
काठमाडौँ- सत्ता साझेदारमा नै समस्या देखिन थालेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गरेको खुलासा भएको छ। यस प्रकारको खुलासा भएसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्भनर नियुक्तिका लागि एक साताको अल्टिमेटम प्रधानमन्त्री ओलीलाई दिएका छन्।
सरकारको स्थायित्व सुनिश्चित भएको अवस्थामा मात्रै कांग्रेसको कोटाबाट गभर्नर नियुक्त गर्ने जानकारी बाहिर चुहिए पछि देउवाले त्यस्तो अल्टिमेटम दिएका हुन। कांग्रेसका सभापति देउवालाई भेट्न पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सोमबार नै देउवाले एक साताभित्र जसरी हुन्छ गभर्नर नियुक्ति गर्न समयसीमा नै तोकेका एक नेताले जानकारी दिए।
राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई नयाँ गभर्नर बनाउन देउवा र ओलीबीच पटकपटक सहमति बनेको थियो। सोही सहमतिका आधारमा भट्टलाई गभर्नर छनोट समितिको बैठक राखेर गभर्नर नियुक्तिका लागि सिफारिस गर्न देउवाले अर्थमन्त्रीलाई सुझाव दिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार देउवाले आइतबार साँझ प्रधानमन्त्री ओलीसँग भएको भेटमा पनि एक साताभित्र गभर्नर नियुक्ति गर्ने सल्लाह दिएका थिए। ओलीले देउवासँग आगामी बिहीबार अर्थात् वैशाख २५ गते बस्ने मन्त्री परिषद बैठकबाट नयाँ गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाइसकेका छन्। तर उनले भने जस्तो यही साता गभर्नर नियुक्ति सम्भावना न्यून छ।
प्रधानमन्त्री ओलीले नयाँ गभर्नर नियुक्तिमा अलमल्याउन खोजेपछि दुई दलबीच विश्वासको संकट बढ्न थालेको कांग्रेसका एक शीर्ष नेताले जानकारी दिए। उनकाअनुसार नेपाली कांग्रेसका सभापति देउवा थाइल्याण्डबाट फर्केपछि सत्ता गठबन्धनमा समस्या नहुने प्रतिबद्धता प्रधानमन्त्रीले नै गरेका थिए। तर पछिल्लो समय उनै प्रधानमन्त्री आस्वस्त नदेखिएका हुन्।
‘गभर्नर नियुक्तिमा ढिलाइ हुँदै गएपछि सत्ताको प्रमुख घटक कांग्रेसले शर्त नै अघि सार्नु परेको हो। ओलीले गभर्नर नियुक्ति प्रक्रिया लम्ब्याएर कानुनी झमेलातिर लैजान खोज्दैछन्। जसका कारण कांग्रेसले समयसीमा तोकेको हो,’ उनले भने। सरकार ढल्ने हल्ला र आशंका बढ्दै गएपछि एमालेका केही नेताहरूले नयाँ गभर्नर आफ्नै पार्टीबाट नियुक्ति गर्ने प्रधानमन्त्रीलाई दबाब बढाएपछि उनी पनि त्यही खेलमा लागेको स्रोतको आरोप छ।
राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.नीलम ढुंगानाले उपप्रधान तथा अर्थमन्त्री पौडेलको निर्देशन अवहेलना गरेपछि नियुक्ति प्रक्रिया अन्योलमा परेको हो। यस विषयमा पनि कांग्रेसले आशंका गरिरहेको छ। ढुंगाना ओली निकट भनेर चिनिएका राष्ट्रबैकका कर्मचारी हुन्।
अर्थमन्त्री पौडेलले भने सहमतिका आधारमा योग्य मान्छे गभर्नर नियुक्ति गर्नुपर्ने विषयमा कांग्रेस सभापति देउवासँग छलफल भएको जानकारी दिए। प्रधानमन्त्री ओलीसँग पनि उहाँले त्यही विषयमा छलफल गरेको तर यो अल्टिमेटम दिएको विषय भने हल्ला मात्र भएको पौडेलको दाबी छ। ‘गभर्नर नियुक्तिका लागि अल्टिमेटम दिनुपर्ने अवस्था सिर्जना भएकै छैन,’ अर्थमन्त्री पौडेलले भने,‘हामी सहमतिमा नै काम गरिरहेका छौँ।’
कांग्रेस पार्टीभित्र सरकारको विरोध गर्ने र गठबन्धनबाट बाहिर आउन दबाब बढेको देखेपछि एमालेले पार्टीभित्रै विवाद सल्टाउन आग्रह गदै आएको छ। ओलीसँग कांग्रेसका धेरै संसद्भित्र असन्तुष्ट बढ्दै गएपछि उनले गभर्नर नियुक्तिमा ढिलाइ गरिरहेका कांग्रेसको बुझाइ छ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नै आफ्नो उत्तराधिकारी छान्ने प्रक्रियामा सहभागि गराउने गरी सरकारले सिफरिस समिति बनायो। नयाँ गभर्नर बन्ने पात्र पनि तयार छन्। तर सरकारले यस विषयमा चासो नदिएको कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले बताए।
उनका अनुसार सरकारले गभर्नर सिफारिस समितिलाई भविष्यमा न्यायिक निरुपणको खाँचो पर्ने गरी पूर्णता दिइएको छ। यसै कारण पनि गभर्नर नियुक्ति प्रक्रिया लम्ब्याउन खोजिएको होकि भन्ने आशंका पैदा भएको उनले बताए। ‘सभापतिले अल्टिमेटम दिएको बारेमा जानकारी छैन। तर गभर्नर नियुक्तिका लागि सरकारलाई अल्टिमेटम दिनुपर्ने अवस्था सरकार स्वयंले निम्त्याउँदै छ। गभर्नर नियुक्तिलाई सरकारले सामान्य रूपमा लियो। यसका कारण राजनीतिक समस्या सिर्जना हुँदैछ,’ डा.महतले भने।
गत साता पूर्वगभर्नर विजयनाथ भट्टराईले समिति गठन प्रक्रिया असंवैधानिक भन्दै राजीनामा दिएपछि अधिकारीलाई सदस्यमा ल्याइएको हो। समिति सदस्यमा अधिकारीलाई ल्याउनु नहुने भनेर राष्ट्र बैंककै कर्मचारीहरूले विरोध गदै आएका छन्।