
रुपन्देही- तिलोत्तमा नगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने, दर्ताबिना ई–रिक्सा सञ्चालन गर्ने र छाडा चौपाया सडकमा छाड्नेहरूविरुद्ध कडा कदम चालेको छ।
हालै मात्र सिद्धार्थनगर नगरपालिका–१३ बैङ्करोडस्थित गुड हेल्थ फार्मेसीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। फार्मेसीका कर्मचारीले जथाभावी फोहोर फालेको पाइएको थियो।
नगर क्षेत्रभित्र दर्ता नभएका ३५ वटा ई–रिक्सा चालकलाई प्रतिचालक ५ हजार दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए। नगरले पटकपटक दर्ता गर्न आग्रह गरे पनि अटेर गर्ने रिक्सा चालकहरू कारबाहीमा पर्न थालेका छन्।
सडक दुर्घटनाका कारणमध्ये छाडा चौपाया प्रमुख मानिने भन्दै नगरपालिकाले माघदेखि नियन्त्रण अभियान थालेको छ। हालसम्म ४ जना चौपाया मालिकलाई प्रतिव्यक्ति ७ हजारका दरले जरिवाना गरिएको राजस्व शाखा अधिकृत कमलकान्त खनालले जानकारी दिए।
नगरले हालसम्म ११५ वटा मरेका गाईगोरु व्यवस्थापन गरेको प्रवक्ता मुक्तिनाथ यादवले बताए। नियमअनुसार पहिलोपटक जरिवाना गरेर पशु छाड्न नछोड्ने सर्तमा सम्बन्धित धनीलाई चौपाया जिम्मा दिइएको छ।