेको छैन।
उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट भएको देखिएपछि विवाद सिर्जना भएको एक नेताले बताए।

प्रकाशित: २३ वैशाख २०८२ २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast